काठमाडौं, इन्द्रचोकमा आमा मिश्रीदेवी र बाबु बेखानारायण कपालीबाट जन्मिएकी हुन् मिठाइदेवी।
यो नाम दलित महिला आन्दोलनमा अग्रणी नेताको रूपमा लिइन्छ। आफ्ना बुबा र ठूलोबुबाले छुवाछुतविरूद्ध चलाएको आन्दोलनमा मिठाइदेवी सक्रियरूपमा सहभागी थिइन्। उनको सक्रियताले २०१२ सालमा 'महिला परिगणित संघ' खोलियो।
यो 'परिगणित संघ' भनेको के हो? ८३ वर्षीया मिठाइदेवीसँग मैले कुराकानी यहीँबाट सुरू गरेँ।
'परिगणित संघ भनेको पर गनिएको। नजिक नभएकाहरू,' मिठाइदेवीले जवाफ दिइन्। अर्थ केलाउँदा 'दलित'को पर्यायवाची शब्दका रूपमा यही नाममा संस्था खोलिएको रहेछ।
१९९३ साल फागुनमा जन्मिएकी मिठाइदेवी १९ वर्षमै संस्थाकी अध्यक्ष हुनुले उनी सक्रिय र शक्तिशाली नेता थिइन् भन्नु गलत हुँदैन।
उनी भन्छिन्, 'बुबा र ठूलोबुबाहरूसँग हिँड्दाहिँड्दै आफैं महिला संस्था खोलेँ।'
संस्थापछाडिको कथा उनले सुनाइन्।
काठमाडौंमा २००४ सालदेखि 'टेलर युनियन' सक्रिय थियो। यो लुगा सिलाउनेहरूको पेसागत संगठन थियो। मिठाइदेवीका परिवार 'कपाली'। उनीहरूको पनि मुख्य पेसा लुगा सिउने नै थियो। यही कारण उनीहरू छुवाछुत र भेदभावका चपेटामा पर्थे। मिठाइदेवीका अनुसार उनका परिवारका सबै सदस्य युनियनमा आवद्ध थिए। त्यसैले उनी पनि छुवाछुतविरूद्ध अभियानमा सुरूआती समयदेखि नै लागिन्।
प्रजातन्त्रपछि धरानमा जदुवीर विश्वकर्माको नेतृत्वमा 'निम्न समाज सुधार संघ' स्थापना भयो। यसले काठमाडाैंको यही टेलर युनियनसँग एकता गरेर २००८ सालमा 'जाततोड मण्डल' स्थापना गर्यो। यसैको प्रभाव फैलिँदै मिठाइदेवीको परिगणित संघ जन्मियो।
नेपालमा देवशमशेर प्रधानमन्त्री हुँदा काठमाडौंमा ५० वटा कन्या पाठशाला खोल्ने योजना बनाएका थिए भनिन्छ। १९९० सालमा चन्द्रकान्तादेवी मल्लले मखनमा कन्या पाठशाला खोल्ने स्वीकृति पाएपछि विस्तारै महिला शिक्षा र अधिकारका कुरा उठ्न थालेका बताइन्छ। त्यो बेला मंगलादेवी सिंह, सहाना प्रधान, स्नेहलता, रेवन्तकुमारी आचार्यलगायत नेता सक्रिय थिए। उनीहरूले महिला हकहितका कुरा उठाउन नेपाल महिला संघ र संगठन स्थापना गरिसकेका थिए।
मिठाइदेवीको 'परिगणित संघ'को केही सहकार्य थियो कि?
उनी भन्छिन्, 'उहाँहरूलाई चिन्थेँ तर त्यति नजिकको सम्बन्ध थिएन। पछि मात्र आनाजानी भएको हो उहाँहरूसँग।'
उनका अनुसार 'नजिक नभएकाहरू' को संघमा ११ जना दलित महिला थिए। मिठाइदेवी सभापति र जुनु सुनार सचिव थिए। संस्था खोलेपछि उनीहरूले 'सहभोज' गरेर टंकप्रसाद आचार्य (पूर्वमन्त्री) लाई बोलाएका रहेछन्। सहभोज भनेको सबै जातका मान्छे मिलेर खाने भोज रहेछ। पशुपतिछेउ वनकालीमा उक्त भोज भएको मिठाइदेवीलाई याद छ।
तर भोजमा 'उपल्लो जात'हरू आएनन्।
'टंकप्रसादजी आउनुभएन। माथिल्लो जातकाहरूले हामीलाई 'तिमीहरू तल्लो जातकाहरू पहिले मिलेर आऊ, अनि मात्र हामी स्वीकर गर्छौं' भन्थे। खासमा तल्लो जात पनि बाँडिएका थिए। अनि हामीले पोडे, च्यामेदेखि सबै जातका मान्छे राखेर संगठन बनायौं,' उनले सम्झिइन्, 'सबै तल्लो भनिने जात एकठाउँमा भएपछि त संगठन बलियो भयो। पाटन र भक्तपुरमा पनि संगठन विस्तार भयो।'
'जाततोड मण्डल'ले सिद्धीबहादुर खड्गीको संयोजकत्वमा 'पशुपति मन्दिर प्रवेश'का लागि गरेको आन्दोलन पनि महत्वपूर्ण मानिन्छ। त्यति बेलासम्म पशुपतिनाथमा बाहुन/क्षत्रीले मात्रै प्रवेश पाउँथे। 'अछुतका लागि प्रवेश निषेध' लेखिएको बोर्ड थियो। आन्दोलन चर्कियो। लाठी चार्ज भयो। सात सय ५० जना पक्राउ परे। त्यति बेला टंकप्रसाद आचार्य गृहमन्त्री थिए। मिठाइदेवीका अनुसार उक्त आन्दोलनमा उनको परिवार पनि संलग्न थियो। तर मिठाइदेवी आफैं भने भारतमा सुढेनी तालिम लिन गएकी थिइन्।
'मेरो बहिनीलगायत थुप्रो महिलाले मन्दिर प्रवेश कार्यक्रममा भाग लिएका थिए,' उनी सम्झिन्छिन्।
आन्दोलन सफलै मानियो। तर पनि मन्दिर प्रवेश सहज थिएन रे। २०१३ सालमा भारतीय दलित आन्दोलनका अभियन्ता डा. भिमराव अम्वेडकर नेपाल आउँदाको उदाहरण दिन्छिन् उनी। भिमरावलाई 'सार्की' भनेर पशुपतिनाथ प्रवेश दिइएन। अलिअलि बिरामी भएका भीमरावलाई तामदान (डोली जस्तै)मा बोकेर काठमाडौंका दलित वस्ती डुलाइएको उनले बताइन्।
'मन्दिरमा कोही छिर्नै नपाउने, कसैलाई भने दलित भनेर चिने पनि केही भन्थेनन्। संघर्षका बेला मेरो बहिनी भित्र गएको थियो। उसलाई बाहुनले एकदमै छिटोछिटो प्रसाद दिएको थियो। पछि अरू दलितलाई पनि त्यस्तै गर्थे। मन्दिरबाट छिटो भगाउन प्रसाद चाँडै दिने गर्थे,' उनले सम्झिइन्।
यस्तै हेपिएका घटनाका कारण मिठाइदेवीको दलित आन्दोलनप्रतिको झुकाव शसक्त हुँदै गएको रहेछ।
मिठाइदेवी आफूहरूको पुर्ख्यौली पेसा सम्झिन्छिन्।
उनको हजुरबुबाको असनभन्दा अलि पर कुनाटोल भन्ने ठाउँमा लुगा सिलाउने 'गोरखमान कम्पनी' थियो रे। त्यहाँ तत्कालीन सेनालगायत अन्य व्यक्तिहरूको भिड लाग्थ्यो रे।
'बाजेको कम्पनीमा थुप्रै कामदार थिए। उहाँ कोटपाइन्ट सिउनु हुन्थ्यो। आमा पनि लुगा सिउनुहुन्थ्यो। आमाले असाध्यै राम्रो दौरासुरूवाल सिउने भनेर धेरै मान्छे आउँथे,' चार जना दिदीबहिनी र एउटा भाइको परिवारमध्ये अहिले मिठाइदेवी र उनकी एक बहिनी मात्रै बाँकी छन्। उनको बाजेको कम्पनी रहेको घर अझै पनि कुनाटोलमा ठडिएकै छ।
मिठाइदेवीले पढ्ने अवसर पाएकी थिइन्। बाह्र वर्षको उमेरमा उनी शान्ति निकुञ्ज भर्ना भएको बताउँछिन्।
'म त पहिला देखिनै स्कुल जान्थेँ। पहिले शान्ति निकुञ्ज, पछि कन्या मन्दिर गएँ।'
उनका अनुसार स्कुलमा 'पानी नछो' भन्नेबाहेक अरू भेदभाव भएको सम्झना छैन। उसो त त्यति बेला स्कुलहरूमा अहिलेजस्तो क्यान्टिन वा खाना खाने ठाउँ पनि हुँदैनथ्यो। महिलाहरू चिया पसल या अन्यत्र गएर खाने चलन पनि खासै थिएन।
'पशुपति मन्दिर प्रवेश' आन्दोलन चर्किँदा उनी भारतमा थिइन्। नौ कक्षा पढ्दै गर्दा परोपकार संस्थाका संस्थापक दयावीर सिंह कंसाकारले भारतको इलाहावादस्थित 'कमला नेहरू अस्पताल'मा एक वर्षे सुढेनी तालिम लिन पठाएको उनी बताउँछिन्।
तालिम लिएर फर्किएपछि परोपकार संस्थामै स्वयंसेविकाका रूपमा काम गर्दै पढ्न थालिन्। प्रौढ शिक्षा निकेतनबाट २०१५ सालमा 'म्याट्रिक' पास गरिन्। कपाली परिवारकी छोरीले त्यति धेरै पढ्नु चानचुने कुरो थिएन। उनलाई सम्झना छ- त्यो खुसियाली मनाउन कपाली परिवारले दक्षिणकालीमा भोज गरेको, परिवारका थुप्रै मानिसहरूले सगुन र आशीर्वाद दिएको।
उनले पद्मकन्या कलेजबाट आइ.ए. पास गरिन्। बि.ए.भने पूरा नगरी छाडिदिइन्।
नौ-दसमै पढ्दा उनको भेट धरानका टि.आर. विश्वकर्मासँग भएको थियो। टि.आर. र उनका दाजु हिरालाल विश्वकर्मा मिठाइदेवीको ठूलोबुबाको घर भोटाहिटीमा बस्दा रहेछन्। भेटघाट बाक्लियो। करिब आठ वर्षसम्म एकअर्कालाई बुझ्ने र चिन्ने प्रयासमा लाग्दै गर्दा उनीहरू एकअर्काको मुटुको धड्कन बढाउने गरी समीप भए।
तर उनीहरूको प्रेम मिठाइदेवीको बुबाले स्वीकारेनन्। समाजले हेर्ने दृष्टिकोणमा दुवै 'दलित' थिए। तर दलित समाजमा उनीहरू दुईको बिहे हुन मुश्किल थियो। उनीहरू दलितभित्रकै उपल्लो र तल्लो जातमा परे। समाजमा त जातको कुनै स्थान हुनुहुँदैन भने, माया झांगिन जातको बारले कहाँ छेक्छ र!
टि.आर. बिहेको चाँजो मिलाउन खुसुक्क धरान हिँडे। त्यसको केही दिनपछि उनका साथीहरूले मिठाइदेवीलाई जहाजबाट विराटनगर पठाइदिए। विराटनगरमा उनलाई धरानका दलित नेता लिन आएका थिए। धरान पुगेर टि.आर. र मिठाइदेवीले बिहे गरे। बिहे दिनको रोमाञ्चमा बाजा र भोजभतेर परेन। त्यो बेला मिठाइदेवी २८ वर्ष थिइन्। श्रीमान उनीभन्दा २/३ वर्ष जेठा। टि.आर 'मातृभूमि' पत्रिकामा काम गर्थे।
त्यो जमानामा, परिवारले नमानेको केटासँग बिहे गर्दा तनाव भएन?
'तनाव त्यति साह्रो भएन। खासमा आमाले त रूचाउनुभएको थियो, बाले हो नमान्नुभएको,' उनले सम्झिइन्, 'उता गएर जेठाजुको घरमा बिहे गर्यौं। केही समस्या भएन। राम्रैसँग भित्र्याए।'
माइतीले भने धेरै समयसम्म उनीहरूलाई बोलाएनन्।
'बाले त 'कामीसँग भागी, म बोलाउँदिन' भन्नुहुन्थ्यो। पछि म गर्भवती भएको थाहा पाएर आमाले भित्र्याउँछु भनेर बोलाउनुभो। बाले नमाने पनि आमाले नै जित्नु भयो। टिकाटालो भने गरिएन।'
माइतीले बोलाएपछि नजाने कुरै भएन। पछि श्रीमानलाई पनि बोलाए। भेटघाट गरे। मायाले सम्बन्धको तितोपनामा कम गर्यो। मिठाइदेवी श्रीमानसँगै खिचापोखरीमा डेरा लिएर बसिन्। २०२१ सालमा जेठी छोरी प्रेरणा जन्मिइन्। तीन वर्षपछि छोरा कसमस विश्वकर्मा (पत्रकार) र २०३१ सालमा छोरी विम्झना जन्मिए।
परिवार सम्हाल्न लागे पनि मिठाइदेवीले दलितहरूका लागि काम गर्न छाडिनन्। पञ्चायतकालीन युवक र महिला संगठनमा स्वयंसेवीका रुपमा काम गरिरहिन्।
'राजा महेन्द्रको जन्मोत्सवमा युवक संगठनको मुखपत्रमा कथा अंक प्रकाशित गर्यो। त्यसमा कथा संकलन गर्ने काम मेरो जिम्मामा पर्यो,' उनी आफ्ना काम सुनाउँछिन्।
तलब पाउने काम पनि गर्नुभयो?
'महिला संगठनमा गरेँ नि। संगठनमा एउटा सामाजिक ब्रान्च थियो, त्यहाँ महिलाहरू आउँथे। उनीहरूको कुरा सुन्ने, समस्या सुल्झाउन पहल गर्ने, झगडा भएको भए मिलाइदिने जस्ता काम गर्थ्यौं। त्यति बेलाको महिला हिंसा के सम्झनु। लोग्नेले टाउको फुटाइदिने, कुट्ने गर्थे। भन्न आयो भने फेरि कुट्थे,' उनी महिलाहरूका दुःख सम्झिन्छिन्।
मिठाइदेवी देशको अवस्थाबारे निकै चासो राख्थिन्, त्यसमा पनि महिलाहरूको विषय विशेष हुन्थ्यो। उनले १५-१६ सालमा पहिलोपल्ट महिलाले भाषण गरेको सुनेकी थिइन्। भाषण गर्ने पूण्यप्रभादेवी ढुंगाना भएको उनले बताइन्।
२०१९, भदौ १ गते राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरी जातीय छुवाछुत हटाएका थिए। तर अहिले पनि महिला हिंसा र दलितमाथि हुने भेदभावमा उल्लेख्य परिवर्तन आइनसकेको महशुस हुन्छ।
मिठाइदेवी आफ्ना छोरा कसमस २ वर्ष नहुँदै संगठनमा जागिर खान थालिसकेकी थिइन्। अफिस डिल्लीबजारमा थियो। डेरा नाचघरमा। बालख छोरा छाडेर हिँड्न कोही थिएन। त्यसैले उनले धरानबाट सासूलाई बोलाइन्।
'दिनभर सासूले नै छोरा हेरिदिनुहुन्थ्यो,' उनी भन्छिन्, 'त्यसरी मिलाउँदै मैले संगठनमा १२ वर्ष जति काम गरेँ।'
उनलाई जीवनमै सबभन्दा खुसी लागेको क्षण के हो भनेर सोध्दा भन्छिन्, 'छोरा कसमस जन्मिँदा।'
उनी हाल कसमस र परिवारसँगै बुढानिलकण्ठमा बस्छिन्। उनकी एउटी छोरीले बाहुनसँग बिहे गरेकी छन् भने अर्कीले मुश्लिमसँग।
माया झांगिन जातको बारले कहाँ छेक्न सक्छ र!