हजुरआमाका कथा श्रृंखला
जब हाम्रा हजुरआमाहरू सानै थिए। उनीहरू आफ्ना आमाबाका घरमा झुम्राका पुतली बनाएर तिनको बिहे गरिदिन्थे। खेल-खेलमै सायद उनीहरू 'जीवनको एउटै लक्ष्य बिहे' र 'कर्मघर' बारे सिक्दै हुर्किन्थे। हुर्किन्थे पनि कसरी भन्नु, सिँगान राम्ररी पुछ्न नजान्दै, आँगनमा बजेको दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको धूनसँगै आफ्नो जन्मघरबाट बिदा दिइएको पत्तो पाउँथेनन्।
उनीहरू 'कर्मघर' पुग्थे। 'जन्मघर' मा आङमा घाम खसुन्जेल सुत्न पाउने दिनहरू एकाएक सपना भइदिन्थे।
'ए दुलही उठ्!' अर्धनिद्रामै उठ्थिन् उनी पनि।
गाग्री हालेको डोको पिठ्यूँमा बोकेर घरबाट निकै परको पँधेरो पुग्थिन्। नुहाई-धुवाई गरेर सकीनसकी गाग्रीभरि पानी डोकोमा राख्थिन्। साथीसंगीलाई पछाडिबाट घचेट्दै बोकाइदिन सहयोग माग्थिन्। निधारमा नाम्लो अचेट्थिन्। आएर घर-दैलो लिप्थिन्। वस्तुभाउलाई कुँडो पकाउँथिन्, खुवाउँथिन्। अनि घरका मान्छेका लागि चूल्हो-चपेटो।
मात्र ९ वर्षमा घरका कामको जिम्मेवारी आफ्ना थाप्लामा बोक्ने यी हजुरआमा हुन् रूद्रकुमारी भूर्तेल।
कसैले 'तँ सानी छेस्, यो गर्न सक्दिनस्,' भनेर दया देखाउँथेन। उल्टो बुहार्तन खप्न नसक्दा 'फलानाकी छोरी त कामै नलाग्ने रैछे' भन्ने सुन्नुपर्थ्यो। त्यो भनेको आफ्नो र माइतीकै 'इज्जत जाने' कुरा हुन्थ्यो।
रूद्रकुमारी बिक्रम सम्वत् १९८६ साउन २७ गते भोजपुरको दिङ्लामा जन्मिएकी हुन्। नौ वर्ष थिइन्। आफूभन्दा दुई वर्ष जेठा रामप्रसाद भूर्तेलसँग बिहे भयो।
बाख्रा चराउँदै, गट्टा-पुतली खेल्दै रमाइरहेकी रूद्रकुमारी बेहुली बनिन्। घर-माइती नजिक थियो। सासू-ससुरा धनगढी गएका रहेछन्। बूढी सासूले भित्र्याइन्।
'बिहे गर्दा हाम्रो घर थिएन। कान्छा ससुराको घरमा भित्र्याएको,' रूद्रकुमारीले मसँगको भेटमा भनिन्।
बिहेपछि उनी एक वर्ष माइतै बसिन्।
'वर्ष दिन नहुँदै साइत गर्नुपर्छ, केके भनेर घर फर्किएको। त्यो एक वर्ष माइतमा पनि सधैं भात पकाउनुपर्थ्यो। बाले 'भात त छोरीले पकाएको मीठो' भन्नुहुन्थ्यो,' उनले सुनाइन्, 'घर गरी खान सिकाएको होला। माइतबाट फर्केपछि घरमा ठूली बुहारी भएर गइयो। जे अह्रायो थप थप मान्नुपरिहाल्यो।'
कामको भार छँदै थियो, आधारातमै उठ्नुपर्दा भने बढो समस्या हुने रहेछ उनलाई। थाकेको जिउलाई राम्ररी सुताउन नपाउँदा उनको मन भारी हुन्थ्यो। भागेर माइत जाऊँ लाग्थ्यो।
भनिन्, 'तर जे भए पनि उपाय थेन। माइतीले 'भाग्ने सोच आए बरू अरुण नदीमा हाम्फाल्नू' भनेका थिए। अनि जति नै दुःख भए पनि, माइती नजिकै भए पनि कहीँ गइएन। खेपेरै बसियो।'
उनका श्रीमान रामप्रसाद भने मावलीमा बस्ने रहेछन्। पोखरे, भोजपुरमा। बिहेपछि पनि मामाले उतै लगे। त्यतैबाट बनारस पढ्न गए। झन्डै १० वर्षपछि बल्ल फर्के।
'हाम्रो बिहे गरेको १० वर्षपछि भेट भाको नि,' उनले सुनाइन्, 'पुतली खेलेजस्तै बिहे भो। श्रीमान भेट्न अर्को १० वर्ष कुर्नुपर्यो।'
आफ्ना भावना पोख्दै गर्दा ९० वर्षीया रूद्रकुमारीका आँखा चम्किला देखिन्थे। उनी आफ्ना माइला छोराको कुलेश्वरस्थित घरमा थिइन्। म पुग्दा उनी कोठाको पारिलो घाममा, लुगामा गुटुमुटु परेर, मोटो 'महाभारत' पढ्दै थिइन्।
उनलाई पढ्न आउने रहेछ। सोधेँ 'पढ्न कसरी सिक्नुभयो? बिहेअघि नै?'
'होइन नि। पछि सिकेको। माइत बसेर एक वर्षपछि घर जाँदा एउटा देवर ५/६ वर्षको हुनुहुन्थ्यो। म १०/११ की। देवर पढ्नुहुन्थ्यो। अनि उहाँसँगै 'बाबु मलाई पनि सिकाईदेऊ' भन्थेँ,' रूद्रकुमारीले भनिन्, 'उहाँहरूले कृष्ण चरित्र, रामायण पढेको सुन्दा मैले पनि पढ्न पाए भन्ने लाग्थ्यो।'
'अनि देवरले सिकाइदिनुभयो त?'
'कहाँ नि। सुरूमा त 'नम्साल कि छोरीलाई बोक्सी हुन मन लाग्यो अब' भन्नु हुन्थ्यो।'
रूद्रकुमारीका माइती लम्साल। देवरको बोली राम्ररी फुटिनसकेकाले 'लम्साल' भन्दा 'नम्साल' हुने रहेछ। त्योबेला छोरीले पढे 'बोक्सी हुन्छन्' भन्थे। उनले सासूहरूले अलिअलि पढेको देखेकी रहिछन्। अनि देवरलाई फकाइ-फुल्याइ गर्दै पढाइदिन भनिछन्।
'देवरले ८-१० वटा अक्षर सिकाइदिनुभो। सिकाउने बेला बाहिर ढोकामा कोही आयो कि भनेर पल्याकपुलुक हेर्यो। भित्र पस्यो। चूल्होको गालामा कोरेर लेख्न सिकेँ। देवरले भन्ने, म लेख्ने। यसैगरी केही अक्षर जानेँ,' उनले सुनाइन्।
'पढ्छु, लेख्छु' भन्नु त अपराध सरह हुने जामाना। केही अक्षर सिक्दा पनि डराउनु पर्ने। त्योबेलाका कति छोरीहरूका पढ्ने रहर कुण्ठित भए, यसको लेखाजोखा हुन्न।
'अनि केले लेख्ने त चुल्होको गालामा?'
'सिन्का कि कप्टेरा। यस्तै। अँगारले लेख्न हुन्नथ्यो। मकै भुट्ने कप्टेराले होला मैले लेखेको। एउटा अक्षर जानेपछि देवरले अर्को लेखिदिनु हुन्थ्यो। 'बोक्सी हुन खुब बल गर्दै हुनुहुन्छ' भन्दै सिकाइ दिनुहुन्थ्यो,' उनले आफ्ना सिकाइका दिन सम्झिँदै भनिन्, 'अलिअलि पढ्न-लेख्न जानेपछि त कृष्ण चरित्र र रामायण हेर्ने भइहालेँ। विस्तारै अलिअलि गीता पाठ गर्न सक्ने भएँ।'
अहिले उनले पढिरहेको महाभारत कान्छा छोरा जुगलले ल्याइदिएका रहेछन्। रातो रङको बाक्लो गातो भएको 'महाभारत' देखाउँदै भनिन्, 'तर महाभारत चाहिँ हेर्नै नहुने रहेछ।'
प्रायः उनका उमेरका आमा-हजुरआमाहरू रामायण-महाभारत पढेर आनन्द मान्छन्। उनको विश्लेषण सुनेर अचम्म लाग्यो।
सोधेँ, 'किन?'
'ए, कस्तो डरलाग्दो के! मारकाट, रगतको भारी, मुर्दा र लास भनेका छन्,' शान्तिसाथ धर्मकर्ममा रमाउने मनलाई महाभारतले तनाव बढाइदिएको कारण यस्तो रहेछ।
बिक्रम सम्वत् २०४५ मा भारतीय च्यानल दूरदर्शनमा प्रसारित 'महाभारत' श्रृंखलाले नेपालका टेलिभिजन पुगेका घरघरमा 'महाभारत' कन्ठै बनाउने गरी लट्टू बनाएको थियो। रूद्रकुमारीको ध्यान पनि महाभारतले खिचेको रहेछ।
'पहिले त बरू त्यति याद गरेनछु। अहिले पढ्दा पो बुझ्छु, उपद्रो रहेछ महाभारतमा। नपढ्नु पर्यो भनी २/३ दिन बिसाएँ। फेरि पढ्न थालेँ। यति चाहिँ सक्छु अनि नहेरूँला भन्ने छ,'पढिसकेको पाना देखाउँदै उनले भनिन्, 'छोराछोरी, नातिले 'आँखा बिगार्ने हुनुभो' भनेर कराउँछन्। काम छैन। दिन त बिताउनु पर्यो। तर अचेल अलि कम-कम गरेर पढ्दैछु।'
उनका आँखा दुख्थे कहिलेकाँही। छोराले दबाइमूलो गरिदिन्थे। छोराछोरीका कुरा गर्दा उनी मनैदैखि हाँसेको भान भयो।
'छोराछोरीले मात्रै होइन, बुहारी र ज्वाइँहरूले पनि मनग्गे माया र मान दिएका छन्,' दंग पर्दै सुनाइन्। उनी बेलाबेला छोरीकहाँ पनि बस्ने रहिछन्।
छोराछोरीको मामिलामा उनी धनी। नौ छोराछोरीकी आमा। तर श्रीमानले अड्डी नकसेका भए झन्डै छोराछोरी नपाएको नाममा सौता झेल्नुपरेछ। बिहेपछि पढ्न गएका श्रीमान १० वर्षपछि घर आए। त्यसको १/२ वर्षसम्म सन्तान भएन। सासूले सन्तान भएन भन्दै अर्की बुहारी खोज्न थालिछन्। छोरालाई अर्को बिहेका लागि फकाउन थालिछन्। छोरा मानेनन्।
रूद्रकुमारीका श्रीमानले आफ्नी आमालाई भनेछन्, 'आमा, मलाई अहिल्यै दुइटा भारी नबोकाउनुस्। म २८ वर्ष हुन्जेलसम्म केटी दिन्छन्। त्यतिन्जेल पनि सन्तान भएन भने बल्ल तपाईंका लागि भए पनि बिहे गरिदिउँला। अहिले गर्दिनँ।'
रामप्रसाद भूर्तेलका यी कुरा आमाले मानिछन्।
यसको करिब ४ वर्षपछि रूद्रकुमारी दम्पत्तीको पहिलो सन्तान भयो। बिहेको करिब १५ वर्षपछि।
'अनि त लहरै जन्मिए। जेठो ९ साल। माइलो अर्को साल। अनि साइँलो, काइँलो। बर्सेनी जसो,' उनले सुनाइन्।
पछि रामप्रसादले आमालाई भनेछन्, 'अर्को बिहे गरिदिएको भए मेरो के हुन्थ्यो?'
चार सन्तान भएपछि उनीहरू बिक्रम सम्वत् २०१८ मा झापा आए। त्यो बेला गाडी थिएनन्। साना नानी र सामान भरियालाई बोकाएर हिँडेरै झापा पुग्न ७-८ दिन लागेको रूद्रकुमारी सम्झिन्छिन्। बाँकी छोराछोरी झापामै जन्मिए।
त्यसरी हप्तौं हिँडेर नेपालकै एक ठाउँबाट अर्को ठाउँसम्म यात्रा गरेकी उनले कान्छा छोरा मस्कोमा पढ्दा उता जाने मौका पाइन्। जेठो छोरा बसाइ सरेको देश अमेरिका पनि घुमिन्।
मस्कोको यात्रा सम्झँदै उनले सनाइन्, 'मस्कोमा नाति थियो। ७ वर्षको। त्यसैले समाउँथ्यो अनि अप्ठ्यारा ठाउँ हिँड्थेँ। यसो सारी लाउँदा पनि मिलाइदिन्थ्यो। 'छोटो लाउनु भो सारी, कुर्कुच्चा छोप्नु पर्छ नि' भन्थ्यो। त्यसैगरी बित्यो त्यहाँ। बुहारीले हामीलाई घुमाउने। नाति-बजै हिँड्यो, पिङ खेल्यो, कता कता घुम्यो।'
उनका जेठा छोरा शिवको डेढ वर्षअघि अमेरिकामा मृत्यु भयो।
यो कुरा सम्झँदा रूद्रकुमारीको छातीभरि परेको गाँठो गलाबाट हुक्क हुँदै निस्कियो, 'ठूलो छोरो ६६ लागेर गयो।'
'अनि काँइलो छोरो ३४ वर्षमा गयो। माया लाग्ने किसिमका दुइटा गए,' पछ्यौरीले आँखा पुछ्दै उनले भनिन्।
'कस्तो त्यो माया लाग्ने किसिमका भनेको? छोराछोरी सबैको माया लाग्दैन र,' उनको कुरा बुझ्न चाहेँ।
'हैन, अब त्यो गर्भमै खेर गएकाहरू देखिएका हुँदैनन्। उनीहरूको भन्दा बढी देखेकाहरूको माया लाग्छ नि,' छोराछोरीको मृत्युको पीडा दुई भागमा बाँडेर चित्त बुझाउने बाटो बनाइछन् उनले। कान्छा छोरा जुगललाई देखाउँदै भनिन्, 'योसँगको जोडी गर्भमै गयो। त्यसैले ससुराले यसको नाम जुगल राखिदिनुभाको।'
रूद्रकुमारी र उनका आँशुसँग विदा मागेर निस्किएँ।
'हजुरआमाका कथा'का लागि मैले उनलाई चार-पाँच महिनादेखि भेट्ने प्रयास गरेकी थिएँ। माघ ४ गते मौका जुरेको थियो। लामै कुराकानी भयो। माघ २२ गते सोमबार कथा छाप्नु थियो।
माघ १५ गते मंगलबार बेलुकी ८ बजेतिर कथालाई अक्षरमा ढाल्दै थिएँ। एउटा गाउँको नाम बुझिनँ। रूद्रकुमारीका छोरा जुगललाई म्यासेज गरेँ।
प्रश्नको जवाफसँगै उताबाट म्यासेज आयो, 'आमा दुई दिनअगाडि बित्नुभयो।'
हँ?
सननन भएँ। औंलाहरूले किबोर्ड थिच्नै मानेनन्। फोन गरेँ। जुगलजीको म्यासेजमा विश्वास लागिरहेको थिएन।
बाह्र दिन अगाडि मात्रै भेटेर 'लम्सालकी छोरी' को नाताले जुराइदिएको सम्बन्ध त्यहीँ सकिएको थियो।
गौरीघाटस्थित जुगलको घरमा किरिया बसेका थिए। भेट्न जाँदा माइला छोरा गणेशले भने, 'आमाले, भोलिपल्ट यहाँ (जुगलको घर) आउन भनेर पोकापन्तुरा ठीक पारेर राख्नुभएको थियो। कहिले पनि यो खाऊँ, त्यो खाऊँ नभन्ने मान्छेले त्यो दिन पुरी खाऊँ भन्नुभो। खाइसकेर 'मैले आज ५ वटा पुरी खाएँ' भन्दै सुनाउनुभयो।'
गणेशका अनुसार रूद्रकुमारीलाई दिनभरि ठीकै थियो। एक्कासि साँझ ७ बजेतिर छातीमा अलि अप्ठ्यारो भयो भन्दै ढलिन्।
'हामीले त त्यही अन्तिम ठानिसकेका थियौं। तर आमा बौरिनुभो। अस्पताल लग्यौं। राति राम्रै सुत्नुभएको थियो। आमासँग बहिनी पनि थिइन्। बिहानीपख सुतिरहेकी आमालाई नर्स आएर हेर्दा....,' गणेशले भक्कानिँदै भने, 'आमा गइसक्नु भएको रहेछ।'
'जेठा दाइको मृत्युपछि आमा केही हतास हुनुन्थ्यो,' कान्छा छोरा जुगलले सुनाए, 'तर अस्वस्थ्य र दुःखी देखिनुहुन्थेन।'
मन कुँडिएको भए पनि उनी स्फूर्त थिइन्। सधैं प्रशन्न र स्वस्थ देखिन्थिन्। कुराकानीमा रमाउँथिन्। जुगलका अनुसार उनलाई २० वटा जति फोन नम्बर कन्ठ थिए। सबैलाई समय-समयमा फोन गर्थिन्। हालचाल सोध्थिन्।
यता मैले भने उनको कथा छापिएर हालचाल सोध्न नपाउँदै रूद्रकुमारी अगाडि ‘स्वर्गीय’ लगाउन बाध्य भएँ।
एउटा तर्कना भने झलझली आइरहन्छ, उनले महाभारत पो पढिसकिन् कि सकिनन् कुन्नी!
हार्दिक श्रद्धा-सुमन रूद्रकुमारी भूर्तेल।'
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
'मेरो बूढा ससुराको दुइटा खलक- जेठी श्रीमतीका सन्तान श्रेष्ठ, कान्छीका भट्ट'
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे