झमक्क साँझ परेका बेला असनको भिड छिचोल्दै भोटाहिटी निस्कन कम सकस हुँदैन। अझ आकाशे पुलमा मान्छेको ठेलमठेलबाट फुत्किनु ठूलै उपलब्धि।
साँझ ढल्कँदै जाँदा मजस्ता धेरै बटुवाको अनुहार हतासिँदै थियो। रत्नपार्कमा गाडी चढेर जानुपर्नेहरूको अनुहार झनै थकित।
घन्चमन्चमा ज्यान किच्याउँदै सार्वजनिक गाडी चढ्ने विकल्प पन्छाएर म खुट्टा लम्काउन थालेँ। महानगरीय प्रहरी कार्यालयतिर मोडिँदै थिएँ, एकजना मानिसको चर्को आवाज सुनेँ– 'आम्मै! के–को लाइन हो यो?'
दुईजना अधवैंसे पुरुष आपसमा कुरा गर्दै आइरहेका थिए। अर्का पुरुषले अन्दाज लगाए, 'खै, विदेशसिदेश जान प्रहरीमा रिपोर्ट लेखाउने लाइन होला।'
यो साँझमा के को रिपोर्ट लाइन हुनु, उनीहरूको उत्सुकता पछ्याउँदै सडकतिर हेरेँ। मान्छेको लाइन झन्डै आधा किलोमिटर थियो। प्रहरी कार्यालयसँगै जोडिएको आकाशे पुलबाट सुरू भएको लाइन भोटाहिटीतिर तेर्सिएको।
यी लाइन घर जान हतारिएकाको थियो, बीच सडकमा गाडी पर्खिएर बसेकाहरू।
कहाँ जाने यात्रु होलान्? गाडी पक्डिन हतार भएकाहरूसँग जवाफ दिने समय हुँदैन। मेरो प्रश्नको स्थिति पनि अघिका दुई पुरुषहरूकै जस्तो हुनेभयो।
चित्तै नबुझेपछि लाइनको छेउछेउ हुँदै मध्यतिर पुगेँ।
एक महिला बालक काखमा लिएर गाडी पर्खिइरहेकी थिइन्। बालक गनगन गर्दै थियो। उनी खासै बोल्न मानिनन्। महिलाका अगाडिपछाडि कलेज पोसाकमा विद्यार्थी थिए। उनीहरूमा चिड्चिडाहट देखिन्थ्यो। झन्डै एक घन्टादेखि गाडी पर्खिएकाले धैर्य कम हुँदै गएको थियो। घरिघरि घन्टाघरतिर घाँटी तन्काउँथे।
अलि परतिर बानियाँटार बस्दै आएका वीरगञ्जका दीनेशकुमार यादव भेटिए।
'कहाँ जाने यात्रुको लाइन हो यो?'
उनले उल्टै सोधे, 'तपाईं पत्रकार हो? अघिदेखि हेरिरहनुभएको छ!'
त्यसपछि उनले आफूले खेप्दै आएको सास्ती सुनाए।
भर्खरै हेल्थ असिस्टेन्ट पढेर सकेका यादव बागबजारकै एक इन्स्टिच्युटमा बिपिएच तयारी गरिरहेका रहेछन्। दिनहुँ बागबजार आउने र बेलुका बानियाँटार फर्कनुपर्ने भएकाले गाडीको सास्ती बेहोर्नै पर्छ। यो आधा किलोमिटर लामो लाइन बानियाँटार जाने यात्रुकै मात्र रहेछ।
'आधा घन्टा भयो कुरेको। अगाडि ३५ जना जति छन्, अझै आधा घन्टा पालो आउँदैन होला,' उनले सुनाए।
तै, झन्डै दुई वर्षदेखि यहाँ चलिरहेको 'लाइन सिस्टम' ले खुट्टा किचिन, चप्पल हराउन, टाउको ठक्किने जस्ता सान्तिना घम्साघम्सी कम छ। बानियाँटार जाने यात्रुको यो बानीलाई २०७४ सालमा महानगरीय ट्राफिक कार्यालयले अन्त पनि नियम बनाएको थियो। सुन्धारा, भोटाहिटी, जमल, पुरानोबसपार्क परिक्रमा हुने ठाउँ, कालिमाटी गरी दस स्थानमा सुरू भएको यो चलन कतै टिकेन।
जहाँबाट सुरू भयो, त्यो छँदैछ- बानियाँटार। गाडी चढ्न लागेको लाइन व्यवस्थित देखिन्छ। हुलमुलमा किचिनुभन्दा लाइन लाग्न झन्झट मान्ने कुरा भएन। तै पनि तर काखेबालक च्यापेर, भोको पेटमा, लौरो टेक्दै र खोक्दै एक घन्टा उभिनु सास्ती नै छ।
त्यहाँ उभिएका मध्ये धेरैलाई लाग्छ- यो सिन्डिकेटको समस्या हो।
'सरकार सिन्डिकेट हटिसक्यो भन्छ। एक घन्टा कुर्दा पनि गाडी आउँदैन। आउने माइक्रो हो, बाटो साँघुरो भएकाले ठूला गाडी चल्दैन,' दीनेश सार्वजनिक यातायातको दुःख सुनाउँछन्, 'यता एक घन्टा कुरेर बल्लबल्ल माइक्रो चढ्यो, जाम उस्तै। १२ किलोमिटर बाटो काट्न दिनहुँ ३ घन्टा सकिन्छ। यस्तै हो त देशको केन्द्रीय राजधानी?'
बानियाँटार जाने माइक्रो संख्या कम छन्। दिउँसोको समयमा खाली भए पनि बिहान-बेलुकी पाउनै मुश्किल। बानियाँटारबाट चढेर आउनै पनि हम्मे पर्छ व्यस्त समयमा।
बानियाँटारै बस्ने पूजा महतो दीनेशभन्दा चार जना अगाडि छिन्। समस्या दीनेशकोभन्दा अगाडि, पछाडि छैन। डिएभी कलेज जावलाखेलबाट काम सकेर रत्नपार्क आइपुग्दा झमक्क हुन्छ। जाडोयाममा त घर पुग्दा त रातै पर्छ।
लाइन लागेको ४५ मिनेट भइसकेको उनले बताइन्। गाडी आउने टुंगो थिएन, आए पनि चढ्न पाउने निश्चित छैन। उनका अगाडि ३० जना बढी त्यसैगरी पर्खिइरहेका थिए।
दिक्दार हुँदै भनिन्, 'लाइन लागेपछि एउटा गाडी आएको थियो, त्यसपछि छैन। माइक्रोको खास भर हुँदैन, मान्छे भरिए गोंगबु चोकबाटै फर्काउँछ। हामी यता कुरेको कुर्यै।'
पूजाका अनुसार कहिलेकाहीँ कुर्दाकुर्दा पनि गाडी नआएपछि ट्याक्सीमै फर्किनुपर्छ। मध्यम आय भएकाले ट्याक्सीमा आउजाउ धान्न गाह्रो!
यत्तिकैमा रत्नपार्क–बानियाँटार रुटको १८ सिटे माइक्रो हुर्रिंदै आयो। २० जना अटाउन सकिन्छ, तर ३० जनाजति तँछाडमछाड गर्दै माइक्रोतिर बढे। लाइन बिग्रियो।
छेउमा उभिएका ट्राफिक प्रहरीले भिड मिलाउन पहल गरेनन्।
'ल है ! विस्तारै, पालैपालो चढ्नुस्' यति भनेर औपचारिकता पूरा गरे।
एक घन्टा खुट्टा गलाउँदै लाइनमा उभिँदा पनि दीनेश र पूजाले पालो पाएनन्। चालक, सहचालक त भ्याएसम्म यात्रु कोच्दै थिए। यात्रुको खुट्टा राख्ने ठाउँ नभएपछि माइक्रो हुइँकियो।
नियमअनुसार कुनै पनि सार्वजनिक सवारीले सिट क्षमताभन्दा धेरै यात्रु चढाउन पाउँदैन। तर यो अवस्था देखेपछि ट्राफिकसँगै सोधेँ- सिटभन्दा बढी यात्रु चढाउन पाइन्छ र?
सवारी व्यवस्थापनका लागि खटिएका ट्राफिक प्रहरी शेरबहादुर सिंह केही बेर अलमल परे। र भने, 'यति धेरै यात्रु छन्। सबै गन्तव्यमा पुग्नै पर्यो। रात परिसक्यो, गाडी पुग्दो छैन। तपाईं भए पनि यसैगरी खाँदिएर जानुहुन्छ।'
उनले अगाडि थपे, 'पिकआवरमा नियमभन्दा पनि यात्रुलाई कसरी पठाउने भन्ने सोच्नुपर्छ। हामीलाई पनि अप्ठ्यारो, यति बेला भइसक्यो, (साढे ७ बज्न लाग्दा) महिला, कलेजका केटाकेटी, बच्चाबच्ची लाइनमा छन्, के गर्नु। जुन गाडी हेरे पनि त्यस्तै हो।'
गाह्रो देखाउँदै ट्राफिक प्रहरीले सहजै व्यवस्थापन पचाइदिए। यस्तोमा उनले पठाउन जोड गरेका यात्रु सधैं सकुशल घर पुग्लान् र? यात्रुले सास्ती खेपेरै लामबद्ध हुने नियम मानिरहेका बेला ट्राफिक र यातायात निकायहरूले नियम मान्न र बसाउन सक्दैनन् र?
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी