प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रभावित भएको छ।
कुइरो लागेका कारण भद्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिवि आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताए।
गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान रद्द भएपछि मर्कामा परेका थिए। बुद्ध, यति, श्रीलगायतका एयरलाइन्सले उडान रद्द भएकामा यात्रुसँग क्षमायाचनाको सञ्चार गराइरहेका थिए ।
विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करीब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् ।
आन्तरिकतर्फ हेलिकप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
यता अन्तर्राष्ट्रियतर्फ भने बढीमा आधाघण्टा आकाशमै अडिने (होल्ड) भए पनि नियमित उडान भइरहेको विमानस्थलले जनाएको छ।
हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानपख तराई क्षेत्रमा बाक्लो कुइरो लागे पनि अपराह्नतिर केही सुधार आएको छ। अहिले काठमाडौंलगायत पूर्वी तराई भेगमा आंशिक बदली रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।
उनका अनुसार अझै केही दिन बिहान बाक्लो कुइरो लागे पनि दिउँसोतिर आंशिक बदलीको अवस्था रहेन अनुमान छ। आज काठमाडौं उपत्यकाको न्यूनतम ४.६ र अधिकतम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।