चितवन राष्ट्रिय निकुञ्जभित्र गुलेली र विषालु च्याउसहित समातिएका नेचर गाइड सैनिकको कुटपिटबाट घाइते भएका छन्।
बिहीबार सौराहा नजिकै खोरसोर क्षेत्रबाट नेचर गाइड गोबिन्द राउत शंकास्पद अवस्थामा पक्राउ परेको निकुञ्ज सुरक्षार्थ खटिएको सैनिक स्रोतले जानकारी दियो।
रत्ननगर नगरपालिका-७ का राउत दुधौरा पोष्टबाट गस्तीमा रहेका सैनिकहरुको कुटपिटबाट घाइते भएका थिए। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले शंकास्पद अवस्थामा पक्राउ परेका नेचरगाइड र गस्तीमा रहेका सैनिकहरुबीच हात हालाहालको अवस्था आएको जनकारी पाएको बताए।
‘नेचर गाइडले सामान्य आचारसंहिता पनि पालना नगरेको देखियो। सैनिकले सचेत गराउन खोज्दा हात हालाहाल भएको जानकारी छ। ती नेचर गाइडको ट्रयाक रेकर्ड पनि राम्रो देखिएको छैन। हामी यस विषयमा भेरिफाइ गर्दैछौं,’ पन्तले भने।
नेचर गाइड एसोसिएशन चितवन सौराहाका अध्यक्ष अनिल गुरुङले नेचर गाइड घाइते भएर उपचारमा रहेको बताए।
‘पक्राउ परेपछि कानुनअनुसार कारबाही गर्नु पर्दथ्यो। कुटपिट गर्नु गलत हो,’ गुरुङले भने, ‘नेचर गाइड पनि गुलेली बोकेर निकुञ्ज जान मिल्दैन। घाँस पनि लिएर आउन कानुनले दिँदैन।’