नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो। नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज५प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
तालाबन्दीका कारण कलेजको पठनपाठन प्रभावित
यसैगरी, विद्यार्थीले एक साताअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ। नियमित पठनपाठनको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्ययनरत करीब ४ सय विद्यार्थीको पठनपाठन पूर्ण रूपमा प्रभावित भएका छन्।
कलेजमा तालाबन्दी गरे पनि कलेज प्रशासन कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले आइतबार आगजनीसमेत गरेका थिए। आक्रोशित विद्यार्थीले कलेजको डेक्स र बेन्चबाहिर ल्याएर आगजनी गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो।
रासस