पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ। सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ।
दुई लेनको उक्त सडक कालोपत्र गर्न एक अर्ब २० करोड २० लाख रुपैयाँमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिए।
तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै निर्माण पूरा हुने उनको भनाइ छ।
हुलाकी सडक निर्माणको काम सुरू भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन्। सडक निर्माण भए मधेशको विकासले गति लिनाका साथै हजारौँ युवाले रोजगारी पाउने स्थानीयवासीको भनाइ छ। यसअघि सो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए।
निर्माण सुरू भएसँगै सडकभित्र पर्ने रुख काट्न थालिएको छ भने सडक किनारामा बनाइको घर छाप्रो धमाधम हटाउन थालिएको छ। सडकमा माटो हाल्ने काम भइरहेको छ भने कतिपय ठाउँमा पुल नहुँदा समस्या भएको सडक निर्माणमा खटिएका प्राविधिकले बताएका छन्।
रासस