पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ।
पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ।
मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नम्बर ५ मा पर्ने यस क्षेत्रका विभिन्न भागमा अहिलेसम्म गरिएका उत्खननका क्रममा यति धेरै स्थल पहिलोपटक भेटिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार दोस्रो धनी जिल्ला रुपन्देहीमा ९९ पुरातात्विकस्थल छन्। नवलपरासीमा करीब ४० पुरातात्विकस्थल रहेको जनाइएको छ।
स्थानीय तिलौराकोट, अरौँराकोट, कुदान, निगलिहवा, सगरहवा, गोटिहवा, दोहनी, प्राचीन स्तुप, सिसहनियालगायत स्थल यहाँका ऐतिहासिक महत्वका पुरातात्विकस्थलको रूपमा लिइएको छ।
प्राचीन नगरी तिलौराकोटमा तत्कालीन राजा शुद्धोदनको राजाप्रासाद रहेको स्थानलाई अहिले ३४ बिगाहा जमिनभित्र संरक्षण गरिएको छ। त्यस वरपर क्षेत्रका स्थानीयको जमिन पनि विभागले खरीद गरी थप खोज अनुसन्धान गर्ने योजना छ। सिद्धार्थ गौतमले २९ वर्षसम्म राजकीय जीवन बिताएर ज्ञानको खोजीमा निस्केको स्थल दरबारको भग्नावशेषका रूपमा छ।
एकसय वर्ष नाघेका स्मारकलाई प्राचीन स्मारक तथा त्यति नै वर्ष नाघेका वस्तुलाई पुरातात्विक वस्तुका रूपमा लिने गरिएको पुरातत्व अधिकृत सुभद्रा भट्टराईले बताए।
विगतमा करीब दुई दशक लामो समयसम्म देशमा जनप्रतिनिधिविहीन अवस्था हुँदा यस क्षेत्रका पुरातात्विक सम्पदा तथा स्थललाई सही तरिकाबाट संरक्षण तथा व्यवस्थापन हुन सकेको थिएन।
यो क्षेत्रलाई नेपालको ठूलो पर्यटकीयस्थलका रूपमा विकास गरी स्थानीय जनजीवनलाई लाभान्वित गर्न सकिने पुरातत्वविद् कोशप्रसाद आचार्य बताउँछन्। देशको अर्थतन्त्रमा योगदान पुग्न सक्ने विश्वास उनले व्यक्त गरे।
यहाँ माटोका भाँडाका टुक्रा, मूर्ति, चाँदीका सिक्का, फलामजन्य धातुका पदार्थको परीक्षणपछि ईशापूर्व ८०० मा सभ्य मानव संस्कृतिको बसोबास भएको तथ्य प्रकाशमा ल्याइएको छ भने यहाँ मौर्यकालका सम्पदासमेत पाइएको छ।
तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारका विभिन्न प्रमाणको खोजीसमेत भइरहेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए।
विभागसँगको समन्वयमा विभिन्न देशका पुरातत्वविद्बाट तिलौराकोट तथा त्यस वरपर क्षेत्रका स्थलको विभिन्न समयमा सर्भे तथा उत्खनन हुँदै आएको छ।
जर्मन विद्वान् फुहररले सन् १८९५ मा र कर्णेल वाडेलले सन् १८९८ मा तिलौराकोटको पुरातात्विक सर्वेक्षण पहिलो पटक गरेको इतिहास पाइन्छ। त्यसपछि भारतका पिसी मुखर्जीले दरबार क्षेत्रको धार्मिक स्मारकको नक्सांकन तथा वस्तुकलाको सरसफाइ गरेका थिए।
यो जिल्लाको क्षेत्रफल ६७१ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०६८ अनुसार दुई लाख ८५ हजार ५९९ पुरुष, दुई लाख ८६ हजार ३३७ महिला गरी कूल पाँच लाख ७१ हजार ९३६ जनसंख्या छ।
इशापूर्व तेस्रो शताब्दीमा अशोकले उल्लेख गरेका प्रमाण, पाँचौँ शताब्दीमा चिनियाँयात्री फाहियान र सातौँ शताब्दीमा ह्वेनसाङले यस क्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका प्रतिवेदनले पनि त्यहाँको खोज र अनुसन्धानलाई सहज बनाएको छ।
रासस