घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन्।
प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरीद तथा निर्माण कार्यका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो। जसअन्तर्गत वडा नं १ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ६३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।
त्यसैगरी वडा नं ६ को कम्पाउण्ड पर्खाल निर्माणमा अपुग १३ लाख रुपैयाँ, वडा नं ७ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि ७३ लाख रुपैयाँ तथा वडा नं ८ को अधुरो भवन निर्माणसहित कम्पाण्ड पर्खालका लागि ४८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। केही वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह भइरहेको छ। आफ्नै वडा कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा समेत सहजता आउने उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताए।
महिला उद्यमी संघको अध्यक्षमा थापा दाङ जिल्ला उद्योग वाणिज्य संघमा आबद्ध महिला उद्यमी संघको अध्यक्षमा विष्णु थापा निर्वाचित भएकी छन्। थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। उपाध्यक्षमा केशरा पोख्रेल, सचिवमा जिवा भुसाल, सहसचिवमा मीना लम्साल र कोषाध्यक्षमा प्रभा वली रहेका छन्। समितिका अन्य सदस्यहरूमा तुलसा शाक्य, गोमा शर्मा, गोमा भुसाल र श्रृजना रावत रहेका छन्। सल्लाहकारमा विना खनाल रहेकी छन्।