सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा दूधकोशी नदी थुनिएर बनेको ताल अझै यथावत् छ।
थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ६ को सतीघाटमा दूधकोशी थुनिएर विशाल ताल बनेको तीन दिन भइसकेको छ।
दूधकोशीमा मिसिने सिखु खोलामा आएको भीषण बाढीले बगाएर ल्याएको गेग्रानले दूधकोशी थुनिएको स्थानीयबासीले जानकारी दिएका छन्।
‘सिखु खोलाको बाढीले बगाएर ल्याएको गेग्रानले असार २५ को राति नै दूधकोशीको बहाव केही मात्रामा थुनेको थियो,’ थुलुङ दूधकोशी गाउँपालिका-२ का वडाध्यक्ष युजन बस्नेतले सेतोपाटीसँग भने, ‘शनिबार राति झनै ठूलो परिमाणमा ढुंगा, गेग्रान बगाएर ल्याएछ। त्यसले दूधकोशीको स्वाभाविक बहाव थुनेको छ। यहाँ एक किलोमिटर लामो ताल बनेको छ।’
यो गाउँपालिकाको वडा नम्बर २ र ४ को सीमा क्षेत्रमा बन्दै गरेको पक्की पुल बाढीले पूर्ण रूपमा पुरेको छ। पुल पुरिएपछि थप पानी छेकिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए।
सोलुखुम्बुबाट खोटाङ जोड्ने काङ्गेल बात्तिम–वादे जुबु सडकखण्डमा पर्ने सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ र ४ जोड्ने दूधकोशी नदीमाथिको पुलको पिल्लर र स्पान गेग्रानले पुरिएर दूधकोशी थुनिएको हो।
‘तीन दिन बित्दा पनि ताल जस्ताको तस्तै छ, पानी बग्दै नबगेको होइन तर सानो निकास मात्रै छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘यही बीचमा दूधकोशीमा बाढी आयो भने यो क्षेत्रमा र यहाँभन्दा दक्षिणको क्षेत्रमा ठूलो जोखिम हुनसक्छ।’
दूधकोशी नदीमा निर्माणाधीन पुल कोशी प्रदेश सरकारको बहुबर्षे ठेक्काबाट २०७६ सालयता बनिरहेको थियो। सिखु खोलाको बाढीले ल्याएको गेग्रानले अधुरो पुल पुरिएको छ।
बाढीले पुल पुरिएर बाँधजस्तो बनेको बस्नेतले जानकारी दिए।
पहिले फिँजिएर बगेको दूधकोशी अहिले वडा नम्बर २ तिरबाट बगेर आएको सिखु खोलाको गेग्रानले वडा नम्बर ४ तर्फ धकेलिएको बताए।
दूधकोशीमा बाढी आएर अहिले साँघुरिएको ठाउँ एकैपटक खोलिएको खण्डमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको पावर हाउससमेत जोखिममा पर्ने सम्भावना छ।
कोशी प्रदेश सभाका पूर्वसांसद उत्तम बस्नेतले सिखु खोलाले गेग्रान बगाएर ल्याउने क्रम नरोकिएका कारण थप जोखिम बढाएको बताए।
सोलुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने दूधकोशी थुनिएर पानी जमेको कुरा अस्वीकार गरे।
उनले नजिकैको खोलाबाट ढुंगा गिटीसहितको बाढी आएर दूधकोशीको बहावलाई ‘ब्लक’ गरेको सत्य भए पनि त्यसलाई खोलिसकेकाले गरेका छन्।
वडाध्यक्ष बस्नेतले भने प्रशासनले घटनास्थलको अवलोकन नै नगरी केही नभएझैं गरेको गुनासो गरेका छन्।
‘मसहितका सयौं गाउँले अहिले पनि यही ताल बनेको क्षेत्रमा छौं, एक किलोमिटर लामो क्षेत्रमा पानी जमेर ठूलो ताल भएको छ,’ उनले भने, ‘पानी बगिरहेको छ तर यति विशाल ताल जस्ताको तस्तै छ। यसले जोखिम निम्त्याउने खतरा छ।’
गाउँपालिका अध्यक्ष असिम राईले पनि ताल बनेको स्वीकार गरे। तर,पानी बगिरहेका कारण जोखिम धेरै नरहेको बताएका छन्।
कोशी प्रदेश सरकारले १५ करोडभन्दा बढीको लागतमा बहुबर्षीय कार्यक्रम अन्तरगत दूधकोशीमा पुल निर्माण सुरू गरेको थियो।
बजेट अभावको कारण देखाउँदै पुल निर्माणको कार्यले गति लिएको थिएन।
बाढीले अब पुल नै पुरेपछि यो पुलको भविष्य नै अनिश्चित भएको पूर्वसांसद बस्नेतले बताए।