हजुरआमाका कथा
'मेरो नाम मगन रघुवंशी,' ८७ वर्षीया हजुरआमाले भनिन्, 'कसैले मंगली दिदी पनि भन्छन्।'
बिक्रम सम्वत् १९८९ मा असनको बालकुमारीमा जन्मिएकी मगन पन्नालाल कायस्थ र ललितादेवीकी छोरी हुन्। मगन उनीहरूको परिवारकी पहिलो छोरी/नातिनी रहिछन्।
'घरमा पहिलो नातिनी जन्मेपछि खुसी भएर हजुरबा-बाहरूले मेरो नाम मगन राख्या होला,' उनले हाँस्दै भनिन्।
उनीहरू सात दिदीबहिनी र चार दाजुभाइ थिए। हाल छ जनामात्रै बाँकी छन्।
मगन स्कुल जान पाइनन्। त्यतिबेला फाट्टफुट्ट स्कुल खुल्न थालिसकेका थिए। छोरीहरू बाहिर निस्कन नहुने चलन थियो। कोहीकोही छोरीहरू मात्र स्कुल जान थालेका थिए।
मगन ती 'कोहीकोही' मा परिनन्।
'इही गरेपछि छोरीहरूले धोती लगाएर बस्नुपर्थ्यो,' मगनले भनिन्, 'त्यसपछि बाहिर निस्कँदा राम्रो मान्दैन थिए।'
'इही'मा छोरीहरूलाई गुन्यूचोलो दिइन्थ्यो। यसमा उनीहरूको 'सुवर्ण कुमारसँग बिहे' पनि हुन्थ्योथे। मगनको परिवारको संस्कारअनुसार ७ वर्ष कटेपछि बेल (फल) लाई साक्षी राखेर छोरीहरूको 'सुवर्ण कुमार'सँग बिहे गरिदिनु पर्थ्यो। छोरीहरू महिनावारी हुनुअघि नै गरिने यो बिहे भव्य हुने मगनले बताइन्। विधिमा 'कन्यादान' विशेष हुन्थ्यो।
'बुबाको काखमा छोरीलाई राखेर आमाले जलधारा दिएर कन्यादान हुन्थ्यो,' उनले भनिन्।
आमाकै कारण पढलेख गर्न जानेको र सानैमा बिहे नभएको मगन बताउँछिन्। तस्बिरः नारायण महर्जन/सेतोपाटीकन्यादानको अघिल्लो दिन पूर्वाङ्ग गरिन्थ्यो। जग्गे बनाइन्थ्यो। छोरीलाई दूध र नुन नमिसाइएका 'चोखो' खानेकुरा खुवाइन्थ्यो। भोलिपल्ट कन्यादान हुन्थ्यो। कन्यापछि 'थ्याबु' हुन्थ्यो।
'थ्याबु भनेको ८४ व्यञ्जनको भोज,' उनले भनिन्, 'ठूलो थालमा ८४ व्यञ्जन राखेर खुवाइन्थ्यो। त्यसमा यो भूमिमा फलेका जति कुरा हुन्थे।'
उनका अनुसार काठमाडौं उपत्यकामा फल्ने अधिकांश अन्नबाली तथा तरकारीका परिकार त्यसमा हुन्थ्यो।
यस्तो बिहे देवालीको दिन पारेर गरिन्थ्यो। देवालीका दिन कुल देवथानमा गई 'बेहुली' लाई सिन्दुर लगाइन्थ्यो। पूजा गरिन्थ्यो।
'हाम्रो माइतीको पुर्खौली घर भक्तपुर भएकाले त्यहीँ गएर सिन्दूर हालेको,' मगनले भनिन्, 'अनि इहीको गुन्यूचोलो त्यहाँ चढाएर ल्याएपछि लाउन पाइन्थ्यो। त्यसरी विधि नपुर्याएसम्म लाउन पाइन्न थियो।'
मगनको 'सुवर्ण कुमार' सँग बिहे हुँदा र गुन्यूचोलो पाउँदा उनी ७ वर्षकी थिइन्। गुन्यूचोलो लगाएर सम्हाल्दै हिँड्न सक्थिनन्।
'अनि मैले १२ वर्ष पुगेपछि मात्रै लगाएँ,' त्योभन्दा अघि भोटो सुरुवाल लगाउँथ्यौं।'
यसरी गुन्यूचोलो गरिसकेपछि घरबाहिर जान नपाइने चलन भएको उनले सुनाइन्।
'केटाहरू र अरू केही केटीहरू स्कुल गएको हेरिरहन्थेँ। हामी सारी लगाइसकेकाहरू (इही गरेका) लाई तरुनी भइसकेको मानिन्थ्यो। घरबाहिर जान हुँदैन थियो।'
मगनले स्कुले शिक्षा नपाए पनि निरक्षर भने भइनन्। यसमा उनकी आमा ललितादेवीको हात छ। ललितादेवी पढेलेखेकी थिइन्। उनका बुबाले घरमै मास्टर राखेर पढाएका रहेछन्।
त्यही चेतनाले ललितादेवीले छोरी मगनलाई पनि घरमै मास्टर राखेर ८ कक्षासम्मको पाठ्यक्रम पढाएकी रहिछन्। आमा ललितादेवीकै कारण आफूले त्यति पढ्न पाएको र बालविवाह पनि नभएको मगनले बताइन्।
मगन र उनका श्रीमान गोविन्द रघुवंशी। तस्बिरः मगनको पारिवारिक संकलन
आफ्नो परिवारका साथमा मगन। तस्बिरः मगनको पारिवारिक संकलन'बाले त मेरो बिहे गर्ने भनिरहनुहुन्थ्यो। आमाले मान्दै मान्नुभएन। मेरो छोरीलाई दुखः हुन्छ, अहिले बिहे गर्न हुँदैन भन्नुभयो। पढेको भनेपछि त्यस्तो हुन्छ हइ,' मगनले आमाको देन सम्झिँदै भनिन्, 'हाम्रो आमा एकदमै चलाख हुनुहुन्थ्यो। आफूले सानैमा बच्चा पाएर दुःख पाएँ, छोरीलाई त्यही दुःख नदिने भनेर मान्दै मान्नभएन।'
अनि त्योबेलाको जमानामा बाले मान्नुभयो त?
'आमाले भनेपछि मानिहाल्यो नि,' उनले भनिन्, 'हाम्रा सबै छोरीहरू राम्रैराम्रा छ। सबैले मनपराउँछ। चिन्ता पर्दैन। चाँडो बिहे नगर्ने भन्नुभयो।'
२५/२६ वर्षकी भएपछि मगनको बिहे भयो। सरकारी जागिरे गोविन्द रघुवंशीसँग।
परिपक्व भइसकेर बिहे गरेको भए पनि मगनका पालामा घरबाट महिलाहरू एक्लै बाहिर जान निषेध थियो। कतिसम्म भने उनको श्रीमानको घर र माइत नजिकै थियो। तै पनि एक्लै आउजाउ गर्न हुँदैन थियो। छोराछोरी जन्मिसकेपछि उनलाई घर/माइती मात्रै होइन, कतै पनि एक्लै हिँडेको सम्झना छैन। माइती जानुछ भने माइतीतिरबाट कोही मान्छे लिन पठाउँथे, श्रीमानको घर फर्कँदा पनि कोही न कोही साथी हुनै पर्थ्यो।
'धेरै एक्लै हिँड्न नपाएकाले होला, अहिले पनि यहाँ कतै जानुपरे अलमलिन्छु,' उनले भनिन्।
उनी काठमाडौं बाहिर पनि गएर बसेकी भने छन्। त्यतिबेला उनका श्रीमान गोविन्द 'सुब्बा' पदमा जागिरे थिए। बिहेपछि बढुवा भयो। सहायक अञ्चलाधीश, सिडिओ, भन्सार र मालपोतका हाकिम, सूचना विभागका निर्देशक हुँदै गए। मगन गोविन्दसँगै कहिले झापा, कहिले जनकपुर, राजविराज, जलेश्वर लगायत ठाउँ पुगिन्।
त्यसरी गएका ठाउँमा उनलाई 'हाकिमकी श्रीमती' भन्थे। तर उनका 'हाकिम' श्रीमानको कामकाजबारे आफूले कहिल्यै चासो नराखेको उनी बताउँछिन्।
'श्रीमान जागिर गइहाल्ने। अनि अरू जागिरेका श्रीमतीहरू हामी भेला भएर गफ गर्थ्यौं। घुम्न जान्थ्यौं। कुरूसले रुमालहरू बुन्थ्यौं,' उनले भनिन्, 'मलाई जीन्दगीमा दुःख भएन। न माइतमा, न घरमा।'
जेठी बुहारी र नातिसँग मगन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
मगन, उनका श्रीमान गोविन्द र छोराछोरीसँग। तस्बिरः मगनको पारिवारिक संकलनआर्थिक अभाव नभएको घर-परिवार भएकाले कामको भार नभएको मगनले सुनाइन्। घरमा सासू, मगन र उनका श्रीमान मात्रै थिए। भात पकाउने, अरू काम गर्ने कामदार थिए। उनका श्रीमानका कोही दिदीबहिनी थिएनन्। एक जना जेठाजुको पनि बिहे नभई निधन भएको रहेछ। त्यसैले सासूले आफूलाई धेरै माया गरेर राखेको उनी बताउँछिन्।
'सासूले माया गर्नुहुन्थ्यो,' उनले भनिन्, 'मेरो जीवन सुखमय बितेको छ।'
घरकी पहिलो नातिनी, बुबाआमाकी प्यारी छोरी र सासूकी मायालु बुहारी हुँदै उनी आफू आमा हुँदा झनै सन्तोष भएको बताउँछिन्। उनका दुई छोरा अनिल, अरुण र एक छोरी अञ्जली श्रेष्ठ छन्।
अहिले धापाखेल बस्छिन्। घरको कम्पाउन्ड वरपर 'मर्निङ वक' गर्छिन्। फिल्म, टेलिभिजनमा आउने सिरियल र युट्युबमा भिडियोहरू हेर्न उनलाई खुबै रमाइलो लाग्छ। हरेक दिन समाचार हेर्छिन्। राजनीतिका बारेमा 'अपडेट' बस्छिन्।
देशको वर्तमान अवस्थाबारे निष्कर्ष दिन पछि पर्दिनन्।
भन्छिन्, 'सरकारले के काम गर्या छ र? एउटा राष्ट्रपति आउँछ, भाषण गर्छ। एकचोटि त्यति गरेपछि पैसा पाक्यो। यत्रोयत्रो कार चढेर हिँडेको छ, रमाइलो गरेर। अरू केही छैन। जताततै भत्केको र बिग्रेको मात्रै देखिन्छ। राजनीतिज्ञ पनि कोही राम्रो छैन।'
८७ वर्षीया मगन राजनीतिमा मात्र होइन, आफ्नो स्याहार-श्रृंगारमा पनि उत्तिकै 'अपडेट' देखिन्छिन्।
छोटो कपाल सर्ल्क्क पारेर उनी टिसर्ट र पाइन्टमा सजिएकी थिइन्।
छोरीको इही गरेर गुन्यूचोली दिएपछि घरबाहिर निस्कन दिनुहुन्न भन्ने जमानामा जन्मे-हुर्केकी मगनलाई सोधेँ, 'कहिलेदेखि लगाउन थाल्नुभयो टिसर्ट-पाइन्ट?'
८७ वर्षीया मगन भन्छिन्, 'आजकाल पाइन्ट-टिसर्ट नै सजिलो लाग्छ। यता वरपर पाइन्ट लगाउने आमा भन्छन्।' तस्बिरः नारायण महर्जन/सेतोपाटी'छोरा बोस्निया गएपछि मलाई बोलाएको थियो। उसले 'आमा यता सारी लाउने मान्छे हुँदैनन्, सारी लगाएर नआउनू है' भन्यो। एकैपटक उता गएर लाउन लाज लाग्छ भनेर, यहीँ लगाएर घर वरिपरि हिँडेँ,' उनले आफ्नो पहिरन शैली फेरिएको क्षण सम्झिँदै भनिन्, 'यो लुगाले त झन् धेरै छोप्नेरहेछ, कसरी लाज हुन्छ भन्ने सोचेँ। पछि कपाल पनि सजिलो हुन्छ भनेर छोटो बनाएँ।'
यो करिब १२ वर्ष अगाडिको कुरा हो। अचेल भोजभतेर र पूजाआजामा मात्र सारी लगाउने उनी बताउँछिन्।
'सुरुमा त कसैले केही भन्ला भन्ने डर लाग्यो। विदेशबाट फर्केपछि भने सारी लाउनै मनलागेन। यही लुगा सजिलो,' उनले आफूले लगाएको पाइन्ट र टप्स देखाउँदै भनिन्, 'अहिले त यहाँ वरपरकाहरूले 'पाइन्ट लगाउने आमा' भन्छन्।'
पहिरनमा जति सहजै उनले परिवर्तन आत्मसात गरिन्, केही बानी भने बदल्न गाह्रो भएको छ।
मैले भेट्दा उनका खुट्टा रातै थिए। अलः पोतिएका खुट्टा देखाउँदै उनले भनिन्, 'नङ काट्ने परम्परागत शैली परिवर्तन गर्न सकिनँ।'
मगनको दोस्रोपटक जंको गर्दाताका परिवारसँग। तस्बिरः मगनको पारिवारिक संकलन
उनका अनुसार काठमाडौं उपत्यकामा पहिले 'नङिनी'हरूले नङ काटिदिने चलन थियो। हराउँदै गएको यो पेशा अहिले पनि केहीले धान्दै आएका छन्। उनीहरूले हातखुट्टाका नङ काटिदिएर, सरसफाइ गरेर, अलः (रातो रङ) दलिदिन्छन्।
'बिहेपछिदेखि नै म र मेरो सासू नङिनीसँग नङ काट्थ्यौं,' उनले भनिन्, 'श्रीमानसँग राजविराज गएका बेला नङ काट्न समस्या भयो। सधैं नङिनी नभेटिने भएपछि ३० पैसामा 'छलँचा' (नङिनीहरूले नङ काट्ने प्रयोग गर्ने फलामको साधन) किनेँ। त्यही छलँचाले म सासूको नङ काट्ने गर्थें।'
मगनलाई त्यही छलँचाले नक काट्ने बानी परेको थियो। तर अस्ट्रेलिया बस्ने छोरा अरूणकहाँ जाँदा उतै हराएछ।
'४०/४५ वर्ष अगाडि किनेको छलँचा हरायो,' उनले भनिन्, 'नङ काट्न नपाएर कस्तो अप्ठ्यारो भयो।'
छलँचा हराएपछि उनलाई समस्यै परेछ। छोराले नेलकटरले काटिदिने कोशिस गरे। मगनको चित्त बुझेन।
'छोरा छलँचा खोज्न गएको थियो, कुकुरको नङ काट्ने ल्याएर आएछ। उसले छलँचा भनेको बुझ्दैन थियो,' उनले हाँस्दै भनिन्।
अस्ट्रेलियाबाट फर्किने बित्तिकै मगनले नङिनीलाई फोन गरेर बोलाइछन्। पाटनबाट आउने रहिछन्।
अचेल भने महँगी बढेकाले नङिनीसँग नङ काट्न महँगो पर्न थालेको उनले बताइन्।
'पहिला दुई पैसामा काट्थ्यौं। पछि ५ पैसा, २० पैसा हुँदै एक मोहोरसम्म थियो। अब हिजो यो काट्दा दुई सय रूपैयाँ दिएको, कम भयो भन्दै थियो,' उनले भर्खरै काटेका नङ देखाउँदै भनिन्।
८७ वर्षीया मगन भन्छिन्, 'मलाई जीवनमा सुख भयो।' तस्बिरः नारायण महर्जन/सेतोपाटी