अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनाले परिचयपत्र पाएका छन्।
करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाएका हुन्।
शिविरमा ३८ जनालाई रातो, १०० जनालाई निलो, १४९ जनालाई पहेँलो र ६७ जनालाई सेतो परिचयपत्र वितरण गरिएको करूणा फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिए।
रातो र निलो परिचयपत्र पाउनेले राज्यबाट क्रमशः मासिक दुई हजार रुपैयाँ र ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन्।
शिविरमा उनीहरूलाई स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।
अपाङ्गता भएका कारण परिचयपत्र बनाउन नसकेका लागि करूणा फाउण्डेशनले उनीहरूको घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराउने कार्यमा सहयोग गरेको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताए।
रासस