कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ।
शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए। पच्चीस दिनदेखि घामको मुख देख्न नपाएका उनीहरू यस वर्षको शीतलहर धेरै वर्षपछि लामो समयसम्म चलेको बताउँछन्।
औधापुर–२ का सञ्जय शास्त्रीले भने, ‘विगत वर्षहरूमा दुई तीन दिन शीतलहर चलेपछि घाम लाग्थ्यो, यसपालि लगातार २५ दिन भइसक्यो, घाम लागेको छैन।’ शीतलहरका कारण बस्तीमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। जाडो बढेसँगै विद्यालय करीब १० दिनका लागि बन्द गरिएकामा आजदेखि खुलेका छन्।
स्थानीय प्रशासन र स्थानीय तहले शीतलहर पीडितलाई केही न्यानो कपडा तथा आगो ताप्न दाउराको प्रबन्ध मिलाए पनि पर्याप्त छैन। कलैया उपमहानगरपालिका–२ का वडाध्यक्ष राजेश मण्डलले वडाका अतिविपन्न परिवारलाई करीब १५० घरपरिवारलाई न्यानो कपडा र कम्बल वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताए।
उनले जाडाबाट बच्न स्थानीय चोक- चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको जानकारी दिए। तीन सातादेखि एक्कासी चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्नेक्रम नरोकिएपछि औधापुरलगायत तराईका जिल्लामा घाम देख्न मुश्किल पर्छ। ‘पुस माघ महिनामा तराईमधेशमा शीतलहर हुन्छ भन्ने सरकारलाई थाहा छ र त्यहाँको जनजीवन कष्टकर हुन्छ भन्ने पनि सरकारलाई अवगत नै छ, तर सरकारले यसबारे बेलैमा सतर्कता नअपनाउँदा प्रत्येक वर्ष मानवीय क्षति हुने क्रम रोकिएको छैन’, शास्त्री भन्छन्।
चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ। अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ।
स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ। चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्ना टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापी बसेको देख्न सकिन्छ।
तराईमा चिसाका कारण ज्यान जाने नियमित प्रक्रिया जस्तै भएको छ। सरकारले चिसो र शीतलहर प्रभावितलाई जोगाउन बेलैमा सतर्कता नअपनाउँदा बर्सेनी शीतलहरबाट तराईका जिल्लामा धेरैको ज्यानसमेत जाने गरेको छ।