स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् ।
अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रिम भुक्तानी लिएकामा एकाएक आज बेपत्ता भएपछि ग्राहकहरू विचल्लीमा परेका हुन्।
बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा उपलब्ध गराउने आश देखाएर ग्राहकले एक लाख रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म रकम अग्रिम भुक्तानी गरेका र आज सबैलाई तोकिएका सामान उपलब्ध गराउने भनेकाले पसलमा आउँदा बन्द देखेपछि सबै आश्चर्यचकित भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले अक्सिजन ट्रेडर्सका मालिक राजेन्द्रले ग्राहकलाई ठगेर बेपत्ता भएको उजुरी कार्यालयमा परेको र निजको खोजी कार्य भइरहेको जानकारी गराए।