भक्तपुरका विभिन्न समूह यतिबेला महाकाली नाचको तयारी गर्दैछन्। यो तयारी काठमाडौंको साताव्यापी पर्व येँया पुन्ही ‘इन्द्रजात्रा’ का लागि हो।
इन्द्रजात्रामा विभिन्न नाच देखाइन्छ। किलागलबाट निस्कने देवीनाच र पुलुकिसी, मजिपाटको लाखे, हलचोकबाट निस्कने सभा भकुः प्रमुख छन्। भक्तपुरबाट ल्याइने महाकाली नाच पनि लामो समयदेखि चलिआएको परम्परा हो।
यसैको निम्ति भक्तपुरको ‘महाकाली प्याखँ मुस्याखः’ लगायत विभिन्न समूह महाकाली नाचको तयारी गर्दैछन्।
महाकाली नाचले असत्यमाथि सत्यको जित देखाउँछ।
हिन्दु पुराणअनुसार पहिले दानवहरूको राज्य थियो। ती दानवले मानिस र देवीदेवतालाई दुःख दिए। भगवान विष्णुले पार्वतीलाई महाकालीको रूप धारण गर्न लगाए। महाकाली दायाँ–बायाँ कुमारी र महालक्ष्मीका साथ युद्ध गर्न आइन्। र, दानवको वध गरिन्।
यसैको विजयोत्सव हो, महाकाली नाच।
काठमाडौंमा यः सिं ‘लिंगो’ ठड्याएपछि येंया पुन्ही सुरु हुन्छ। अन्तिम दिनसम्मै महाकाली नाच चल्छ। रथयात्राका क्रममा कुमारी, गणेश र भैरवले तीन दिन सहर परिक्रमा गर्छन्। यी तीन दिन भगवानको आग्रहअनुसार महाकाली नाच प्रदर्शन गरिने मुस्याखः समूहका रामगोपाल सुलुजु बताउँछन्। बाँकी दिन स्थानीयले बोलाएको ठाउँमा गएर नाच देखाइन्छ।
नाच देखाएपछि प्रत्येक दिन हनुमाढोकामा हाजिर गर्नुपर्छ। सुलुजुका अनुसार एक साता नाच देखाएबापत नगरपालिकाले समूहलाई ३८ हजार रुपैयाँ दिन्छ। सातादिन बस्न रकम अपुग हुने उनी बताउँछन्।
‘नाचको समूह ठूलो हुन्छ। हाम्रो २७ जनाको समूह छ,’ उनले भने, ‘त्यहाँ बस्दाको खर्च करिब एक लाख हुन्छ। बाँकी आफ्नै खल्तीबाट हाल्नुपर्छ। स्थानीयले टोल–टोलमा बोलाउँदा भने त्यसबाट पाइने रकमले केही राहत हुन्छ।’
भक्तपुरको महाकाली नाच पुरातत्व विभागमा दर्ता छ। पहिले ६ टोली थिए। हाल ४ वटा छन्। त्यसमा मुस्याखः समूहसहित गः हिटको ‘व्यञ्जु’, वशं गोपालस्थित ‘खबुर्जा’ र चासुकेलस्थित ‘दन्देख्याः’ समूह पर्छन्।
भोटेबहालस्थित खैजु समूह र जगातेनजिकै भातेधुगुरीस्थित ‘दैवग्य’ समूह भने लोप भइसकेका छन्। आर्थिक अभाव र नाचको समूह ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो हुँदा लोप भएको सुलुजु बताउँछन्।
‘हामीले घाटा बेहोरेरै नाच देखाउनुपर्छ। सबैले सक्दैनन्,’ उनले भने, ‘चलिआएको परम्परा जोगाउनु पनि त जरुरी छ। हामीले छाड्दै गयौं भने लोप हुन्छ।’
यस्ता नाचलाई निरन्तरता दिन सरकारी तहबाटै ध्यानाकर्षण हुनुपर्ने उनी बताउँछन्।
इन्द्रजात्रासहित यो नाच वर्षको तीनपटक देखाइन्छ। भक्तपुरको गाईजात्रामा र दसैंको नवमीमा समूहकै नासः देव ‘नाट्यश्वर’ लाई समर्पण गरेर नाच देखाउने चलन छ।
महाकाली नाच करिब दुई घन्टाको हुन्छ। त्यसमा पात्रले विभिन्न तालमा नाच्छन्। महाकालीले ‘पर्ताल’, कुमारीले ‘चलती’, कवन्चाको ‘कवन्चा’, ख्याकले ‘धमाक’ तालमा नाच देखाउँछन्।
सुलुजुका अनुसार महाकाली नाच सिक्न चाहनेले सुरुआतमा कवन्चा सिक्नुपर्छ। त्यसपछि बेतालः, ख्याः, भैरवलगायत सिक्दै महाकालीको अभ्यास हुन्छ। नाच्दा भने नाच्नेको क्षमता र सुहाउने पात्र दिइन्छ।
यी देवदेवीको भूमिका पुस्तौंदेखि पुरुषले गर्दै आएका छन्। अहिले महिलालाई अवसर दिन थालेको सुलुजुले बताए। उनको समूहमा कुमारीको भूमिकामा लादना शिल्पकार र महालक्ष्मीको भूमिकामा महालक्ष्मी बनमालाले नृत्य देखाउँछन्।
यो नाच कहिलेबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन।
संस्कृतिविद् ओम धौभडेलका अनुसार यो नाचको सम्बन्ध नरदेवी नाचसँग छ। मल्लराजा सुवर्णको समयमा नाच लोप भएको थियो। त्यसलाई नेपाल सम्बत् ६३३ मा उनले ब्युँताए।
नरदेवी नाचको विशेषता के भने, यो वर्षको ९ महिना देखाइन्छ। बीचको ३ महिनामा नाच नहुँदा महाकाली, भैरव नाचलगायत देखाइन्छ। यी नाच नवदुर्गाकै स्वरुप हो।
राणाकालीन समयमा महाकाली नाच चर्चामा थियो। तत्कालीन प्रधानमन्त्री जगंबहादुर राणाले काठमाडौंको राजकीय पर्व मानिने येँया पुन्ही ‘इन्द्रजात्रा’ मा देखाउन थालेको भनाइ छ।
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः