हजुरआमाका कथाः टंकमाया कार्की धनकुटाको भेडेटारमा जन्मिएकी हुन्। काठमाडौं, गोकर्णेश्वर-५ बस्ने उनलाई उमेर सोध्दा भन्छिन्- चार कोरी भएँ नि!
'चार कोरी' अर्थात् असी वर्ष। उनको जन्म १९९६ सालतिर भएको हुनुपर्छ। टंकमायालाई आफ्नो उमेरसँगै बुवाको नाम थाहा छ। जन्म दिने आमाको नाम भने थाहा छैन।
'आमाको त नाम बिर्सेँ, छैन जानेको। बुवाको नाम कुलबहादुर कटुवाल हो,' उनले भनिन्।
उनका सात दिदीबहिनी र एक दाजु थिए, अहिले उनी र अन्तरी दिदी मात्र छन्।
उसो त उनलाई कुन उमेरमा आफ्नो बिहे भयो भन्ने पनि थाहा छैन।
उनको जीवनमा दुइटा बिहे भएको रहेछ। पहिलो बिहे सानै उमेरमा भएको थियो। त्यो बेलाको चलनअनुसार उनी ठूली हुञ्जेल माइतै बसिन्। १८ वर्षकी हुँदा श्रीमान लिन आए, घर गइन्। दुई वर्षपछि टंकमायाको दोस्रो बिहे भयो। यो दोस्रो बिहे मागी, मन पराएर या सहमतिमा भएको रहेनछ।
उनी आफूलाई त्यो समयमा पुर्याउँछिन्, 'श्रीमान मलाई छाडेर गोठतिर जानुभएको थियो।'
उनको दिमागमा चलचित्रका दृश्यजस्तै घटना घुम्न थाले।
त्यो बेला गोठ भनेको घरभन्दा धेरै टाढा हुने। दुई-तीन साता उतै बस्थे पनि। श्रीमान गएको एक सातापछि टंकमायाले आफ्ना बुबा र कान्छी बहिनी सागसब्जी बेच्न र घरायसी सामान किन्न धरान जाने खबर पाइन्। उनी पनि धरानतिर लागिछन्।
'बुवासँग धरानको छाता चोकमा भेट भयो। उहाँहरूको छेउमै उभिएकी थिएँ,' उनले सुनाइन्, 'एउटा जुल्फी (कपाल) पालेको ठिटो आएर सागको दाम सोध्यो तर किनेन। फेरि एकछिनमा उही मान्छेले फेरि सोध्यो। मैले जवाफ दिएँ। यसो उतिर हेर्या त आँखा पो झिम्क्यायो। हत्तपत्त बुवालाई सुनाएँ।'
बुवाले भनेछन्, 'ए त्यो जुल्फे हो, त्यता ध्यान नदे।'
त्यसपछि उनीहरू बेचबिखन र किनमेल सकेर खाजा खाई विजयपुर डाँडो हुँदै भेडेटार जान हिँडे। विजयपुर जंगलबीच पुगेपछि उनको होस् उड्यो।
'त्यो सागको दाम सोध्ने जुल्फे त जंगलमा लुकेर बस्या रहेछ। बुवा र बहिनीका पछिपछि डोकोमा सामान बोकेर हिँडिरहेका बेला मलाई एक्कासि भिरबाट घिसार्यो त्यसले। बुवा 'छोड' भन्दै कराउनुभयो। तर उसले खुकुरी निकालेर 'तँलाई काट्छु' भन्यो।'
उनले त्यो दिन बिर्सन सकेकी छैनन्।
'अनि तपाईंले केही भन्नुभएन त? जानुभयो उसैसँग?'
'के भन्ने नि। त्यसरी घिसार्दै लग्यो। घिसारेपछि जानु परिहाल्यो,' टंकमायाको जवाफ।
त्यो बेलाको समाज, न महिलाको पक्ष लिइदिने कोही भए, न नियम-कानुन। मुलुकी ऐन १९९० मा 'जारिको' महलले केही सर्त र बन्देजमा 'जारलाई काट्न समेत पाउने' चलन थियो। विवाहित महिलालाई जबर्जस्ती लिएर जाने पुरुषलाई 'जार' र ती महिलाका वर्तमान श्रीमानलाई 'साधु' भनिन्थ्यो। साधुले ऐनअनुसार 'जार खर्च' लिएर श्रीमतीलाई जारसँग छाडिदिन सक्थ्यो। वा छाड्दिनँ भनेर जारको हत्या गरे पनि कानुनले संरक्षण दिन्थ्यो।
त्यो कानुनमा 'साधु'लाई 'स्वास्नीका धनी' भनेर सम्बोधन गरिएको छ। मुलुकी ऐन २०२० सँगै उक्त कानुन केही संशोधन भयो। जारलाई 'काट्ने' कुरा हटाइयो।
तर विवाहित महिलालाई सम्पत्तिसरह मानेर लेखिएको थियो- लोग्ने परदेश गएका अवस्थामा स्वास्नीको जारी गरी धनमाल वा छोराछोरीसमेत कसैले लगेमा उसलाई चोरीको महलबमोजिम सजाय हुन्छ। परदेश गएको मान्छे फर्की आए ऐनका म्यादभित्र उसले जारीखतको सजायसमेत गराउन पाउँछ। धनमाल भराउँदा स्वास्नीले लगाएर गएको कपडाबाहेक उठ्ने धनमाल श्रीमानलाई वा उनी नभए उनका वारेसलाई दिनुपर्छ।'
यो 'जारिको' महलको सजाय २०३४ सालमा मात्र हटेको थियो।
त्यस्तो समय हुर्किएकी टंकमायाले आफूलाई जंगलबाट घिसार्दै लग्दा बलियो प्रतिकार गर्नसक्ने अवस्था थिएन। 'अपहरण' शैलीमा आफ्नी छोरी लैजाँदा उनका बाबुले 'उसलाई छोड्' भन्नबाहेक केही गर्न सकेनन्। अझ हतियार देखेपछि बाबुले पनि साथ छाडिदिए।
टंकमायाका अनुसार उनी दाम्लोमा बाँधिएको पशुझैं डोरिँदै, 'जुल्फे' अर्थात् हस्तबहादुर कार्कीका पछि लागिन्। हस्तबहादुरको घर पुगेपछि थाहा भयो, उनको पनि पहिल्यै बिहे भइसकेको रहेछ। टंकमाया गएका बेला सौता घर थिइनन्, पछि आइन्।
त्यसपछिका दिनमा गाउँमा पञ्चायत बसेको उनले सुनाइन्। 'जार' का रूपमा हस्तबहादुर कार्कीले 'जारी' तिरे। टंकमायाका पहिलो श्रीमानले 'साधु'का रूपमा पैसा लिएर आफ्नो 'सम्पत्ति' बिक्री गरे। टंकमाया भन्छिन्, 'जारी नतिराई कहाँ मान्छ? तिरेको हो नि।'
उनी आफू खुसीले हस्तबहादुरसँग गएकी थिइनन्। तर पनि माइती र समाजका नजरमा उनी दोषी भइन् रे।
यसरी उनी हस्तबहादुरकी श्रीमती बनेकी रहिछन्। बिहेपछि हस्तबहादुरले उनलाई घरबाहिर निस्कनै दिन्थेनन् रे। वल्लो-पल्लो घरसमेत नपठाउने श्रीमानकै कारण माइती पनि धेरै पछि मात्र गएको उनी बताउँछिन्।
भन्छिन्, 'लोग्ने मातेर आएर कुटपिट गर्थे। अनि सन्तानको शोक पनि पर्यो। १४ छोराछोरी पाएँ। नौ छोरा र ५ छोरी थिए। अहिले ४ छोरा ३ छोरी मात्र छन्। उबेला परिवार नियोजन पनि हुँदैनथ्यो।'
उनलाई घरबाहिर जान नदिने श्रीमानले परिवार नियोजन गर्थे वा गर्न दिन्थे होलान् र? यसको जवाफ उनीसँग पनि छैन।
सौता घरमा आएपछि मनमुटाव त हुन्थ्यो नै। तर पनि दुइटी सँगसँगै घाँस दाउरा, मेलापात गर्न जान्थे रे। उनका सौताका दुई छोरा थिए। काठमाडौं बसाइँ सर्दा पनि सौता सँगै थिइन्। आफ्ना छोरा पशुपति कार्कीको घर नारायणटारमै सौता पनि बसेकी थिइन्।
टंकमायाकी बुहारी सीताले कोठा देखाउँदै भनिन्, 'एउटै कोठामा तीनटा खाट लहरै हालिदिएका थियौं। उहाँहरू यहीँ बस्नुहुन्थ्यो।'
केही वर्षअघि उनका श्रीमान र सौताको निधन भइसकेको छ।
टंकमायाको कम बोल्ने स्वभावले कुराकानीमा आएका अप्ठ्यारा सीताले फुकाइदिइन्।
सीता भन्छिन्, 'आमा एकदमै कम बोल्नुहुन्छ। दिनभर घरमा सासू-बुहारी हुन्छौं। कहिलेकाहीँ एक शब्द नबोली बित्छ। आमा टोलाएजसरी बसिरहनुहुन्छ। पहिले बुवाले कतै जान दिनु हुन्थेन। अहिले आमा नै कतै जानुहुन्न।'
उनको जीवनमा अर्को दु:ख २०२५ सालमा परेको रहेछ। त्यति बेला धरानमा बम विस्फोट भएको थियो रे! विस्फोटपछि प्रहरी अनुसन्धान भइरहेका बेला हस्तबहादुरले रक्सी खाएका सूरमा, 'धरानको भानुचोकमा बम मैले पड्काएको हो' भनेछन्। प्रहरीले उनलाई पक्रियो।
टंकमाया त्यो समय आफ्नो अवस्था सम्झन्छिन्, 'बम मैले पड्काको भनेपछि प्रहरीले लग्यो। छ जनाको परिवार थियो, अझ गर्भवती पनि थिएँ म। अर्काको खेतबारी कमाएर खान्थिम्। जेठो छोरा ९ वर्षको मात्र थियो, हलो जोत्न सक्थेन। गोरू नारेर उसलाई अनौमा उभ्याएर आफैं जोत्थेँ। अठार महिना साह्रै मुश्किल झेलेँ मैले। पछि राजा महेन्द्रको शाही प्रमांगीबाट लोग्ने छुटे।'
'अड्डा अदालत कसरी गएँ, न बोल्न जान्नु, न कोही चिनेका मान्छे, न ठाउँ नै थाहा छ। अन्यौल नै अन्यौल। बादलमा हराएको कागको जस्तै अवस्था थियो मेरो,' कुराकानीबीच खुइइय गर्दै त्यो कथा पूरा गर्छिन् उनी।
अनि पढ्न आउँछ तपाईंलाई?
'कहाँ नि, अक्षर चिन्दिनँ। आमाबुवाले पढाउनुभएन। मेरा छोरीलाई त पढाउन खोजेँ। एउटीले अलिअलि पढी। अरू त्यस्तै भयो। छोराहरूले मात्रै पढे,' उनी भन्छिन्।
माइतमै बसेका बेला धरान आउँदा उनले पहिलोपटक गाडी देखेकी रहिछन्। उनलाई साना-ठूला गाडी देख्दा, 'गाडीले बच्चा पाउँदो रहेछ' जस्तै लाग्थ्यो रे! कहिले गाडी चढ्न पाइएलाजस्तो पनि भएछ। पछि चढिछन् तर वाकवाकी लागेर सकस।
जहाज भने २०७० सालमा पूर्वबाट काठमाडौं बसाइँ सर्दा चढेकी रहिछन्। चढ्नुअघि खुब डर लागेछ। पछि 'घरजस्तै' लागेको बताउँछिन्।
टंकमायाको कथा बिट मार्दै गर्दा एउटा रोचक प्रसंग जोड्न मन लाग्यो।
गत माघमा बुकहोलिक्समा लेखक सञ्जीव उप्रेतीको उपन्यास 'हंस'बारे बहस थियो। प्रश्नोत्तर कार्यक्रममा एक श्रोताले लेखकलाई प्रश्न गरे, 'तपाईंको पात्रले जारलाई किन नकाटेको?'
लेखक उप्रेतीले त्यहाँ तर्कसहित दिएको जवाफले प्रश्नकर्ताको चित्त बुझेन। कार्यक्रमपछि पनि उनी 'जारलाई नकाटेका' विषयमा अरू सहभागीसँग बहस गर्दैथे। 'त्यो जारलाई खुट्टासम्म भए पनि ढोगाउनु पर्थ्यो,' उनी भन्दै थिए।
अप्रत्यक्ष संवादबाट थाहा भयो ती प्रश्नकर्ताकी श्रीमतीले सम्बन्धविच्छेद नगरी अरूसँगै बिहे गरेकी रहिछन्। त्यसैले उनलाई लेखकले आफ्नो पात्रलाई त्यत्तिकै छाडेको चित्त नबुझेको रहेछ।
ती प्रश्नकर्ता आजकै समाजका हुन्। तै पनि उपन्यासमा 'जार नकाटेको'मा असन्तुष्टि राख्दै थिए। छ दशकअघिको समाजमा टंकमायाका 'साधु'ले 'जार काटेका' भए उनको जीवनको कथा आज कस्तो हुन्थ्यो होला!