येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा हरेक वर्ष लिंगो तानेको, उठाएको र ढालेको हामीले देख्दै आएका छौं।
एक सातासम्म चल्ने यो पर्वको सुरुआतै वसन्तपुरमा लिंगो ठड्याएर हुन्छ। लिंगो ढालेपछि सकिन्छ। लिंगो ३६ हात लामो हुन्छ भने चौडाइ ४ हात।
यति विशाल लिंगो कहाँबाट ल्याइन्छ? कसरी ल्याइन्छ?
वसन्तपुरस्थित नासल चोकमा मंगलबार बिहानै एउटा पूजा थियो। पूजा सकिएपछि मानन्धर थरका केही व्यक्ति टीका लगाएर प्रसाद खाँदै भक्तपुरको नाला जाने तयारीमा लागे।
येँया पुन्हीमा गाडिने लिंगो बन्दोबस्तको जिम्मा मानन्धर गुठीलाई छ। यही गुठीले हरेक वर्ष भक्तपुर, नालाको सल्लाघारीबाट रूख काटेर ल्याउँछन्। यसपालि रूख काट्न मंगलबार राति ९:२१ को साइत जुरेको छ।
उनीहरू साढे ४ बजेतिर ‘वनयात्रा’ मा निस्केको मानन्धर गुठीका उपाध्यक्ष बद्रीनारायण मानन्धरले जानकारी दिए।
पहिले–पहिले रुख काट्ने मान्छे हिँडेरै जान्थे। अचेल गाडी चढेर जाने छुट छ।
‘बेलुकी पूजाआजा गर्छौं। बोकाको बलि चढाउँछौं र साइत पारेर रूखमा बन्चरो हान्छौं,’ उनले भने।
उनका अनुसार साइतमा बन्चरोको ‘चोट’ पारेपछि रूख काट्ने काम भोलिपल्ट झिसमिसेबाटै सुरु हुन्छ।
येँया पुन्हीको निम्ति सबै साइत नेपाल पञ्चांग निर्णायक समितिले जुराउँछ। रूख काट्ने र सहर छिराउने साइत पनि समितिले नै तय गरेको हो।
उपाध्यक्ष मानन्धरका अनुसार पहिलो दिन नालाबाट रूख तानेर ठिमीको राधेराधेसम्म ल्याउने चलन छ। त्यसपछि चौथीको दिन त्यहाँबाट तानेर काठमाडौंको भोटाहिटी ल्याइन्छ।
गत वर्ष भने पहिलो दिन भक्तपुरको तिनकुनेसम्म मात्र ल्याउन सकेको उनले बताए।
भोटाहिटीमा सडकछेउ एउटा मण्डल छ। वर्षभरि सवारी साधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ। धेरैले मण्डल छ भन्ने थाहै पाउँदैनन्। इन्द्रजात्रामा यो मण्डलको ठूलो महत्व छ। येँया पुन्ही सुरु भएसँगै मण्डलको ढक्कन खोलिन्छ। नालादेखि वनयात्रा गरेर ल्याएको रूख यही मण्डलमा राखेर पूजा गरिन्छ।
त्यसपछि अष्टमीको साइत पारेर नगर प्रवेश गराइन्छ। यसपालि नगर प्रवेश साइत असोज १ गते जुरेको छ। समय, बिहान १०:१७ बजे।
नगर प्रवेशपछि एकादशीको दिन लिंगोमा डोरी बाँध्न थालिन्छ। सनाःगू खलः का ‘चस्वाद्वँ’ मानन्धरहरूले डोरी बाँध्छन्। मानन्धर समुदाय पहिल्यैदेखि प्राविधिक काममा संलग्न रहँदै आएकाले रूख काट्ने र डोरी बाँध्ने जिम्मा दिइएको बद्रीनारायण बताउँछन्।
‘लिंगोलाई तलदेखि माथिसम्म बाँध्ने तरिका नै बेग्लै हुन्छ,’ उनले भने, ‘त्यसलाई तलैबाट फुकाल्न पनि मिल्ने गरी बनाइएको हुन्छ। यो विधि हामीलाई मात्र थाहा छ।’
त्यसपछि द्वादशीको दिन हनुमानढोका दरबारअगाडि लिंगो उठाइन्छ। यसको साइत असोज ५ गते ८:०५ बजे जुरेको छ। यसलाई ‘इन्द्र ध्वजोत्थान’ भनिन्छ।
यो लिंगो उठेपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ।
यो प्रचलन कहिलेबाट सुरु भयो त?
स्थानीयहरू रणबहादुर शाहको पालादेखि सुरु भएको मान्छन्। केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्रमान मानन्धर भने मल्लराजा जयप्रकाशकै पालामा सुरु भएको बताउँछन्।
‘यसको लिखित वा आधिकारिक अभिलेख हामीसँग छैन। येँया पुन्ही नै मल्लकालदेखि चलिआएकाले लिंगो उठाउने पनि त्यही बेलाको चलन हुनुपर्छ,’ उनले भने, ‘पृथ्वीनारायण शाहले कान्तिपुर जितेपछि यो प्रथा रोकिएको हुन सक्छ। पछि राजा रणबहादुरले फेरि चलनमा ल्याएकाले त्यस्तो मान्यता रहेको हो कि?’
इन्द्रजात्राको मुख्य आकर्षण कुमारी जात्रा हो। माथिल्लो, तल्लो र बीचको गरी ३२ टोलमा कुमारी रथयात्रा गर्ने चलन छ।
असोज ८ गते कुमारी रथयात्राको पहिलो दिन हो। राष्ट्रप्रमुख वसन्तपुर आएर कुमारीको दर्शन गर्ने यही दिन हो। यस दिन सार्वजनिक विदा पनि हुन्छ। धेरैले यही दिनलाई मात्र इन्द्रजात्राका रूपमा बुझ्ने गर्छन्। खासमा इन्द्रजात्रा साताव्यापी महोत्सव हो, जुन काठमाडौंको निम्ति दसैंभन्दा ठूलो चाडका रूपमा मनाइन्छ।
कुमारी रथयात्राको पहिलो दिन तल्लो टोल (कोहने) मा ‘जीवित देवी’ कुमारीलाई घुमाइन्छ। वसन्तपुरबाट सुरु जात्रा मरु, चिकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल लगायतमा रथयात्रा गरेर वसन्तपुरमै समापन हुन्छ।
असोज ९ गते माथिल्लो टोल (ठनेचा) मा रथ परिक्रमा हुन्छ। यो दिन वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, टेँगल, न्ह्योखा, न्हेकतला, असन हनुमानढोका हुँदै वसन्तपुरमै सकिन्छ।
असोज १२ गते बीचको टोल (ननिचा) यात्रा हुन्छ। यो जात्रा यट्खा, नरदेवी, किलाघः, भेडासिं, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुग्छ।
यसरी जात्रा सकिएपछि लिंगो ढालिन्छ। र, येँया पुन्ही सकिन्छ।
जात्राभरि महत्वपूर्ण भूमिका रहने यही लिंगोलाई चाहिने रूख लिन मानन्धरहरू मंगलबार नालाको सल्लाघारीतर्फ हिँडिसकेका छन्।