दुईपाङ्ग्रे सवारीमा यात्रुलाई सेवा दिँदै आएको टुटल र पठाओ कम्पनीलाई ट्राफिक कार्यालयले कारबाही थालेको छ। करिब दुई वर्षअघि 'टुटल एप' चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरू भएको थियो।
यसमा यात्रुले टुटल एप चलाएर आफू जाने गन्तव्यको सूचना दिन्छ। नजिक रहेका कोही मोटरसाइकल चालकले यात्रुलाई भनेको ठाउँसम्म पुर्याइदिन्छ। भाडादर पहिल्यै तोकिएको हुन्छ। यात्रुको सुरक्षा निम्ति मोटरसाइकल कुन बाटो कुदिरहेको छ र कति बेरमा गन्तव्य पुग्यो भन्नेसम्म एपबाटै हेर्न सकिन्छ।
भरपर्दो सार्वजनिक यातायात नभएको र ट्याक्सी ठगीबाट आजित जनता टुटल र पठाओबाट लाभान्वित थिए। सामाजिक सञ्जालमा ट्राफिक कार्यालय र सम्बन्धित निकायको विरोध भइरहेको छ। साथै #आइएमविथटुटल ट्रेन्ड पनि सुरू भइसकेको छ।
टुटलको समर्थन गर्दै सामाजिक सञ्जालमा लेखिकएका केही पोस्टहरू हामीले यहाँ उल्लेख गरेका छौं।
हेर्नुस्, कसले के लेखेका छन्?
बाबुराम भट्टराई (नयाँशक्ति पार्टीका अध्यक्ष): मैले छोरी मानुषीबाट पहिलो पटक टुटलबारे सुनेको हुँ। उनी यसको नियमित प्रयोगकर्ता हुन्। सुरूमा सबै बाउ झैं छोरीको सुरक्षाबारे चिन्तित नहुने कुरै भएन। पछि बुझ्दा आम नागरिकनिम्ति सुलभ, सुपथ, भरपर्दो सेवा रहेछ। यातायात सिन्डिकेटको दबावमा सरकार परेको हो भने बैलैमा सोचोस्!
लीलामणि पौड्याल (चीनका लागि नेपाली राजदूत): केही गम्भीर समस्या आएको/आउनसक्ने देखिए सार्वजनिक बहसमा ल्याए नीति निर्माणमा सघाउ पुग्छ। रातो प्लेटका कारले भाडामा दैनिक हजारौं मान्छे बोकिरहेकै छन्। निजीमा दर्ता कार, बस, भ्यान जस्तो चाह्यो त्यस्तै बजारमा वर्षौंदेखि भाडामा छन्। रोक्नुभन्दा व्यवस्थापनमा पनि सिर्जनशील हुने कि?
उज्वल थापा (विवेकशील नेपाली दलका संयोजक): टुटल/पठाओ जस्ता नवीन यातायातको नमुना समाधान गर्दै आएका व्यवसायलाई पुरस्कार दिनुको साटो उल्टो रोक्ने प्रयास गरियो भने नेपाल कसरी सम्वृद्ध हुन्छ?
यो पनि पढ्नुहोस्ः
ध्रुव पोखरेलः कानुन बनाउने र मिल्छ भने यात्रु बोक्ने। त्यत्रो अर्बौंको कारोबार चलेको गोलकोष्ट युनिटी+… कानुन विपरीत भएकैले कर झ्याप भयो। भर्खरै सुरु भएको र कारबाहीमा परेपछि बहसमा आएको यो टुटल पनि कानुन बनाएर अगाडि बढौं। तर अपहरण, दुर्घटना वा सम्भावित भवितव्यको जवाफ दिने बाटो/ठाउँ हुनुपर्छ।
डाक्टर सुधांशु केसीः वीर अस्पतालबाट नर्भिकसम्म टुटल सेवा लिँदैछु। #आइएमविथटुटल
प्रभातः टुटलले काठमाडौंमा नवीन सेवा दिँदै यातायातका समस्या सुल्झाउने प्रयास गरेको छ। यसले प्रविधिको प्रयोगसँगै युवाहरूलाई रोजगारमा अवसर दिएको छ। नयाँ व्यवसाय सञ्चालनमा कुनै कानुनले बाधा पुर्याउँछन भने त्यस्ता कानुन परिमार्जन हुनुपर्छ। काममै रोक लगाउन हुँदैन।
प्रमिला देवकोटाः ढाडमा भारी बोक्नु पनि यातायात सेवामा पर्छ नि। सरकार, जाऊ समाऊ, नाम्लो जफत गर। देशमा कानुको शासन हुनुपर्छ।
प्रेम सापकोटाः प्रहरी दाइ- टुटल र पठाओले यात्रुलाई सुविधा त भा छ, तर यो कानुन विपरीत छ।
उसो भए यात्रुमैत्री कानुन बनाऊ न त यार! यात्रु शास्ती कानुनको प्यार कसलाई लागिरा छ र?
इख नभाको मान्छेः केही महिनाअघि म घर जानका लागि ट्याक्सीमा ५ सय रूपैयाँ तिर्थेँ। अचेल टुटलमा १ सय ६० रूपैयाँ तिर्छु। एकपटकमा मेरो ३ सय ४० रूपैयाँ जोगिन्छ। म यसको सेवामा पूरा सन्तुष्ट पनि छु। सरकारलाई यसमा कुनै आपत्ति नहुन पर्ने हो। #टुटल
इटिसिः टुटल र पठाओ बन्द गर्ने निर्णय स्वाँठपनको परकाष्ठा हो भन्न चाहन्छु। गर्नुपर्ने चाहिँ प्यासेन्जरको बिमा र प्यासेन्जरलाज्ञ हेल्मेटको व्यवस्था हो।
निर्वाचन आयुक्त इला शर्माः हाम्रो परिवार र चिनेजानेकाले प्रयोग गरेको धेरै भयो। बरु ट्याक्सी ड्राइभरको गुण्डागर्दी सहियो, टुटल यात्राको अनुभव राम्रै छ। अब #पठाओ पनि प्रयोग गर्ने! ओला र उबरको रोजाइ जस्तै।
रोहिणीः मोटरसाइकलमा हिँड्दा हुने दुर्व्यवहार, हिंसा, ठगी रोक्न टुटल, पठाओ बन्द गरेको रे। अनि त्यो सार्वजनिक बसमा चाहिँ यस्तो घटना भएकै छैन? कति चेली बसभित्रै बलात्कृत भएका छन्? ल त त्यो बस सेवा नि बन्द गराओ हुतिहाराहरू! गर्नु केही छैन, भएका नि भत्कायो, सिध्यायो, बन्द गरायो।
इरूः मेरो टुटल साथी (जो कलेजको विद्यार्थी र युट्युब ब्लगर पनि हुन्) खुसी हुँदै सुनाउँछन् - टुटल राइडले आफ्नो खर्च निकाल्न मद्दत गरेको छ। र, आफ्नो सामान्य खर्चका निम्ति घरमा पैसा माग्नपरेको छैन। #टुटल
संघर्ष पन्तः टुटलले बाइकको संख्या बढाउछ रे। कस्तो वाहियात कुरा? यस्तो बेतुकको कुरा गर्ने महाशयहरूले बुझाइदिनु पर्यो कसरी यस्तो हुन्छ भनेर। दर्ता भएको व्यवसाय हो टुटल। बरु कानुन बनाए हुन्छ। विदेशका उबरहरू जस्ताको चाहिँ वाहवाहि गर्ने अनि स्वदेशी टुटलको चाहिँ बेतुकको विरोध।
सञ्जय गोल्छाः तपाईंलाई थाहा छ, टुटल एप दृष्टिबिहिनहरूका लागि उपयुक्त छ। दैनिक एक सय जनाभन्दा बढी दृष्टिबिहीनहरूले यो सेवाबाट यात्रा गर्छन्।
अनन्त सौरभः प्रविधिले जहिल्यै पनि नयाँ सिर्जनामा मद्दत गर्छ। भएका स्रोतसाधान बाँडेर प्रयोग गर्नु अर्थतन्त्रका लागि राम्रो हुन्छ भन्नेमा कुनै शंका छैन। मोटरसाइलकमा राइड सेयरिङ गर्नु भनेको पनि स्रोत बाँड्नु र खर्च घटाउनु हो। दैनिक हजारौं मोटरसाइकल पछाडि खाली राखेर कुदिरहेका हुन्छन्। यिनले अरू हजारौं मान्छेलाई यात्रा गराउन सक्छन्।
हजारौं कारहरू पछाडि खाली हिँडिरहेकै दिशामा हिँड्ने ट्याक्सी पनि चाहिन्छ जस्तो लाग्दैन। पहिले-पहिले 'मलाई फलानो ठाउँ जानुछ, के तपाईं पुर्याइदिनुहुन्छ' भनेर सोध्न सहज थिएन। अचेल मोबाइल एपमार्फत् सहजै हुन्छ। कुनै पनि क्षेत्रमा जनताको हित हेरेर कानुन बन्नुपर्छ।
मुरारी अर्यालः सिन्डिकेटेहरू बलिया भा कि पुलिस लोभी भा? #टुटल
उदय शमसेर राणाः आवश्यक कानुन छैन भने बनाउने हो। र दुईतिहाई बहुमतको सरकारका लागि त्यो ठूलो चुनौती पनि हैन। तर, कानुन छैन भनेर टुटल जस्तो उद्यमशीलताको नयाँ आयामलाई रोक्नु निन्दनीय कार्य हो। #हामीलाई टुटल चाहिन्छ।
मधु आचार्यः सेयरराइड विल्कुल नयाँ अवधारणा हो। नीति नियम समयानुकुल बनाउने कि समातेर पाता कस्ने? गर्न खोज्नेलाई पनि भगाउने र भाग्न खोज्नेलाई पनि भगाउने यो देशको कस्तो व्यवस्थापन हो? #टुटल
हिमा बिष्टः म टुटलका साथमा छु। नेपालले युवा उद्यमीहरूलाई 'जोखिम' देख्नु एकदमै दुःखको कुरा हो। कस्तो अचम्म, जनताका समस्या सुल्झाउनुको साटो बन्द गर्न तम्सिने।
सेतोपाटीमा प्रकाशित यात्रु बोक्ने मोटरसाइकललाई कारबाही गर्ने कि नियमन? मा आएका प्रतिक्रियाहरूः
देवेन्द्र भट्टराईः प्रविधि, आवश्यकता र उपयोगिता नबुझी ठाडै कारबाही गर्नु ठीक होइन। टुटल र पठाओले हामीजस्ता सर्वसाधारणलाई दिएको सुविधा निकै प्रशंसनीय छ। यो सेवा नियमित हुनुपर्छ। यसबाट हामीले ट्याक्सीवालाको ठगीबाट बच्नुका साथै सुविधापूर्वक गन्तव्यमा यात्रा गर्न पाएका छौं। कारबाही होइन नयाँ केही गर्न लागेकाहरूलाई प्रोत्साहन गर्नुपर्छ। ढिलो भए पनि घैंटोमा घाम लागोस्।
भरत गौतमः यो सेवा एकदमै राम्रो छ। कृपया कसैले यस्तै सेवा पोखरामा पनि सुरू गरोस्। चाँडै।
सुनिता केसीः धेरै उपयोगी भएको छ मेरो लागि पनि। धेरै पटक टुटल प्रयोग पनि गरेको छु। अफिस टाइममा हुने जाम र सार्वजनिक सवारी नपाउने ठाउँमा, ट्याक्सीसँग बार्गेनिङमा बसिरहनुभन्दा यो टुटल सेवा धेरै राम्रो छ। सहुलियत दर पनि छ। अफिस जानेहरूका लागि आपतकालीन अवस्थामा प्रयोग गर्न धेरै सहज छ। यसलाई हटाउने हैन, कानुनमातहत कसरी ल्याउने भन्नेतिर लाग्ने हो।
यो पनि हेर्नुहोस्: