महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ।
विगत ११/१२ दिनदेखि निरन्तररूपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपंक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ।
चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन्।
असह्य जाडो भइरहेको बेला जिल्लामा बिरामीको संख्यामा पनि उल्लेख्य रूपमा वृद्धि हुँदै गइरहेको जिल्लास्थित विभिन्न स्वास्थ्य संस्थाले जानकारी गराएका छन्।
यता जतिजति जाडो बढ्दै गइरहेको छ, त्यतित्यति जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको विक्रीमा बढोत्तरी हुँदै गएको छ भने चिसोकै कारण जिल्लाका हाट बजारमा मानिसको उपस्थिति न्यून हुँदै गएको छ ।