ठूलो परिमाणको लागूऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
उनीहरूका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०/२० थान एम्पुल तथा गाँजा २५ ग्राम बरामद गरेको उनले जानकारी दिए।
इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनामाथि लागूऔषध ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ।
रासस