केरलाबाट नेपाल घुम्न आएका भारतीय नागरिकको टोली गत सोमबार दामनको होटलमा बास बस्यो। पन्ध्र जनामध्ये फरक कोठामा सुतेका ८ जना बिहान अबेरसम्म उठेनन्। अचेत भेटिएका आठै जनालाई काठमाडौं ह्याम्स अस्पताल ल्याइयो, ज्यान जोगाउन भने सकिएन।
झ्याल-ढोका बन्द कोठामा ग्यास हिटर बालेर सुत्दा निसास्सिएर मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ।
जाडो याममा बन्द कोठाभित्र कोइला वा ग्यास हिटर बालेर सुत्दा र ग्यास गिजरमा नुहाउँदा मृत्यु भएका घटना पछिल्लो समय धेरै सुनिएका छन्।
करिब दुई साताअघि काठमाडौं, मिलनचोकको रुमिज गर्ल्स होस्टलमा यस्तै घटना भयो। बाथरुममा नुहाउन गएकी झापाकी २० वर्षीया स्वशिका लिम्बू धेरै बेरसम्म ननिस्केपछि भेन्टिलेसन फोरेर हेर्दा बेहोस भेटिइन्।
तत्कालै अस्पताल पुर्याइयो, तर उनको मृत्यु भइसकेको थियो।
त्यसको एक दिनअघि ललितपुरमा उस्तै भयो। सुरिवा गर्ल्स होस्टल बस्ने वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको बाथरुममा निसास्सिएर मृत्यु भयो।
एकपछि अर्को भइरहेका यी घटनाका कारण र रोकथामबारे हामीले श्वासप्रश्वास डाक्टर अर्जुन कार्कीसँग कुरा गरेका छौं।
डा. कार्कीका अनुसार, दाउरा, मट्टीतेल, पेट्रोल, ग्यासजस्ता प्रज्वलनशील पदार्थ बाल्दा धुवाँको खार उत्पन्न हुन्छ। सामान्यतया आगो बाल्दा कार्बन-डाइ-अक्साइड निस्कन्छ।
इन्धन र अक्सिजनको रासायनिक प्रतिक्रिया भएर नै आगो बल्ने हो। यसले गर्दा कोठाभित्रको अक्सिजन आगो बल्नमै खपत हुन्छ। जसले गर्दा बन्द कोठामा आगो बाल्दा मान्छेका लागि अझै हानिकारक ग्यास कार्बन-मोनो-अक्साइडको मात्रा बढ्दै जान्छ। मोनो-अक्साइड जति फैलियो, मान्छेलाई सास फेर्न उति गाह्रो हुँदै जान्छ।
होसहवासमा भएको मान्छेले सास फेर्न अप्ठ्यारो भएको सजिलै थाहा पाउँछ। सुतेको छ भने ऊ सुतेको-सुत्यै बेहोसीमा जान्छ। बेहोसीमा गएपछि कुनै प्रतिक्रिया जनाउन सक्दैन। र, अन्ततः उसको मृत्यु हुन्छ।
माथि उल्लिखित तीनैवटा घटनाको कारण यही हो।
'होसमा हुँदा थोरै असजिलो भए पनि हामी झस्किन्छौं। झुम्म महशुस गर्छौं। सास फेर्न अप्ठ्यारो हुन्छ। हातखुट्टा झमझमाउन थाल्छ। मान्छे आलसतालस देखिन्छ,' डा. कार्कीले भने, 'ननिदाएका हुन्थे भने उनीहरू तत्कालै बाह्य हावाको सम्पर्कमा पुग्नसक्थे। निदाएका बेला शरीर प्रतिक्रियाविहीन र अर्धचेत हुन्छ। उनीहरूले अक्सिजनको मात्रा कम भएको चालै पाउँदैनन्। शरीर क्रमशः निष्क्रिय हुँदै जान्छ।'
हिटर वा गिजर चलाउँदा कोठामा हावा ओहोरदोहोर हुने गरी झ्याल खोलेको भए उनीहरूको प्राण बच्न सक्ने डा. कार्की बताउँछन्। कोठा तातो होस् र बाहिरी हावा नछिरोस् भनेर झ्याल बन्द राखेर हिटर बाल्दा अन्तिममा त्यही मृत्युको कारक बनिदिने उनको भनाइ छ।
उनका अनुसार, हामीले सास फेर्दा अक्सिजन फोक्सोमा पुग्छ र रगतमा हुने हेमोग्लोबिन भन्ने तत्वसँग घुलिन्छ। हेमोग्लोबिनसँग मिसिएको अक्सिजन रगतको माध्यमबाट शरीरका विभिन्न कोष, तन्तु, मुटु र मस्तिष्कसम्म फैलिन्छ। यही अक्सिजनले हाम्रो कोष र तन्तुलाई जीवित राख्छ।
यति मात्र होइन, कोषमा भएको कार्बन-डाइ-अक्साइड बोकेर ल्याउने काम त्यही हेमोग्लोबिनले गर्छ। त्यसलाई फोक्सोसम्म ल्याएर श्वासनलीबाट बाहिर पठाउँछ।
हेमोग्लोबिनमा अचम्मको गुण हुन्छ। यसले अक्सिजनसँग भन्दा कार्बन-मोनो-अक्साइडसँग राम्रो 'बोन्डिङ' गर्छ। बुझ्ने भाषामा भन्दा, अक्सिजनसँग भन्दा कार्बन-मोनो-अक्साइडसँग यसको मिल्ती ज्यादा हुन्छ।
हेमोग्लोबिनको यो गुणबारे डा. कार्की थप प्रस्ट्याउँछन्, 'कार्बन-मोनो-अक्साइड हेमोग्लोबिनसँग मिसिएपछि त्यो ठाउँमा फेरि अक्सिजन पुग्न गाह्रो हुन्छ। शरीरमा कार्बन-मोनो-अक्साइड फैलिएको थाहा पाउँदा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ। त्यस्ता बिरामीलाई धेरैभन्दा धेरै अक्सिजन दिएर शरीरमा फैलिएको कार्बन-मोनो-अक्साइड हटाउनुपर्छ।'
हेमोग्लोबिनसँग मिल्ती हुने स्वभाव भए पनि कार्बन-मोनो-अक्साइड शरीरका लागि घातक हुन्छ। यस्तो घातक ग्यास शरीरभरि फैलिएपछि मानिसका कोष, तन्तु निष्क्रिय हुन थाल्छन्। मस्तिष्कले काम गर्न छोड्छ। मुटु पनि अचेत हुन्छ। समयमै उपचार नपाए मानिसको मृत्यु हुन्छ।
आगो बाल्दा हुने ग्यास उत्सर्जन र हाम्रो श्वासप्रश्वासको विज्ञानलाई दामनको घटनासँग जोड्दै डा. कार्कीले भने, 'दामनमा एउटै कोठामा आठ जना सुतेका रहेछन्। होटलको कोठा ठूलै थियो होला भन्ने अनुमान गर्न सकिँदैन। ग्यास हिटर बालेर सुत्नु हुँदैन भन्ने उनीहरूलाई थाहा हुनुपर्ने हो, तर बुझेजस्ता देखिएनन्। नत्र झ्याल खोलेर सुत्नुपर्थ्यो।'
उनले अगाडि भने, 'उनीहरूमध्ये कोही जागा हुन्थे भने सास फेर्न गाह्रो हुनेबित्तिकै बाह्य हावाको सम्पर्कमा पुगेर ज्याउन बचाउन सक्थे। सामान्य अवस्थामा रहेको मान्छेलाई निसास्सिएको महशुस गर्न कठिनाइ हुँदैन।'
ढोका बन्द गरेर हिटर ताप्नुजत्तिकै जोखिमपूर्ण हुन्छ, गिजरमा नुहाउनु।
दस-पन्ध्र मिनेट नुहाउनेहरूलाई गिजर जोखिमपूर्ण हुँदैन। तर, घन्टौं लगाएर नुहाउने र नुहाएपछि पनि बाथरुमभित्रको कार्बन-मोनो-अक्साइडयुक्त हावामै लुगा धुने, शौच बस्नेहरू जोखिममा हुन्छन्।
'हावाको राम्रो प्रवाह भएको कोठामा हिटर ताप्दा, गिजरमा नुहाउँदा यो जोखिम बिल्कुलै हुँदैन,' उनले भने, 'गिजरमा नुहाउँदा कम्तीमा भेन्टिलेसन खोल्न जरूरी छ। बाथरुममा भेन्टिलेसन छैन भने गिजर नराख्दा बेस्। नभए, तातो पानीमा नुहाउने मजाको निम्ति ज्यानै जान सक्छ।'
'विद्युतीय हिटरमा भने नजिक बस्दा वा छुँदा पोल्नेबाहेक हानिकारक ग्यास उत्सर्जनले निसास्सिएर मृत्यु हुने जोखिम हुँदैन,' उनले भने।