हजुरआमाका कथाः
तुलसा पराजुली ९५ वर्ष भइन्। उनको बोलीको रवाफ र स्वास्थ्य हेर्ने हो भने उमेरले छक्याएको भान हुन्छ। १९८२ साल, वैशाखमा भोजपुरमा जन्मिएकी तुलसाका बुवाको नाम जगन्नाथ र आमाको नरमाया रिजाल हो।
उनको बिहे भोजपुरमै भएको थियो, १२ वर्षकी हुँदा। तुलसाका श्रीमान नयनानन्द पराजुली किसान थिए। उनकी पहिली पत्नीको मृत्यु भएको एक वर्षपछि तुलसासँग बिहे भएको रहेछ।
तुलसाको विवाहको एक वर्षपछि उनकी आमाको निधन भयो। उति बेला अर्को बिहे गर्ने चलन भए पनि बुवाले गरेनछन्।
कारण खुलाउँदै भन्छिन्, 'बा बुढो भइसक्नुभएको थियो। दस सन्तानको बाबु, कसरी गर्नुहुन्छ बिहे? सन्तानको बिचल्ली हुन्थ्यो। गर्नु भएन।'
तुलसालाई उनका बुवाले खुबै माया गर्ने रहेछन्। बिहेमा डोली चढ्दै घर पुगेकी तुलसा ज्वरोले थलिएको सुनेर 'मैतालू नगरेकी छोरीलाई छाड्दिनँ' भनेर छोरी लिन पठाएका रहेछन्। तुलसालाई पढाउने कोशिस पनि गरेका थिए।
अनि हजुरले पढ्नुभयो त?
'अँ, क-ख अलिअलि पढेकी थिएँ, अरू कुरा जान्दिनँ,' तुलसाका अनुभव सुन्न खास सहज भएन। उनले बिर्सिएका र खुल्न नसकेका विषयमा बुहारी गौरी पराजुली र छोरी जमुनाले मद्दत गरे।
तुलसाले अक्षर चिन्छु भने पनि पैसा समेत नचिन्ने गौरीले बताइन्। उनलाई, 'यो यति पैसा हो वा यतिको नोट हो' भन्ने जानकारी छैन रे।
अनि बुवाले पढाए पनि किन आएन?
'म आफैं जिद्दी भएकी नि। बुबा र दाइ काम गर्न जानुहुन्थ्यो। म अरुलाई टेर्दिन थिएँ। 'माथितिर बाख्रा लाएर पण्डितका छोरासँग पढ्नू' भन्थे। उनीहरू पनि पढ्थेनन्, म पनि। हामी खेलेर बस्थ्यौं,' उनी सुनाउँछिन्।
बुहारी गौरीले जिस्क्याउँदै प्रश्न गरिन्, 'आमा एक्ली छोरी भएर पहिल्यैदेखि नटेर्नु भएको। अहिलेसम्म नि त्यही भएर नटेर्नुभएको होला होइन?'
तुलसाले कड्किँदै जवाफ दिइन्, 'त्यही हो त। अब टेर्छु त कसैसँग? ल, जे गरे पनि म कसैलाई टेर्दिनँ।'
९५ वर्षमा पनि बुढा ससुराको पालामा भएको घरको रवाफ र प्रभावले उनको मस्तिष्कलाई छाडेको छैन। बुढा ससुराले उनलाई 'डडाँक' (ठूलो जिउडाल भएकी) छे, दह्री छे, घरको काम गर्न सक्छे,' भनेर खुबै माया गरेको उनी बताउँछिन्।
त्यो बेलाको घरको अवस्था वर्णन गर्छिन्, 'हाम्रो ठूलो परिवार थियो, ४०-४५ जना एकै घरमा। तीन वटा जाँतोमा रातभरि बुहारीहरूले मकै पिस्नुपर्थ्यो। नोकरचाकर, गोठाला, कमारा थिए नौ-दस जना। अहिलेको सहयोगी भनूम् न। पछि कमारा/कमारी बिदा भए। अनि दयानन्दलाई ल्यायौं।' उनी त्यति बेलाका कामदारमध्ये एकको नाम सम्झिन्छिन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८१ सालमा टुँडिखेलको खरिबोट चौतारामा बसेर 'करिया उन्मूलन' घोषणा गरेको इतिहासमा छ। यसको धेरै समयपछिसम्म पनि तुलसाका घरमा कमारा/कमारी भएको विश्वास नलाग्न पनि सक्छ।
इतिहासकार प्रमोदशमशेर राणाको किताब 'राणाशासनको इतिवृत्तान्त' अनुसार दास प्रथा उन्मूलन गर्न पशुपतिनाथको ढुकुटीबाट ३६ लाख रूपैयाँ निकालिएको थियो। त्यही पैसाबाट कमारा/कमारी राख्ने 'मालिक'लाई 'भरपाई' गरिएको रहेछ। साथै, मुक्त व्यक्ति स्वैच्छाले मालिकसँगै बस्न चाहे, स्वतन्त्र व्यक्तिका रूपमा बस्न पाउने इजाजत थियो।
फेरि त्यति बेला सञ्चार व्यवस्था आजजस्तो थिएन। सायद, यिनै कारणले तुलसाका घरमा उनले सम्झिउन्जेल 'कमारा/कमारी' भएका हुनसक्छन्।
बुढा ससुराले धेरै घोडा राखेका पनि उनलाई सम्झना छ। पछि घोडा बेचिए।
कतिमा बेचिन्थ्यो त्यो बेला घोडा?
'त्यो त जान्दिनँ। बाहिरको व्यवहार मैले केही पनि जानेकी छुइनँ। ढिकी, जाँतो र भित्रको मात्र जानेकी छु,' सोझो जवाफ दिन्छिन् उनी।
तुलसा आफ्ना जीवनका मीठा क्षण पनि सम्झिन्छिन्। भोजपुर घरमा 'बेठी लगाएको' एउटा हो। बेठी लगाउने (रोपाइँका दिन पञ्चेबाजा बजाएर रमाइलो गर्ने) घरका सबै जम्मा भएर रमाइलो गर्थे। उनलाई थाहा भएअनुसार 'बेठी' धेरै जग्गा हुने धनीले मात्रै लगाउँथे। उनको परिवारको ५ मुरीभन्दा बढी बीऊ रोप्ने खेत थियो, उनीहरू र देवरलाई आधा-आधा भाग लागेको।
'जग्गा त अरू पनि कति थिए कति,' उत्साहित हुँदै सुनाउँछिन्।
बेठी लगाउने दिन गाउँमा घर-घर गएर, 'हाम्रो घरमा बेठी छ, आइदिनू है' भनिन्थ्यो। सबैजना सहयोग गर्न आउँथे। त्यो दिन ठूलो भतेर हुन्थ्यो।
'आँगनमा बसेर १५-१६ जना दमाईले बाजा बजाउँथे। गाउँलेका धेरै गोरु हुन्थे, रोपारले रोप्थे,' उनले बुझाइन्।
अनि कसले पकाउँथ्यो त बेठी लाउने दिन?
'छोरी-बुहारी कति थिए, थिए। पकाइहाल्छन् नि। नभए बाहुनीहरू खोजेर ल्याइन्थ्यो। अरुण खोलाको पानी ल्याएर भात पकाउँथे। रोपाइँ जात्रामा अरुणको पानी, घरमा चाहिँ आफ्नै पँधेराको। हाम्रा धारा, कुवा पनि थिए,' उनी सुनाउँछिन्।
पहिले भोजपुरबाट धरान पुग्न तीन दिन हिँड्नुपर्थ्यो रे! त्यति बेला त तुलसाले कहिल्यै भोजपुर छाडिनन्। हिलेसम्म गाडी जान थालेपछि सजिलो भयो। पछि तुलसा विराटनगरकी स्थायी वासिन्दा भइहालिन्।
उनी काठमाडौं बस्दिनन्। यदाकदा आउँछिन्। बालकोटस्थित उनका कान्छा छोरा गुणराज पराजुलीका घर आएका बेला यो कुराकानी गरिएको हो।
उनलाई विराटनगर, पिचरास्थित आफ्नो घर नै प्यारो लाग्छ। उक्त घर पूर्व, पश्चिम र दक्षिणतिरबाट आउँदा ठ्याक्कै बाटोको मुखमा पर्छ। उनी बरन्डामा बसेर को कहाँ गयो, कहाँबाट आयो, ख्याल गरिरहन्छिन्। टोलका मान्छे बाहिर निस्किँदा साँचो राख्ने ठाउँ पनि हो उनको घर। कसैका घरमा सुकाएको लुगा उठाउनदेखि बारीको घाँस उखेल्नसमेत निर्देशन दिँदै दिन कटाउँछिन्।
उनले पहिलो बच्चा १९ वर्षमा जन्माएकी थिइन्। दस सन्तान जन्माए पनि एकको जन्मिनेबित्तिकै निधन भएछ। बाँकी चार छोरा, पाँच छोरी छन्।
छोराछोरीको नाम सरर सुनाउँछिन्, 'छोराहरूबाट भनम् है, चन्द्रप्रसाद, चिन्तामणि, प्रेमप्रसाद र गुणराज। अनि छोरीहरू मायादेवी, हिरादेवी ढकाल, सावित्रा उप्रेती, गायित्रा भण्डारी र जमुना दुलाल।'
तुलसाका छोरापट्टिका ८ नाति र एउटी नातिनीमध्ये कान्छा छोराका एक मात्र छोराको करिब तीन महिनाअघि आकस्मिक मृत्यु भयो। परिवारका लागि साह्रै दु:खद क्षण रह्यो।
छोरीतर्फबाट चार नाति र चार नातिनी छन्। सबै गरेर १९ पनाति/पनातिनी भइसके।
साहिँली छोरीको वैवाहिक जीवन सफल हुन नसकेको बताउँछिन् उनी, 'ज्वाइँले अर्की ल्याए र मेरी छोरीलाई हेरचाह नै गरेनन्। त्यहाँबाट हामीले पाल्यौं। अहिले उसले मलाई पालेकी छ।'
विराटनगर घरमा आमासँग उनै छोरी बस्दिरहिछन्। पहिले त कान्छो छोराको परिवार पनि बस्थे। केही वर्षअघि उनीहरू भक्तपुर आएका हुन्।
उनको कपाल नभएको टाउको देखेर प्रश्न गरेँ, किन काट्नुभएको त?
'मेरो श्रीमानको नाउँमा काटेको,' भन्छिन्।
पहिले काटेको थिएन?
'कसरी काट्नू उहाँ नजाउन्जेल (निधन नहुञ्जेल)। कम्मरसम्मको राम्रो कपाल थियो।'
विधवा भएपछि श्रीमानका नाममा कपाल खौरने चलन कायम छ। श्रीमान हुनेले कपालमा कैंची लाउँथेनन्। विशेषगरी ब्राह्मण विधवा तीर्थ जाँदा स्वर्गीय पतिको नाम लिएर कपाल खौरन्थे।
कहाँ गएर काटेको कपाल?
'पँधेरामा लगेर नाइले काटिदिएका। अनि नुहाइ-धुवाइ गरेर श्रीमानको काम गर्यौं। वर्षदिनसम्म काटेको काट्यै गरेँ,' उनी सुनाउँछिन्। उनलाई पण्डितले '४ छोरा छन्, कपाल काट्नु पर्दैन' भनेका रहेछन्।
'बर्खान्त गरेपछि नकाट्नू कसैले भनेनन्,' तुलसालाई अब त ठूलो कपाल स्याहार्न सक्दिनँ भन्ने लाग्छ। उनी चोखोनितोमा खुबै चनाखो छन्। हरेक दिन नुहाउनैपर्छ। शौच गरेपिच्छे नुहाइ-धुवाइ गर्नुपर्छ। भात खाँदा लगाएको लुगा लगाएर पूजाकोठा जान हुन्न। अरू जातले पकाएको खान देलान् वा भान्सा छोइदेलान् भनेर चियो गरिरहन्छिन्।
तुलसा यो उमेरमा स्वस्थ नै छन्। नियमित औषधि खानुपर्ने रोग छैन। तीन वर्षअघि विराटनगर घरको बाथरुममा लडेकी थिइन्। हाड भाँचिएर दुई/तीन महिना ओछ्यान पर्नुबाहेक बिरामी भएर सुतेकी छैनन्।
'आमा अलिअलि बिर्सनुहुन्छ। होइन भने आफ्नो काम जे पनि आफैं गर्छु भन्नुहुन्छ,' बुहारी गौरी भन्छिन्।
उनको स्मरणशक्ति, दैनिक व्यवहारमा पनि खास फरक छैन। तर एउटा अनौठो र रोचक व्यवहार रहेछ।
तुलसा कहिलेकाहीँ टेलिभिजन हेर्छिन्। हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अम्बे फलामे डन्डीको विज्ञापन हेरेपिच्छे उनीहरूसँग कुरा गर्न थाल्दिरहिछन्।
उनका भनाइमा त्यो विज्ञापनमा देखिने हरिवंशको चरित्र भोजपुरका क्षेत्री हुन्। टिभीको पर्दामा आएर उनलाई केही भन्न खोज्दैछन् रे!
विज्ञापन आउँदा आफू बोलेको बारे भन्छिन्, 'हाम्रा बुढा ससुराका पालामा घरमा राखेको क्षेत्री हो त्यो (विज्ञापनका हरिवंश आचार्य)। खोइ केमा रिस उठ्यो कुन्नि, मलाई आएर यसो गर्छ..(खम्बा हल्लाएको अभिनय गर्दै)। ठूला मान्छे भएका ठाउँमा आएर मलाई त्यो खम्बा समाएर हल्लाउँदै आँखा तर्छ। अनि मैले हप्काएको नि।'
यसबारे परिवारले पटकपटक 'त्यो साँच्चै होइन आमा' भनेर सम्झाए/बुझाए पनि मान्न तयार छैनन् उनी। उनको यो समस्यालाई परिवारले स्पष्ट पार्न नसकेर छाडिदिएको छ। बरू यो रमाइलोमा परिणत भएको छ। अरूलाई भने अचम्म लाग्छ।
तुलसाको व्यवहार गणितज्ञ जोह्न न्याशको जिवनीमा आधारित हलिउड फिल्म 'द ब्युटिफुल माइन्ड' को चरित्रको जस्तै लाग्छ। अर्थात, 'हलुसिनेसन'। अमेरिकी-युरोपेली देशमा भए उनको व्यवहार जेष्ठ नागरिकको स्वास्थ्य अध्ययन गर्ने राम्रो विषय हुन्थ्यो कि!