प्राध्यापक डम्बर चेम्जोङ त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग प्रमुख भएको छ महिना मात्र भएको थियो। स्वयम्भूबाट सार्वजनिक गाडी चढेर कीर्तिपुर धाउँदा उनलाई समयमा पुग्न सधैं गाह्रो पर्थ्यो।
चेम्जोङले भर्खरभर्खर चलेको टुटल-पठाओ प्रयोग गर्न थाले। यदाकदा ट्याक्सी पनि चढ्थे।
टुटल-पठाओ चालक अधिकांश विद्यार्थी हुन्थे। बिहान-दिउँसो कलेज पढ्ने, फुर्सदको समय यता सदुपयोग गर्ने।
एक दिन पठाओ चालक निजी कलेजका विद्यार्थी परे। तर, उनलाई आफूले त्रिविसम्म ल्याएका सेवाग्राही त्यहीँका प्राध्यापक हुन् भन्ने थाहा थिएन।
चेम्जोङलाई त्रिवि घडीघर बायाँतिरको बाटैबाटो लगेर समाजशास्त्र विभागअगाडि ओरालेपछि उनले सोधे, 'अंकल यो कुन ठाउँ हो?'
पठाओ चालकले विश्वविद्यालयको विभागसमेत नचिनेको देखेर अचम्म मान्दै चेम्जोङले भने, 'यो त्रिभुवन विश्वविद्यालयको केन्द्र हो, थाहा छैन!'
'यो एरिया त वर्षौं मान्छे नबसेजस्तो अनकन्टार पो छ त!'
चेम्जोङ हाँसे मात्रै। कुनै जवाफ दिन सकेनन्।
अर्को दिन फेरि त्यस्तै भयो। उनी ट्याक्सी चढेर आएका थिए। घडीघर पछाडि पुगेपछि ट्याक्सी ड्राइभरले सोधे, 'कुन ठाउँ हो यो?'
चेम्जोङले पठाओ चालकलाई झैं जवाफ फर्काए।
'अगाडिबाट त राम्रै देखिन्छ। पछाडि त भूतघरजस्तो रहेछ,' ट्याक्सी ड्राइभरले आफूलाई लागेको बताइदिए।
साउन महिना थियो। झरीमा हुर्केका झारले भवन छोपिएको थियो। कक्षाकोठा पुग्ने बाटो पूरै हिलाम्मे। त्यसमाथि आगो लागेर खण्डहर बनेको स्वतन्त्र विद्यार्थी युनियनको भवन। यी सबै देख्दा 'भूतघर' नभनेर के भनून् त?
प्राध्यापक चेम्जोङको मनमा यस्तै प्रश्न आयो। उनी सोच्न बाध्य भए– कि नेतृत्वमा बस्नुभएन, नभए पहुँचले भ्याएसम्म कम्तिमा आफ्नो विभागमा भौतिक र प्राज्ञिक सुधार थाल्नुपर्यो।
उनको विचार र योजनामा समाजशास्त्र विभागका नवनियुक्त प्रमुख टीकाराम गौतम पनि सकारात्मक देखिए।
यिनै दुई प्रमुख एक महिनायता आफ्नो जिम्मामा रहेका विभागको प्राज्ञिक र भौतिक सुधार गर्न दत्तचित्त छन्।
'हिजोको दिनमा त्यति बेलाकै पूर्वाधार उत्कृष्ट थियो होला। आज ती पुराना भए,' प्राध्यापक गौतमले भने, 'समयअनुसार परिमार्जन र परिस्कृत हुन जरुरी रहेछ। शौक्षिक गुणस्तर होस् या भौतिक आवरण, हामी दुवैलाई समयसापेक्ष बनाउन चाहन्छौं।'
त्रिवि देशकै जेठो र ठूलो विश्वविद्यालय मात्र होइन, हाम्रो प्राज्ञिक क्षेत्र कस्तो छ भनेर हेर्न आउनेहरूलाई देखाउने थलो पनि हो। यसको भौतिक सुधारको जिम्मा स्वयं विश्वविद्यालय र मातहतका विभागहरूको हो। पठनपाठन, पाठ्यक्रम विकास, जनशक्ति निर्माण लगायत विभागीय जिम्मेवारीभित्रै पर्छ।
यही जिम्मेवारी स्वीकार्दै समाजशास्त्र र मानवशास्त्र विभागले घोषणा गरेका छन्– हाम्रा कक्षाकोठा, पुस्तकालय घरभन्दा न्यानो, आरामदायी र सुविधाजनक बनाउने छौं।
सुधारको पहिलो चरणमा बगैंचा, बोटबिरुवा संरक्षणको काम भइरहेको छ। विभाग वरिपरिको घाँस मात्रै काट्दा पनि फराकिलो र खुला देखिएको छ। बर्खाको पानी कटाउन नाला र कक्षाकोठासम्म पुग्ने बाटो निर्माणाधीन छ। सवारी पार्किङ र साइकल स्ट्यान्ड पनि व्यवस्था भएको छ। शौचालयहरू सुविधाजनक बन्दैछन्। स्वच्छ खानेपानीको व्यवस्था छ। त्रिवि पुग्ने सबै यो दृश्यसँग साक्षात्कार हुन सक्छन्।
कक्षाकोठामा फेरिएका डेक्सबेन्च लोभैलाग्दा छन्। झ्यालका पर्दा फेरिएका छन्। जाडोमा न्यानो र गर्मीमा शितल वातावरण तयार हुँदैछ। बाहिरी आवरणसँगै पठनपाठनमा समेत १८० डिग्री परिवर्तन छ।
विश्वविद्यालयको पहिलो विशेषता सुविधाजनक पुस्तकालय र पढ्ने स्थान हो। प्राविधिक र इन्टरनेटमा आधारित पढाइसमेत हुन थालेको चेम्जोङले बताए।
'पाँच हजार थेसिस संकलन र संरक्षण गरिरहेका छौं। दुवै विभाग लक्षित बृहत् पुस्तकालय, इ–लाइब्रेरी हब, पढ्ने, छलफल गर्ने ठाउँ बनिरहेको छ,' फेरिँदै गएको विभागीय परिपाटी बताउँदै प्राध्यापक चेम्जोङले भने, 'विद्यार्थीहरू आएर पढ्न, हेर्न, पेपर तयार गर्न पाउँछन्। अन्तर्राष्ट्रिय जर्नल अनलाइनमै हेर्नेछन्। पठन सामग्री खोज्न विद्यार्थीहरूले परिसरबाहिर जानु नपरोस् भन्ने हाम्रो योजना छ।'
यसो भन्दै गर्दा चेम्जोङले आफू पढेको अमेरिकी विश्वविद्यालय सम्झे।
'विश्वविद्यालयको न्यानो कोठाभित्र आरामदायी सोफामा बसेर तात्तातो कफी पिउँदै रोजेको पुस्तक पढ्न पाइन्थ्यो,' उनले अमेरिकाको कोर्नेल विश्वविद्यालयको अनुभव सुनाए, 'कलेजमै यतिका सुविधा भएपछि आफ्नो कोठामा किन बस्नु? बिहान सबेरै कलेज पुग्थेँ। सकेसम्म ढिला फर्कन्थेँ।'
अहिले पनि अमेरिकी, युरोपेली देशका विश्वविद्यालयमा बिहानैदेखि विद्यार्थीको घुइँचो लाग्ने उनी बताउँछन्।
कुनै मान्छेको घर कति सफा र व्यवस्थित छ भन्ने अनुमान लगाउन शौचालय नियाले पुग्छ। यो आहान विश्वविद्यालयमा समेत जोडिन्छ। विश्वविद्यालयको शैक्षिक अवस्था बुझ्न बाह्य आवरणको भूमिका उल्लेख्य हुन्छ। ज्ञान निर्माण गर्ने, वितरण गर्ने, सिक्ने, सिकाउने थलो स्वच्छ, सफा, रमणीय, हराभरा हुनु अत्यावश्यक छ।
'त्रिवि औपचारिक शिक्षा सिक्ने/सिकाउने, वितरण गर्ने सबभन्दा माथिल्लो तह हो। तलका सबैले यहाँबाट सिक्न सक्छन्। त्यसैले यो सबभन्दा नमूना हुनुपर्छ,' प्राध्यापक गौतम भन्छन्, 'पठनपाठनका लागि चाहिने खास किसिमको वातावरण पनि तल्लो तहले सिक्न सक्छन्।'
'जबसम्म बाहिरी परिवेश आकर्षक हुँदैन, तबसम्म ज्ञान निर्माण, उत्पादन र वितरण अपूरो हुन्छ। दिनेले दिए पनि लिनेले लिन सक्दैन,' उनले भने।
विश्वविद्यालय जाने व्यक्तिले विदेशी विश्वविद्यालयहरू पनि निरीक्षण गरेका हुन्छन्। आफ्नोसँग तुलना गर्छन्, अपेक्षा पनि त्यही राख्छन्। बाहिरी 'स्ट्यान्डर्ड' देखेपछि आफ्नो बिग्रे-भत्केको, लथालिंग अवस्था मनपर्दैन। यसले ज्ञान वितरण प्रभावकारी नहुने चेम्जोङको भनाइ छ।
उनी थप स्पष्ट पार्छन्, 'विद्यार्थीलाई त्रिवि प्रवेश गर्नासाथ छुट्टै ठाउँ पुगेको महशुस हुनुपर्छ। विश्वविद्यालय आउने व्यक्तिले न्यूनतम अपेक्षा राखेको हुन्छ। हामीले त्यसलाई निराश पार्नु हुँदैन। सिकाइमा प्रभाव पार्ने नकारात्मक पक्षहरू सुधारिनुपर्छ।'
समाजशास्त्र–मानवशास्त्र विभागले थालेका कामबारे बाँकी १२ वटा विभागलाई जानकारी छ। उनीहरूमध्ये कसैबाट पनि सुधारको प्रयास भएको छैन।
त्यसो त यी दुई विभागले मिलेर काम गर्न बाँकी विभागलाई निम्तो दिएका पनि छैनन्। न त कसरी राम्रो पार्न सकिएला भनेर सुझाव नै लिएका छन्। बरू आफ्नो श्रोत र साधनले भ्याएसम्म आफैं खटिएका छन्।
आफू बसेको घरआँगन आफैं सफा राख्नुपर्ने प्राध्यापक चेम्जोङ बताउँछन्। कसरी सफा गरौं भनेर कसैलाई सोध्न उनी आवश्यक ठान्दैनन्।
'वरिपरिको वातावरण आफैंले सफा गर्ने हो। सफा गरौं कि नगरौं? कसरी सफा गरौं भनेर सोध्न आवश्यक छैन। सबैले आफ्नो विभाग आफैं व्यवस्थित गरे राम्रो सन्देश जान्छ,' चेम्जोङ भन्छन्, 'अन्य विभागले पनि सफा गर्नुपर्छ। समग्र त्रिवि सुधारिएको हेर्न मन छ।'
समाजशास्त्र–मानवशास्त्र समूह पढाइमा मात्र संलग्न छैन। सोध, खोज, अनुसन्धानमा पनि लागिरहन्छ। अनुसन्धानबाट प्राप्त ज्ञान प्रकाशन, सार्वजनिक र वितरण हुन्छ। केही रकम संकलन हुन्छ। रकमको केही प्रतिशत यति बेला विभाग सबलीकरणमा खर्च हुने भएको छ।
उच्च शिक्षा परियोजना र विश्वविद्यालय अनुदान आयोगबाट पनि आर्थिक श्रोतका लागि विभागले पहल गरिरहेको छ। काम गर्दै जाँदा श्रोतसाधनको भन्दा केही गर्नुपर्छ भन्ने अठोट आवश्यक भएको प्राध्यापक गौतम बताउँछन्।
'पैसाले मात्र काम रोकिने होइन रहेछ। सुधार गर्ने संकल्प र सक्रियता पनि चाहिन्छ। यति भए सहयोगी हात प्रशस्त जुट्ने रहेछन्,' गौतमले भने, 'यत्तिका वर्ष लाज पचाएर बसेका रहेछौं। अब पचाउन सकिएन, ढाक्नुपर्छ।'
विभागको कामलाई अध्ययनरत विद्यार्थीले भरपुर साथ दिएका छन्। केही रकम आफैं पनि लगानी गरेका छन्। परिआए आफैं खटिन तयार छन्।
विद्यार्थीको सक्रियतालाई विभागले महत्वपूर्ण सहयोग ठानेको छ। यति हुँदाहुँदै केही विद्यार्थी बिगार्न मात्र उद्धत हुने उदाहरण पनि छ। बिगार्ने मानसिकता बोकेर आएकालाई नैतिक दबाव मात्र दिन सकिने प्राध्यापक गौतम बताउँछन्।
'विद्यार्थीको सहयोग निकै महत्वपूर्ण हुन्छ। हामी के गरौं सर भनेर सोधिरहेका हुन्छन्। एक महिनाभित्रै प्रत्यक्ष महशुस हुने गरी काम गरिरहेका छौं,' विद्यार्थीको सहयोगको सराहना गर्दै गौतमले भने, 'अपवादले बिगार्लान् भनेर बनाउँदै नबनाएर बस्ने पक्षमा हामी छैनौं।'
'हाम्रो व्यवहार चेतनाको तह हो। अब वातावरण यस्तो पारौं कसैलाई बिगार्न, फोहोर पार्न लाज लागोस्, अप्ठ्यारो मानोस्,' उनले आशा व्यक्त गरे।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी