ट्रयाक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो।
रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ। सडक मर्मत गरेपछि दोर्पा चिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सो बाटोको उद्घाटन गरे।
करिब २२ किमी लम्बाइ रहेको सडक उद्घाटनका लागि दिक्तेलबाट जिप लिएर दुम्ली– दोबेला पुग्दा हर्षित स्थानीयले अतिथिलाई फूलमालाले स्वागत गरेका थिए । ३० लाख रुपैयाँको लगानीमा दिक्तेल–दुम्ली–रतन्छा सडकको दिक्तेलको अस्पताल चोकबाट ट्रयाक खोल्न थालिएको थियो।
सडक निर्माणका क्रममा पुरानो र नयाँ निर्माण उपभोक्ता समितिमार्फत करोड बढीको खर्च भएको बताइएको छ। निर्माण कार्य सकिएको लामो समयपछि सडक सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन्।