२०७२ को भुइँचालोले क्षतिग्रस्त सिन्धुपाल्चोक उठ्दैछ।
पाँच वर्षको अन्तरालमा भुइँचालोले ढलाएका भौतिक संरचना त ठडिँदैछन्। तर, सिन्धुपाल्चोकको मौलिकता र चिनारी बोकेका घर ढलेर इतिहास नै भएका छन्।
भुइँचालोको केन्द्र उत्तरी गोरखाको बारपाक भए पनि धेरै क्षति सिन्धुपाल्चोकले बेहोरेको थियो। मुख्य कारण छरिएका बस्ती र एकलास गाउँ थिए। पाखो, भिरालो जग्गामा ढुंगा र माटोले बनेका घरले भुइँचालोको पहिलो धक्का नै थेग्न सकेनन्।
भुइँचालो पीडित अहिले पनि सुनाउँछन्- पहिलो चार सेकेन्डमै अधिकांश कच्ची घर ढलेका थिए।
बाटोघाटो नहुँदा समयमै उद्धार पुग्न सकेन। कहाँ कति घर छन् वा छैनन्, बुझ्न समय लाग्यो। उद्धार गर्न सकिने घाइतेको पनि ज्यान गयो। मृतक संख्या थपियो।
त्यही समस्या मध्यनजर गर्दै अहिले जिल्लामा धमाधम एकीकृत, नमूना, सामूहिक आवास विकास भइरहेको छ। प्राधिकरणले दसभन्दा बढी घरधुरीले एकीकृत बस्तीको अवधारणा लिएर आए स्वीकृत पनि दिन्छ। जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणमा सघाउने प्राधिकरणको नीति नै छ।
स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात जस्ता पूर्वाधार निर्माणमा सहज हुने र भैपरी आउने अन्य विपत्तिमा समेत सहयोग हुने प्राधिकरणको विश्वास छ।
यति हुँदाहुँदै पनि बस्तीहरू व्यावहारिक बन्न नसकेको बसाइ सरेका स्थानीय गुनासो गर्छन्।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१२ मा बनेको एकीकृत नमूना माझी बस्ती त्यसैको उदाहरण हो।
स्थानीय विष्णुमाया माझीले एकीकृत बस्तीको कमजोरी सुनाइन्, 'यता आँगनमा कुखुरा चरिरहन्थे, उता बाख्रा खेलिरहन्थे। घरभित्र काम गर्दै रेखदेख गर्न पाइन्थ्यो। दुई-चार पैसा हुन्थ्यो। अहिले त बच्चा खेल्ने ठाउँ पनि छैन।'
गाउँले जीवन बाँचेको सिन्धुपाल्चोकको मुख्य आयस्रोत कृषि, पशुपालन हो। करेसाबारी, रछ्यान, बाख्रा, सुँगुर, कुखुराका खोर त्यहाँका घरका आवश्यकता हुन्।
एकीकृत बस्ती अवधारणाले ती चिज नसमेट्दा सामूहिक बस्तीप्रति आकर्षण बढ्न नसकेको स्थानीयबासी बताउँछन्।
भुइँचालो एकै वर्षमा बस्ती उभियो। पीडितहरूले तत्कालका लागि राहत पाए। तर एककोठे घरले यहाँ स्थानीयको आवश्यकता पूर्ति गर्न सकेको छैन।
अन्न थन्क्याउने बुइँगल, कोठा छैन। एक कोठेघरमा भातभान्छादेखि अन्नपात, राखनधरनसम्म गर्न बाध्य छन्। दस–बाह्रजनाको जहान परिवार पनि त्यही कोठामा समेटिएको छ।
'भान्छा, राखनधरन, सुत्ने कोठा जे भने पनि यही नै हो, अटाउनै परेको छ,' विष्णुमाया थप गुनासो गर्छिन्, 'आफ्नो दैलोबाट निस्किँदा छिमेकीको ढोका अगाडि पुगिन्छ। जाडोमा घम ताप्ने, गर्मीमा शितल ताप्ने ठाउँ पनि भएन।'
सदरमुकाम चौतारादेखि उत्तरतर्फ जुगल गाउँपालिका–१ सेलाङको एकीकृत बस्तीमा पनि यस्तै प्रकृतिको समस्या छ।
गैरसरकारी संस्था अक्सफामको सहयोगमा एकीकृत बस्ती त बन्यो। तर, त्यहाँका तामाङ समुदायले उचित लाभ उठाउन सकेका छैनन्।
पुसको मध्यतिर सेलाङमा पुग्दा बस्तीका १९ घरमध्ये अधिकांशमा ताला झुण्डिएका थिए। बस्ती अवलोकनकर्ता आउने थाहा पाएपछि निर्माण समितिका अध्यक्ष सोबले तामाङ र केही पुरुष भेटिए। बाँकी बच्चाबच्ची र तिनलाई स्याहार्न बसेका बुढाबुढी मात्रै थिए।
'बस्ती त यहाँ बन्यो, वस्तुभाउ पाल्न मिल्दैन। खेती, किसानी गर्न पर्ने मान्छे, सबै तल फाँटतिर काममा छन्। कति पुरानै थलोमा वस्तुभाउ स्याहार्न पुगेका होलान्,' तामाङ सुनाउँदै थिए।
भुइँचालोपछि ओल्लो र पल्लो डाँडाका स्थानीय मिलेर एकीकृत बस्ती निर्माणमा कस्सिए। परबाट हेर्दा चिटिक्क नजिकबाट पनि ठिक्क परेको तीन कोठे घर बन्यो। आँगनमै पानीको सुविधा, घरसँगै जोडिएको शौचालयले भित्री सहजता ल्यायो तर दैनिकी कामकाज, गाइवस्तु र खेतिपातीका लागि पुरानै थलो जानुपर्ने भयो।
'दुईतिर डाँडामा दुई घर थियो, अहिले घर पो एकै ठाउँमा भयो, खेतिपाती करेसा बारी, गाइवस्तु उतै छन्, नगई सुखै छैन,' तामाङले भने, 'म पनि आज मात्र घरमा बसेको, नत्र यति बेला तल खेततिर हुन्थेँ।'
पुनर्निर्माणसँगै सिन्धुपाल्चोक सबैभन्दा बढी एकीकृत बस्ती निर्माण गर्ने जिल्ला समेत बनेको छ। अहिलेसम्म २३ वटा साना ठूला सामूहिक आवास बनेका छन्। सात बस्ती निर्माण सम्पन्न हुने अन्तिम चरणमा छन्।
गाउँका विभिन्न भेगमा छरिएर बसेका स्थानीयलाई एकीकृत गरी बस्ती बसाएर मात्र नहुने पुनर्निर्माण प्राधिकरणले महशुस गरेको छ।
'एकीकृत बस्ती मागमा आधारित छ। यस्ता बस्ती निर्माणमा जोड दिएका छौं। सामाजिक आर्थिक र सामाजिक पक्ष समेत सम्बोधन हुनेछ,'
प्राधिकरण प्रमुख सुशील ज्ञवालीले एक पत्रकार सम्मेलनमा भने 'यसो हुँदा एकीकृत बस्तीले जीवन पाउनेछ।'
तर प्रत्यक्ष अवलोकन गर्दा एकीकृत बस्तीमा सबलीकरण र जीविकोपार्जनका कार्यक्रम लैजान निकै ढिला भइसकेको देखियो।