अर्घाखाँचीबाट विदेशिएका युवाले गाउँको विद्यालयमा कम्प्युटर तथा शैक्षिक सामग्री उपलब्ध गराएका छन्।
आफ्नो गाँस कटाएर माध्यमिक तहसम्मका विद्यार्थीलाई नि:शुल्क प्राविधिक कम्प्युटर शिक्षा हासिल गराउने उद्धेश्यले उनीहरूले सो सामग्री उपलब्ध गराएका हुन्।
२१ औँ शताब्दीमा कम्प्युटर शिक्षा बिना विदेश पुगेर आफूले निकै सास्ती खेप्नु परेको भन्दै विद्यार्थीलाई सानो कक्षादेखि नै कम्प्युटर शिक्षा दिन सकियोस् भन्ने उद्धेश्यले विद्यालयमा कम्प्युटर वितरण अभियान सुरू गरिएको सितगंगा सेवा समाजले जनाएको छ।
नि:शुल्क कम्प्युटर शिक्षा हासिल गरेपछि उनीहरूको जीवनशैली पनि फेरिन थालेको छ। ‘सुशासन समृद्धि र ऐक्यबद्धता, समाज सुधार हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित गठन भएकाे सितगंगा सेवा समाजले सितगंगा नगरपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयमा यही वैशाखसम्म आधुनिक शिक्षाको पहुँच पुर्याउने उद्धेश्यले कम्प्युटर तथा शैक्षिक सामग्री वितरण गर्ने तयारी भैरहेको संस्थाका अध्यक्ष कमल घिमिरेले बताए।
सितगंगा सेवा समाजले धन कमाउन विभिन्न देशमा पुगेका युवाहरूलाई संयोजक ताेकेर विदेशमा रकम संकलन अभियान संचालन गरेकाे छ।
जसमा साउदी अरबमा अरूण बेल्बासे , काेरियामा गाेविन्द खनाल , मलेसियामा झनक केसी, भारतमा जीवन पाैडेल, यूएईमा विष्णु पुन संयाेजक रहेका छन्।
केही विद्यालयमा शैक्षिक सामग्री पाएपछि कम्प्युटर शिक्षा लागू गरिएकाे छ भने कतिपय विद्यालयका विद्यार्थीहरूमा कम्प्युटर पढ्ने रहर हुँदाहुँदै पनि अझै लागू हुन सकेकाे छैन। कम्प्युटर प्रयाेगविहिन भएर काेठामा थन्किएका छन्।