केही दिनयता काठमाडौंमा सेतो काग भेटिएको समाचार आएका छन्।
धेरैका लागि काग कालो रङको प्रतीकजस्तै हो। किनकी उनीहरूले देखेका सबै काग काला रङका मात्र हुन्छन्। सेतो काग भेटिँदा मानिसहरू अचम्ममा परेका छन्।
सेतो काग देखिनुमा अचम्म मान्नुपर्ने केही छैन। अल्बनिजमका कारणले यस्तो भएको मान्छेले भनेको सुनेको छु तर काग सेतो भएको अल्बनिजमका कारणले होइन। अल्बनिजमबारे चर्चा गर्नुअघि हाम्रो रङ केले निर्धारण गर्छ भन्ने कुरा गरौं।
संसारभर मानिस र जनावरको छालाको रङमा धेरै भिन्नता रहेको हामी देख्न सक्छौं, कसैको रङ धेरै गाढा हुन्छ भने केहीको धेरै फिक्का।
हाम्रो छालाको एउटा भाग, जसलाई इपिडर्मिस (Epidermis) भनिन्छ त्यहाँ मेलानोसाइट (Melanocytes) नामको कोषले मेलानिन (Melanin) भन्ने रङद्रव्य (Pigment) बनाउँछ।
मेलानिन सामान्यत: दुई प्रकारका हुन्छन्- इउमेलानिन (Eumelanin) (खैरो, कालो रङ) र फियोमेलानिन (Pheomelanin) (रातो-खैरो रङ)।
कोही गाढा रङको मान्छे छ भने उसको शरीरले मुख्य रूपमा इउमेलानिन धेरै मात्रामा उत्पादन गर्छ। र फिक्का रङ हुनेहरूमा फियोमेलानिनको मात्रा धेरै हुन्छ। हाम्रो रङ यही मेलानिनको मात्राले निर्धारण गर्छ।
मानिसका पूर्वजको उत्पत्ति अफ्रिकामा भएको मानिन्छ। उनीहरू भूमध्यरेखा नजिक बस्थे, जहाँ घाम र परावैजनी किरण (Ultraviolet Rays) अत्याधिक मात्रामा हुन्छ। परावैजनी किरणसँगको लगतार अनावरणले (Exposure) कोषहरूमा उत्परिवर्तन ल्याउँछन्। जसले गर्दा क्यान्सरको जोखिम उच्च हुन्छ। त्यो जमानामा अहिले पाइनेजस्तो सनस्क्रिन हुने कुरा भएन। त्यसैले शरीरकै सनस्क्रिनले त्यस्ता परावैजनी किरणबाट सुरक्षा दिएको थियो। त्यो सुरक्षाको काम मेलानिनले गरेको थियो। मेलानिनले कवज जस्तो बनेर शरीरलाई परावैजनी किरणबाट जोगाउँछ।
हजारौं वर्षसम्म अत्याधिक मात्रामा सूर्य र परावैजनी किरणसँगको अनावरणले हाम्रा पूर्वजहरूमा ती किरणसँग लड्न अनुकूलित हुने क्षमता बढाउँदै गयो। त्यसले गर्दा भूमध्यरेखा वरिपरि बस्ने मान्छेहरूमा धेरै गाढा रङ देखिन्छ भने उत्तरी गोलार्द्धमा बस्नेहरू भने फिक्का रङका हुन्छन्।
जब हाम्रा पूर्वज अफ्रिका छोडेर एसिया र युरोपतिर लाग्न थाले, तब रङ बदलिन थाल्यो।
बदलिनु पर्ने जरूरत किन भयो भने धेरै समयसम्म सूर्यको किरण नरहने चिसो ठाउँमा मेलानिन धेरै हुँदा सूर्यको किरणबाट पाउने भिटामिन डीको कमी हुने अवस्था आयो।
हाम्रो शरीरमा भिटामिन डीको उत्पादन हुन सूर्यका किरणको महत्वपूर्ण हात हुन्छ।
यसै त थोरै मात्रामा सूर्य देखिने त्यसमाथि मेलानिनले किरण रोक्ने भएपछि शरीरमा भिटामिन डीको अभाव हुन थाल्यो। मेलानिन बेफाइदाजनक हुन थालेपछि युरोपतिर बस्ने मान्छेमा त्यो बिस्तारै हराउँदै गयो।
पिग्मेन्टेसनलाई ६ वटा जिनले नियन्त्रण गर्छन्। जुन वंशानुगतताले निर्धारण गर्छ। उदाहरणको लागि मेलानोकोर्टिन १ रिसेप्टर (Melanocortin 1 receptor) जिनले इउमेलानिन उत्पादन गर्ने कि फियोमेलानिन भनेर निर्धारण गर्छ। त्यसरी नै केआइटी लाइज्ञान्ड जिन (KIT Ligand Gene) र एगौटी सिग्नलिङ पेप्टाइड (Agouti signaling peptide) जिनले इउमेलानिन उत्पादन नियन्त्रण गर्छ र जुन उत्तरी गोलार्द्धमा स्थानान्तरण भएका हाम्रा पूर्वजमा (प्राकृतिक) छनोटमा परेको पाइएको अनुसन्धानले देखाएको छ।
यसरी जति धेरै मेलानिन शरीरले बनायो त्यति धेरै गाढा रङ हुन्छ र जति कम बनायो त्यति फिक्का।
अब काग किन सेतो भयो भन्नेतिर जाऔं।
माथि भनेजस्तै रङ निर्धारण गर्ने मेलानिनले हो। सोझो गरी सोच्दा सेतो हुनु भनेको मेलानिनको अभाव हुनु भन्ने बुझिन्छ।
मेलानिनको अभाव हुने त्यस्तो अवस्थालाई अल्बनिजम भनिन्छ।
स्तनधारी जनावर जो याल्बिनो छन् तिनीहरू सेतोमात्र हुँदैनन् तिनीहरूको आँखा पनि फिक्का, रातो वा गुलाबी रङको हुन्छ।
त्यतिमात्र नभएर उनीहरूको आँखामा रहेको पिग्मेन्टमा पनि कमी भएकोले उनीहरूको दृष्टि पनि कमजोर हुन्छ। त्यही कारण याल्बिनो भएका चरा वा अरू जनावर धेरै समय बाँच्न सक्दैनन्। धेरै समय नबाँच्ने भएकोले तिनीहरू बिरलै देखिन्छन् र कतिलाई यो अचम्म लाग्छ।
तर यो अचम्म मान्न पर्ने प्रक्रिया होइन।
अल्बनिजम विभिन्न किसिमको हुन्छ, जुन उत्परिवर्तनको प्रकार र आनुवंशिक उत्तराधिकारले निर्धारण गर्छ। सबैभन्दा साधारण प्रकारको अल्बनिजमलाई ओकुलोकिउटेनियस अल्बनिजम (ओसीए) (Oculocutaneous albinism) भनिन्छ, जुन विभिन्न सात प्रकार (ओसिए १ देखि ओसिए ७, OCA 1- OCA7) का जिनहरूले निर्धारण गर्छ।
यदि आमाबुवा दुबैबाट परिवर्तित जिन पाएको खन्डमा अल्बनिजम देखिन्छ।
अहिले समाचार बनेको कागको आँखा र चुच्चो भने कालै देखिन्छ, त्यसैले त्यो अल्बनिजम नभएर लिउसिज्म (Leucism) हो।
जसमा पूर्ण रूपमा पिग्मेन्टेसन नहराएर केही मात्रामा मात्र हराउँछ। चराको लिउसिज्ममा भने आनुवंशिक उत्परिवर्तनको कारण चराको पखेटामा अलि अलि वा पूर्ण रूपमा पिग्मेन्ट्स हुन्न। तर आँखा, चुच्चो वा खुट्टातिर भने पिग्मेन्ट हुन्छ। याल्बिनो काग बिरलै पाइन्छ भने लिउसिस्टिक काग त्यस्तो विरल होइन।