डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हुँदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो।
सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने निर्णय गरेको छ।
जिल्लास्थित स्थानीय सरकारका प्रमुख, राजनीतिक दललगायतको सर्वपक्षीय बैठकले सात दिनभित्र ठेकेदार उपस्थित भई काम सुरू नगरे ठेकेदारलाई कारबाही गर्ने र उक्त ठेक्काको काम उपभोक्तामार्फत गर्ने निर्णय गरिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिए।
एमके वाइपिजेभी निर्माण कम्पनीले २०१६ जुन १६ मा ठेक्का सम्झौता गरेको थियो। करिब १० करोड रुपैयाँकोे ठेक्कामा हालसम्म १३ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । बाँकी ८७ प्रतिशत काम भने अबको दुई महिनामा सम्पन्न गरिसक्नु पर्ने भएको छ।