सर्वसाधारणको ज्यान जाने गरि सिरियामा भैरहेको शृंखलाबद्ध आक्रमणप्रति सुर्खेतका विद्यार्थीहरूले बुधबार विरोध जनाएका छन्।
स्थानीय एड्भान्स वेटर इङ्लिस मिडियम सेकेन्डरी स्कूल, एडभान्स स्कूल काउन्सिलका विद्यार्थीहरूले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिरियामा भएको बम आक्रमणको निन्दा गरेका छन्।
आक्रमणबाट विद्यालय जाने उमेरका बालबालिकाको अधिकार कटौती भएको भन्दै यहाँका स्थानीय विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूसँग उक्त घटना रोक्न आग्रह समेत गरेका छन्।
काउन्सिलका अध्यक्ष चन्द्रा वलीले बालबालिकासहित सयौँ सर्वसाधारणको मृत्यु हुनेगरि भएको उक्त आक्रमणको निन्दा गर्दै सिरियाली सरकार र विद्रोहीबीचको आन्दोलनबाट निर्दाेष बालबालिका र सर्वसाधारणमाथि अन्याय भएको बताइन्।
‘विश्वका सबै बालबालिकाले स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार हनन भएको छ,’ उनले भनिन्, ‘उक्त घटनाको घोर भर्त्र्सना गर्दै तत्काल अधिकारका प्रत्याभूति गर्न आग्रह गर्दछु।’
सिरियामा भएको आक्रमणबाट बालबालिकाको संविधानले दिएको अधिकार हनन् भएको भन्दै एक छात्रा सीमा रावलले बालबालिकामाथिको अत्याचार रोक्न आग्रह गरेकी छन्।
काउन्सिलको आयोजनामा सिरियामा बालबालिकामाथि भएको हिंसा र हत्याको विरोधमा बुधबार वीरेन्द्रनगरमा शान्तिपूर्ण प्रदर्शन र द्वीप प्रज्ज्वलन गरिएको हो।