महिलाको स्वास्थ्य र समाजको मान्यतामाथि धेरै बहसहरू चलिरहको छ। महिला हुनुको विशेषतालाई सम्मान गरेका पौराणिक, धार्मिक मान्यता प्रसस्थ सुनिन्छ। तर, महिला भएकै कारणबाट प्राकृतिक भनौं दैविक पक्षमा देखिने रूप र स्थितिलाई अनदेखा गर्न खोज्ने, हेय दृष्टी राख्ने वा अलग्याउने सामाजिक मान्यता समेत पाइन्छ। यसको एक पक्ष मासिक धर्मलाई लिन सकिन्छ।
यस सम्बन्धमा पुरानो सम्झना र अब यसलाई सहज व्यवस्थापन गर्न राम्रो, सस्तो र प्रयोगमूखी साधन सम्बन्धमा नयाँ सोच, चलन र सहजता गर्ने तर्फमा पुरूषको दृष्टिबाट केही विचार लेखिएको छ।
‘टालाटुली बटुली, कति राम्री पुतली’ सानो छँदा सुन्ने गरेको थिएँ। राता, निला, काला, रङ्गिन कपडा मिलाएर बनाइएको खेल्ने पुतली खेलमा खासै चाख हुँदैन थियो। तर, दिदी बहिनीले खेलेको रमाइलो लागेर हो वा छुस्के बन्न कहिले कहिले लुकाइ दिने गरेको सम्झना आउँछ।
टालाको पुतली खेल्ने दिदीहरूले पुराना कपडाका टाला लुकाएको देखिन्थे। त्यस समयको विचारमा राता, सेता, थोत्रा टालाबाट पुतली नै बनाउने होला भन्ने लाग्थ्यो। एक पटक, पल्ला डाँडाकी कान्छीको बुट्टे धोतीको पछाडि राता टाटा देखियो।
पहाडमा जुका लाग्ने भएकोले कान्छीको पछाडि जुकाले टोकेर रगत बगेको रहेछ भनेको अझै सम्झना आउँछ।
आमाले केटा मान्छेले छुनु हुन्न, हेर्न हुन्न र कुरा पनि नगर्नू अर्थात, ऊसँग नखेल्नू भन्नु भएको थियो। किन होला त्यो कारण थाहा पनि थिएन र जान्न पनि खोजिएन।
झन्डै तीन दशक पछि हाम्रो गाउँबाट धार्मिक तिर्थ यात्रामा आसाम, कलकत्तातर्फ केही मानिस गएका थिए। उनीहरू फर्कँदा एउटा रातो टालो सँगै ल्याएका रहेछन्। बुझ्दा कामारू कामेक्ष माताको प्रजनन् अंगबाट निस्किएको रगत स्वरुपको रातो टालो प्रसादको रुपमा ल्याइएको रहेछ।
घरमा छुन, खान, बस्नलाई बर्जित गरेको र कामेक्ष देवीको प्रसाद ल्याएकोमा कता कता ताल मेल नमिलेको जस्तो लाग्यो। तर, आफूसँग सोझो सम्बन्ध नभएर होला, सोच त्यतिकैमा टुंगियो।
सनातन धर्ममा महिलाको महिनावारीलाई प्रष्ट भनौ वास्तविकतालाई सम्मान गरेको, कामारू कामेक्ष देवीको मूर्ति स्थापनाबाट प्रष्ट छ।
महिलाको स्वास्थ्यमा प्रजनन् सम्बन्धी अंगमा हुन सक्ने रोगको पूर्वपहिचान तथा उपचार गर्ने क्रममा २०५३ सालदेखि ‘नहुदा’ नामक संस्थामा अनुभव गरियो।
वि.स.२०७३ सालमा आइपुग्दा आफ्नो दिमागले सोचेको सही कुराको समाधान तर्फ जाने एउटा अवसरको थालनी भयो।
अष्ट्रेलियाका रोटरीयन साथीहरू ब्रूस डफिको टिमले अस्पतालको लागि सामान पठाउँदा पुनः प्रयोग हुने कपास कपडाको सेनिटरी प्याड दुई बक्सा समेत पठाईदिनु भएछ।
यो वितरणको निम्ति आएकोले गाउँ–गाउँमा आधा जस्तो वितरण गरियो। तर यो वितरण क्रममा अन्तबाट प्राप्त सामान वितरणको क्रम कति दिन चल्न सक्ला भन्ने लाग्यो। यस सोचले इच्छुक स्थानीय महिलालाई साथ लिएर पुनः प्रयोग हुने स्यानिटरी प्याड बनाउने कार्यको थालनी गर्ने तर्फ लागियो।
त्यसपछि सानागाउँ, महालक्ष्मी नगरपालिका ललितपुर, थानकोटलगायतका काठमाडौं उपत्यकाका केही ग्रामिण इलाकामा स्थानीय संघ संस्था र सक्रिय युवाको सहयोगमा स्थानीय केही हिलाले उक्त तालिममा भाग लिए।
यस क्रममा स्थानीय निकायबाटसमेत प्रत्यक्ष सहकार्यमा महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याडको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै प्रशिक्षण दिन थाल्यौ।
स्थानीय सीपबाट बनाइएका त्यस्ता प्याडहरू वरपरका महिलाहरुले समेतले प्रयोग गर्न थालिसकेका छन्। सस्तो, राम्रो गुणस्तर र प्रयोगमा सहज र स्थानीय उत्पादन हुनसक्नु पुनः प्रयोग हुने प्याडको विशेषता हुन्।
हिन्दी फिल्म ‘प्याड म्यान’ समेत चलिसकेको भएकाले यसको महत्व खुलाउन थप सहज भयो।
छाउपडीको स्थितिको प्रचार प्रसार र समाधानका उपाय खोज्नु राम्रो कार्य हो । साथै सरसफाइ आफ्नो आर्थिक स्थिति अनुसार साधनको उपलब्धता तर्फ ध्यान पुर्याउन पनि त्यतिकै आवश्यकता छ।
समस्या कोट्याएर मात्र बस्नु भन्दा जतिलाई सकिन्छ, ज्ञान र सिप बाढ्न र खुला चित्तले स्यानिटरी प्याड उत्पादनमा सहयोगको आवश्यकता छ।
उद्योग, व्यापार तथा स्थानीय निकायहरुको ध्यान यता आउन सके केही वर्ष भित्र नेपालबाट यस्ता कुरितीहरु हट्ने तथा महिलाहरुले स्वास्थ्य लाभ गर्नका साथै समाजमा परिवर्तन हुने विश्वास गर्न सकिन्छ।
उदाहरणको निमित्त, बाजुराका विद्यालयहरुमा पढ्ने अधिकांश किशोरी विद्यार्थी महिनाको पाँच दिन विद्यालय जादैनन् रे। उनीहरुको समस्यालाई सरसरती हेर्ने हो भने मुख्य रुपले रूढीवादी मान्यता तथा विद्यालयमा महिला विद्यार्थीहरुको निमित्त उपयुक्त शौचालय नहुनू हो।
यसका साथै प्रत्येक महिना भरपर्दो सोच्छ, सफा, सस्तो र भरपर्दो प्याडको अभावको पक्षलाई हेर्नुपर्ने हुन्छ। दुर्गम क्षेत्रको बजारमा प्याड पाउन कठिन भए प्रत्येक महिना कम्तिमा १०० देखि १५० खर्च गर्ने हो भने हामी आफैंले गुणस्तरीय प्याड बनाउन सक्छौ।
गरिबीको रेखामुनी मात्र नभएर ठूलै जनसङ्ख्यामा प्रति वर्ष १,२०० देखि १,८०० सम्म सरदर मूल्य तिरेर बजारबाट स्यानिटरी प्याड खरीद गर्न कठिनाई परेको बुझिन्छ।
हुनत, कतिलाई अझै पुरानै काला झुम्रा प्रयोगको स्थितिबाट उन्कन नसकेको अवस्था हुन सक्छ। स्थानीय ढङ्गले प्याड बनाउन थालियो भने यो खर्चलाई वार्षिक ४०० मा झार्न र स्वास्थ्यगत स्यानिटरी प्याड प्रयोग हुने स्थितिको सृजना गर्न सकिन्छ।
सिन्थेटिक स्यानिटरी प्याडबाट स्वास्थ्यमा पर्ने नकारात्मक असर र वातावरण सफाईमा थप भार पर्ने पक्षलाई समेत हेर्नु उपयुक्त देखिन्छ।