पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ।
उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो।
सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा पुल निर्माण गर्न लागिएको जनाइएको छ। सुनकोशीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए।
उनका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ। हाल झोलुङ्गे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस्थल हलेसी र गाईघाट आवतजावत गर्ने सबैभन्दा छोटो सडकमार्ग खुल्ने बताइएको छ।
पुल निर्माण भएपछि खोटाङबाट प्रदेशको राजधानी जान–आउनसमेत सहज र छिटो हुने जनाइएको छ। सुनकोशीको दुवैतर्फ सडक निर्माण भएको वर्षौँ बितेपनि बतासेघाटमा पक्की पुलको अभाव छ।
सुनकोशीमा पुल बनेपछि हाल पूर्वी तराईबाट कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–सुनकोसी गाउँपालिकाको बतासेघाट–हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको होलेसुङ –जनकराज राई मार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने जनाइएको छ।
बतासेघाटमा पुल निर्माण भएपछि आवत जावतबाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने प्रमुख राईले बताए।
पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। सुनकोशी गाउँपालिकाका कतिपय स्थानीयवासीले काठमाडौं जानेक्रममा उपयोग गर्दै आएको बतासेघाटमा पुल निर्माणका लागि गाउँपालिकाले गत साउन १९ गते भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयसमक्ष निवेदन दिएको थियो।
बतासेघाटमा पक्की पुल बनेपछि दाजिर्लिङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा क्षेत्र पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ। खोटाङतर्फ दुर्छिमका स्थानीयवासीले अढाई वर्ष लगाएर निर्माण गरेको दलस्वर चोकदेखि सुनकोशीको बतासेघाट जोड्ने १२ किलोमिटर होलेसुङ –जनकराज राई मार्ग २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो।
रासस