‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए।
आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो। केरुङ मार्ग, रेल मार्ग तथा विभिन्न महत्वपूर्ण विकासका योजनाहरू चितवन छोएरै जाने भएकाले पनि चितवन महत्वपूर्ण जिल्लामा दरिने विश्वास उनको थियो। दाहालको थप कथन थियो, ‘चितवन आर्थिक विकासको ‘हब’ बन्नेवाला छ।
अहिले चितवन प्रदेश मुकाम तोकिएन। प्रदेश मुकाम नभएपनि चितवनलाई कुनै विस्मात छैन। चितवनका राजनीतिक दल, उद्योगी व्यवसायी तथा सर्वसधारण समेत यसमा सचेत छन् ।
जहाँ राजधानी भएपनि जनताको सेवा सर्वसुलभ हुनुपर्छ त्यही भए पुग्छ भन्ने चितवनवासीको धारणा छ। सिंहदरबारको अधिकार स्थानीय तहबाटै प्राप्त हुन्छ। त्यसका लागि मुकामको बाटो ताक्नु पर्दैन। चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता कृष्णभक्त पोखरेल चितवन प्रदेश राजधानी हुने अथाह सम्भावना भएको जिल्ला हो भन्छन्।
मुकाम बन्दैमा विकास हुन्छ भन्नु भ्रम हो। पोखरेल भन्छन्, ‘अब चितवनलाई आर्थिक विकासको सहर भने बनाउन सकिन्छ, बनाइन्छ।’ विभिन्न जिल्लामा अहिले प्रदेश मुकाम नबनाइएको आक्रोशमा आन्दोलन चलिरहेको छ। कतिपय मुकाम भौगोलिक हिसाबले अमिल्दो पनि भएको होला। तर अहिलेको केन्द्र भने अस्थायी हो। स्थायी बनाउँदा फेरि मिलाउन सकिने आधार रहेको विज्ञहरू बताउँछन्।
तर, स्थायी तोक्दा हेटौंडाबाट सरेर भक्तपुर जाने पो हो कि भन्ने थप चिन्ता छ कांग्रेस चितवनका सचिव उत्तम जोशीको। त्यसैले कि चितवन सार्ने नभए हेटौंडा नै कायम गर्न पहल गर्नुपर्नेमा जोड दिंदै जोशी भन्छन्, ‘चितवनलाई कृषि, औद्योगिक क्षेत्र र मेडिकल सिटीका रूपमा विकास गर्नुपर्छ।’
मुकामको विषयमा अन्य जिल्ला आन्दोलित रहँदा अहिले चितवन भने शान्त छ। चितवनलाई लिएर विगतमा केन्द्रीय राजधानीको चर्चा पनि नचलेको होइन। प्रान्तीय राजधानी बन्न पूर्वाधार समेत चितवनमा पर्याप्त रहेको कतिपयको दाबी छ। भौगोलिक अवस्था पनि खोट लगाउन सकिने खालको छैन।
सरकारले प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा कायम गरेको छ। झिनो आलोचना सुनिए पनि अब चितवनलाई आर्थिक राजधानी बनाउनुपर्नेमा अधिकांशको मतैक्यता छ।
उद्योग वाणिज्य संघ चितवनका नवनिवार्चित अध्यक्ष सहनलाल प्रधान भौगोलिक हिसाबले अमिल्दो भएको भए पनि हेटौंडा मुकामलाई विरोध जनाउनुभन्दा त्यसैबाट सेवा लिँदै चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन्।
हुन त यहाँ आर्थिक गतिविधिले तीव्रता पाउन थालेको लामो समय भैसकेको छ। यहाँ अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण तीव्र छ। शक्तिखोर औद्योगिक क्षेत्र बन्ने क्रममा छ।
नेपालको एक मात्रै आत्मनिर्भर व्यवसाय कुखुराको राजधानी चितवन नै भैसकेको छ। दूध, माछा, केरा, खाद्यान्न र पर्यटनका हिसाबले पनि अब्बल छ चितवन । चितवनमा उत्पादित खाद्यान्न तथा कृषिजन्य उत्पादन अधिक भएर अन्य जिल्लामा खपतका लागि पठाउनु परिरहेको छ ।
मेडिकल सिटीको रूपमा विकास भैरहेको चितवन राजधानीपछि कै महत्वपूर्ण मेडिकल सेवा दिनेमा पर्छ। नेपालको मध्यभागमा पर्ने भएकाले पनि चितवनको छुट्टै विशेषता छ। नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका हरेक क्षेत्र पर्यटकीय सम्भावनायुक्त भएकाले पर्यटन र कृषिको विकास गरी नमूना सहर बनाउन सकिने क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालको प्रतिक्रिया छ ।
चितवनलाई ७८औँ जिल्लाको रुपमा हेरिन्छ। हरेक क्षेत्रका मानिसहरुको यहाँ बसोबास छ। नारायणगढ व्यापारिक केन्द्रको रूपमा परिचित छ।
शनिबार मात्रै राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी सम्बन्धी एक गोष्ठीमा आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले चितवनमा आर्थिक विकासको अथाह सम्भावना भएको उल्लेख गर्दै गर्न सके १० वर्षमा यो उत्कृष्ट सहर बन्ने बताए। उनको जोड विकासका लागि सार्वजनिक निजी साझेदारीमा थियो।
चितवनबाट हेटौंडा पनि धेरै टाढा छैन। विगतका अञ्चल र क्षेत्रीय कार्यालयहरू हेटौंडा मै छन्। चितवनबाट ७५ किलोमिटर दूरीमा रहेकाले जान करीब १ देखि १ः३० घण्टा मात्रै लाग्छ। त्यसैले, पनि राजधानीको सेवा लिन चितवनवासीलाई गाह्रो छैन।
विगतमै चितवन विकासको गुरुयोजनासमेत निर्माण भैसकेकाले पनि यसलाई ध्यान दिएर विकासका खाका तीव्रत्तर रूपमा अघि बढाउनु जरूरी भएको ठान्छन्, तत्कालीन गुरुयोजना निर्माण समितिका संयोजक तथा हाल चितवन २ का प्रदेशसभा सदस्य विजय सुवेदी ।