दुईपाङ्ग्रे सवारीमा यात्रुलाई सेवा दिँदै आएको टुटल र पठाओ कम्पनीलाई ट्राफिक कार्यालयले कारबाही थालेको छ। करिब दुई वर्षअघि 'टुटल एप' चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरू भएको थियो।
यसमा यात्रुले टुटल एप चलाएर आफू जाने गन्तव्यको सूचना दिन्छ। नजिक रहेका कोही मोटरसाइकल चालकले यात्रुलाई भनेको ठाउँसम्म पुर्याइदिन्छ। भाडादर पहिल्यै तोकिएको हुन्छ। यात्रुको सुरक्षा निम्ति मोटरसाइकल कुन बाटो कुदिरहेको छ र कति बेरमा गन्तव्य पुग्यो भन्नेसम्म एपबाटै हेर्न सकिन्छ।
भरपर्दो सार्वजनिक यातायात नभएको र ट्याक्सी ठगीबाट आजित जनता टुटल र पठाओबाट लाभान्वित थिए। यो सेवा दिइरहेका धेरै युवायुवतीले रोजगार पनि पाएका छन्। टुटलका संस्थापक शिक्षित भट्टका अनुसार १० हजार 'राइडर' दर्ता भएका छन्। पाँच हजार सक्रिय छन्।
टुटलमार्फत् सेवा दिन गाह्रो छैन। आफ्नो मोटरसाइकल छ भने राइड दिन सुरुमा अनलाइन दर्ता गर्नुपर्छ। एकपटक टुटलको कार्यालय पुग्नपर्छ। अनि काम सकियो। यी सबै प्रक्रियामा कुनै पैसा नलाग्ने शिक्षित बताउँछन्।
आफ्ना मोटरसाइकल-स्कुटरमा राखेर यात्रुलाई सेवा दिने यिनै युवायुवतीमध्ये हामीले सात जनासँग कुराकानी गरेका छौं।
टुटलमार्फत आफूहरूले दिँदै आएको सेवाबारे उनीहरू के भन्छन् त, सुनौं उनीहरूकै शब्दमा-
भिममाया सुनुवार, स्वयम्भू
मैले टुटलबाट सेवा दिन थालेको चार महिना भयो। म भ्याएसम्म दिनभर (फुलटाइम) काम गर्छु। मेरो बच्चा सानो छ। नौ बजे बाबुलाई स्कुल पुर्याएर निस्किन्छु। स्कुलबाट बाबु ल्याउने मान्छे भयो भने बेलुकासम्मै गर्छु। नभए साढे ३ मा स्कुल पुग्नेगरी गर्छु। म 'हाउस वाइफ' भएकाले अफिसको काम गर्न टाइम दिन सक्दिनँ।
टुटल भनेको आफूलाई मन लाग्दा गर्ने काम भयो। नभ्याए नगर्दा पनि भयो। दुई घण्टा गर्छु भन्न पनि पाइयो, दिनभर गर्न पनि पाइयो। त्यही भएर म टुटलसँग जोडिएकी हुँ। दिनभर खट्दा महिनामा २५ देखि ३० हजारसम्म कमाइ हुन्छ। यसले घर चलाउन, पकेट खर्च लगायत धानिरहेको छ। मलाई अहिलेसम्म कुनै सेवाग्राहीले दुर्व्यवहार गरेको छैन। म यो काममा सन्तुष्ट छु।
बलराम गिरी, बालाजु
अहिले म अरु व्यवसाय पनि गर्दैछु। टुटल राइडरको काम पनि गरिरहेको छु। फुर्सद मिलेको समयमा पार्टटाइमका रुपमा यो काम थालेको हुँ। टुटल म मात्र नभई धेरै बेरोजगार, विद्यार्थी, अफिस आउजाउ गर्ने लगायतले सदुपयोग गर्न पाउनु भएको छ। यसले सेवा दिनेलाई मात्र नभएर सेवाग्राहीलाई पनि धेरै सहयोग पुगेको मैले देखेँ।
यो ६/७ महिनाको अनुभवमा कुनै पनि 'क्लाइन्ट'बाट टुटलका बारेमा नराम्रो सुनिनँ। सधैं यसको तारिफ मात्र गर्नुहुन्थ्यो। सरकारले अवसर दिन नसकेका धेरैलाई टुटलले अवसर दिएको छ। हामी खुसी छौं र क्लाइन्ट पनि खुसी हुनुहुन्छ। म टुटलप्रति निकै आभारी छु। मैले पार्टटाइम काम गर्दा पनि दैनिक कम्तीमा ५ सय देखि ७ सयसम्म बचेको हुन्छ। हामी बार्गेनिङ गर्दैनौं। कम्पनीले तोकेको मूल्यमा जाने हो। पार्टटाइम गरेरै महिनामा १५ देखि २० हजार कमाएका छौं।
शोभित थापा, तारकेश्वर नगरपालिका
टुटलमार्फत् सेवा दिन पाउँदा म धेरै खुसी छु। मैले यो काम थालेको साढे ८ महिना भयो। दैनिक नयाँ–नयाँ मान्छे भेटिन्छ। नयाँ–नयाँ कुरा सिक्न पाइन्छ। टुटल क्लाइन्टहरू कोही पनि हाम्रो सेवाबाट निराश हुनुभएको छैन। कुनै क्लाइन्टबाट दुर्व्यवहारमा परेको पनि छैन। म फुलटाइम नै काम गर्छु।
बिहान ९–१० बजेदेखि बेलुका ७ बजेसम्म टुटल राइड दिन्छु। राम्रो माइलेज दिने बाइक भयो भने १२ सयदेखि १५ सयसम्म आम्दानी हुन्छ होला। मेरो बाइकले त्यति राम्रो माइलेज दिँदैन। त्यही पनि खर्च कटाएर दैनिक ८ सय हाराहारी कमाइरहेको छु। टुटलले मलाई रोजगारी दिएकोमा म धेरै खुसी छु। दुई/तीन दिनदेखि टुटल टिममा केही अप्ठ्यारो पर्यो भन्ने सुनेको छु। के कारणले हो भन्ने खासै थाहा छैन।
निर्मल मानन्धर, टोखा
मैले टुटल राइड दिन थालेको साढे ३ महिना भयो। पहिला २ वर्ष साउदी अरब बसेको थिएँ। खासै कमाइ भएन। टुटलमा जोडिएपछि कमाइ ठीकै छ। महिनाको १५–१६ हजार बच्छ। म फुलटाइम काम गर्छु। यसमा निकै आनन्दसँग काम गर्न पाइन्छ। कसैको खटन हुँदैन। क्लाइन्ट भेट्यो, उठायो, ड्रप गर्यो। निकै सजिलो छ।
टुटल प्रयोग गर्ने क्लाइन्ट पनि निकै खुसी हुनुहुन्छ। मेरोमा दृष्टिविहीनहरू धेरै यात्रा गर्नुहुन्छ। उहाँहरूले पहिला–पहिला ट्याक्सीले ठग्थ्यो भन्ने सुनाउनु हुन्छ। तर, टुटलमा पैसाको मोलमोलाइ हुँदैन। गेटमै लिन आउने, जाममा धेरै फस्न नपर्ने, समयमै अफिस पुग्ने, घर आइपुग्ने भनेर धेरै राम्रो मान्नु हुन्छ।
सञ्जय पुन, बालाजु
म टुटलसँग आबद्ध भएको ६ महिनाभन्दा धेरै भयो। मैले यसबाट सजिलै महिनाको १८ देखि २० हजार कमाउँछु। जागिर खोज्न जाँदा कसैले दिँदैन। अहिले टुटलको सेवाप्रदायक भएर आत्मनिर्भर भएको छु। क्लाइन्टहरूले पनि राम्रो 'रेस्पोन्स' गर्नुभएको छ।
मैले धेरै दृष्टिविहीनहरूलाई सेवा दिएको छु। उहाँहरू यसले धेरै सहयोग पुगेको बताउनुहुन्छ। टुटलले वास्तवमा सबैलाई सहयोग पुगेको छ। क्लाइन्टहरू कसैले नराम्रो भन्नुभएको छैन। नियम पालना नगर्दा चिट काटे त केही भन्न मिलेन। तर, यसरी सेवा दिनेलाई के-के भनेर ट्राफिकले समाउने हो भने हामीलाई धेरै समस्या पर्छ। हाम्रो चलिरहेको दैनिकी सम्हाल्न समस्या हुन्छ।
केबि थापामगर, स्वयम्भू
म चार महिनादेखि पार्टटाइम टुटल सेवा दिँदै आएको छु। मेरौ आफ्नै व्यवसाय पनि छ। पार्टटाइम काम गर्दा पनि खर्च कटाएर मासिक १० देखि १५ हजार बचाउँछु। म खासमा 'रिसर्च' का लागि टुटलसँग जोडिएको हुँ। आफूले यात्रु लिएर हिँड्दा कस्तो हुन्छ, यात्रुलाई कत्तिको फाइदा पुग्छ भन्ने बुझ्दै गएको छु। त्यस्तै कुनै बेरोजगारले टुटलमार्फत् कति कमाउन सक्छ? यी सबै कुरा आफ्नै तरिकाले रिसर्च गर्न टुटलमा जोडिएको हुँ।
सेवा दिनेले यात्रुलाई दुर्व्यवहार गर्ने वा यात्रुले दुर्व्यवहार गर्ने भन्ने हुँदैन। हरेक चालकको लाइसेन्स, नागरिकता लगायत कागजात टुटलको अफिसमा दर्ता हुन्छ। ऊ कुन अवस्थामा कहाँ गइरहेको छ भन्ने सबै जानकारी अफिसमा हुन्छ। व्यक्तिगत रूपमा आफूले रुखो बोलियो भने दुर्व्यवहार हुन सक्ला, नत्र हुँदैन। टुटल प्रयोगकर्तामा डाक्टर, इन्जिनियर, एयर होस्टेस लगायत पनि हुनुहुन्छ। यसले हामीलाई पनि केही सिकाउँछ।
ज्ञानेन्द्र प्याकुरेल, बालाजु
मैले टुटल सेवा दिन थालेको तीन महिनाभन्दा बढी भयो। हालसम्म मलाई केही नराम्रो व्यवहार गर्नुभएको छैन। मबाट पनि कसैलाई नराम्रो व्यवहार भएको छैन। फुलटाइम राइड गर्दा खर्च कटाएर दिनको १२ सयदेखि १८ सयसम्म जोगाउँछु।
म लामो समय बेरोजगार थिएँ। टुटलमा आबद्ध भएपछि पार्टटाइम गर्दा पनि खर्च चलेको छ। टुटलले काठमाडौंमा बस्ने वातावरण बनाइदिएको छ।
यी पनि पढ्नुहोस्ः