साढे चार हजार वर्षभन्दा अघिको कुरा हो।
इजिप्टका राजा–महाराजाको निधनपछि अहिलेजस्तो गाड्ने वा जलाउने चलन थिएन। विशाल संरचना बनाएर त्यसैभित्र शव सुरक्षित राख्ने गरिन्थ्यो भन्ने मानिन्छ।
त्यही विशाल संरचनालाई ‘पिरामिड’ भनिन्छ, जसले आधुनिक युगसम्म यो अफ्रिकी देशको शान बढाएको छ।
पिरामिड संरचना आफैंमा भव्य त छँदैछ, यसको गर्भभित्र प्राचीन सभ्यताको थुप्रै रहस्य पनि लुकेका छन्। बुद्धकालीन अनुसन्धानकर्ता हेरोडोटसबाट सुरु यसको खोज आधुनिक युगमा आइपुग्दा पनि एकछेउसम्म पुग्न सकेको छैन। अनुसन्धानकर्ताले प्रयास भने जारी राखेका छन्।
यही क्रममा अत्याधुनिक ‘लेजर’ प्रविधिबाट गरिएको पिरामिड अनुसन्धानले केही नयाँ तथ्य उजागर गरेको छ। यसले भौतिकशास्त्रका वैज्ञानिक मात्र होइन, इतिहासकार, पुरातत्वविद् तथा मानवशास्त्रीसमेत दंग छन्।
इजिप्टका प्राचीन सम्राट पाराओ खुफूले इसापूर्व २५०९ देखि २४८३ बीच बनाएको यो पिरामिड चन्द्रमाबाट पनि देखिन्छ। भित्र चिहाउन भने अनुसन्धानकर्ता सफल हुन सकेका छैनन्। अत्याधुनिक लेजर प्रविधिले यही कोशिस सफल बनाएको छ। मान्छेको शरीरमा एक्सरे गरेर भित्र हेरेजस्तै पिरामिडको सतहबाट लेजरका किरण भित्र पठाइन्छ। त्यो किरणले भित्री संरचनाको तस्बिर उतार्ने वैज्ञानिक बताउँछन्।
यसरी नै किरण पठाएर हेर्दा पिरामिडभित्र यस्तो संरचना फेला परेका छन्, जसले अनुसन्धानकर्तालाई चकित पार्यो।
यो पछिल्लो अनुसन्धान राजा खुफूकै सबभन्दा ठूलो पिरामिडमा गरिएको हो। यसभित्र दुईवटा ठूला कोठा र त्यसको बीचमा गल्लीजस्तो संरचना फेला परेको छ। कोठाबारे अनुसन्धानकर्तालाई पहिल्यै थाहा थियो। यी राजा खुफू र उनकी रानीको कोठा हो भन्ने मानिन्छ। दुई कोठाबीच देखिएको खाली भागले भने अनुसन्धानकर्तालाई छक्क पारेको छ।
करिब १०० फिट लामो सुरूङजस्तो उक्त खाली भागलाई अनुसन्धानकर्ताले ‘भोइड’ भनेका छन्। किनकि, यो वास्तवमा के हो भन्ने नै थाहा छैन। उनीहरूले राजा र रानीको कोठाबीच यस्तो रिक्त भाग फेला परेकाले ‘दुई कोठा जोड्ने मार्ग’ हुनसक्ने अनुमान गरेका छन्।
यसमा सबै एकमत भने छैनन्।
यो रिक्त भाग राजाको ‘ग्यालरी’ पनि हुनसक्ने केही अनुसन्धानकर्ताको धारणा छ। केहीले भने संरचनाको सन्तुलन मिलाउन त्यो खाली भाग बनाइएको हुनसक्ने बताएका छन्। ठूल्ठूला कोठायुक्त पिरामिडमा भार नपरोस् भनेर सन्तुलन मिलाउन भित्र यस्तो खाली भाग राखिएको हुन सक्ने उनीहरूको अनुमान छ। अन्य थुप्रै प्राचीन स्मारकमा पनि यस्ता संरचना भेटिन्छन्। अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ भित्र यस्तै खाली भाग छ।
‘यो कुनै कोठै हो, सुरूङ हो वा ग्यालरीजस्तै कुनै भाग हो भन्ने हामीलाई थाहा छैन,’ पिरामिड अनुसन्धान गर्दै आएको स्क्यान पिरामिड आयोजनाका सह–निर्देशक मेहदी तायोबीले भने, ‘यसलाई हामीले ‘भोइड’ नाम दिएका छौं, किनकि यो के हो भन्ने अनुमान छैन।’
धेरै पुरातत्वविदले यो खोजबाट प्राचीन इजिप्ट र त्यतिबेलाको जनजीवनबारे केही नयाँ तथ्य उजागर होला भन्ने आशा गरेका छन्।
सबभन्दा ठूलो पिरामिड बनाएका इजिप्टका सम्राट खुफूबारे पुरातत्वविदलाई एकदमै थोरै मात्र जानकारी छ। तत्कालीन समयका सबभन्दा शक्तिशाली र आफ्नो वंशकै चौथा सम्राट मानिने खुफूबारे अहिलेसम्म थाहा भएको कुरा एउटै छ– तीन इन्चको मूर्ति। यो पिरामिड खोतल्न सके खुफूबारे थप रहस्य खुल्ने खोजकर्ताको आस छ।
सन् २०१५ देखि डाक्टर तायोबी र उनका सहकर्मी मिलेर यहाँ अनुसन्धान गरिरहेका छन्। अनुसन्धानमा भौतिकशास्त्री तथा इञ्जिनियरहरूको तीन टोली संलग्न छन्। यसले पिरामिडभित्रको तस्बिर उतार्न ‘लेजर’ प्रविधि प्रयोग गरिरहेको छ। यो प्रविधि नोबेल विजेता भौतिकशास्त्री लुइस अल्वारेजले प्रयोगमा ल्याएका थिए।
सन् १९६० दशकमा अल्वारेजले यही प्रविधिबाट इजिप्टका अर्का सम्राट खाफ्रेको पिरामिडमा कोठा छन् कि छैनन् भनी खोज गरेका थिए। उनको नतिजा सकारात्मक आएको थियो, जसले पिरामिडभित्र कोठा–कोठा बनेका हुँदा रहेछन् भन्ने छर्लंग भयो।
दसकौंदेखि विकास हुँदै आएको यही प्रविधि परिस्कृत रूपमा खुफूको पिरामिडमा प्रयोग गरिएको हो।
ज्वालामुखीको भित्री संरचना पत्ता लगाउन पनि यही प्रविधि प्रयोग हुँदै आएको छ।
लस आलामोस राष्ट्रिय प्रयोगशालामा यही प्रविधिबाट काम गर्दै आएका भौतिशास्त्री क्रिस्टोफर मोरिसले यो नयाँ तथ्यलाई ‘आश्चर्यजनक’ भनेका छन्।
‘आगामी दिनमा पनि यो प्रविधिबाट यस्तायस्तै पुराना संरचना खोतल्न सकिने देखिन्छ,’ उनले भने, ‘जुन भौतिकशास्त्रीले यो प्रविधि प्रयोग गर्न सक्थे तर गरेनन्, उनीहरू आजको उपलब्धिबाट आरिस गरिरहेका हुन सक्छन्। यो उपलब्धिको निम्ति टोलीलाई पुरस्कृत गर्नुपर्छ।’
मेक्सिकोको नेसनल अटोनोमोस विश्वविद्यालयका भौतिकशास्त्री डा. आर्टुरो मेन्काका रोका पनि यो भनाइसँग सहमत छन्।
‘यही प्रविधिबाट हामी मेक्सिकोको ‘पिरामिड अफ सन’ को भित्री संरचना खोतल्दै आएका छौं,’ उनले भने।
यही टोलीले सन् २०१६ मा पनि खुफू पिरामिडको उत्तरतर्फ स–साना गल्लीजस्ता खाली भाग फेला पारेको थियो। यसपालिको खोज त्यसैको निरन्तरता हो।
पुरातत्वविदहरू भने यो अनुसन्धानप्रति आलोचनात्मक छन्।
प्राचीन इजिप्ट अनुसन्धान संस्थाका विज्ञ मार्क लेनरले यसको खोजलाई विशेष उपलब्धि मानेका छैनन्। पिरामिडभित्र यस्ता खाली भाग छन् भन्ने पहिल्यै थाहा भएको उनको भनाइ छ।
‘पिरामिडभित्र देखिएको खाली भागलाई राजा र रानीका कोठा जोड्ने बाटो, ग्यालरी वा अन्य कुनै विशेष संरचना हो भनेर अनुमान गर्न थालिएको छ, तर मलाई त्यस्तो लाग्दैन,’ उनले भने, ‘चिहानभित्र त्यस्तो बाटो वा ग्यालरीको आवश्यकता किन पर्यो?’
इजिप्टको पुरातत्व मन्त्रालयले नियुक्त गरेका अर्का विज्ञ तथा पूर्वमन्त्री जाही हवासले पनि पिरामिड अनुसन्धानबाट कुनै नयाँ उपलब्धि हासिल नभएको भन्दै ‘प्राप्त नतिजा समीक्षा गरिनुपर्ने’ बताएका छन्।
‘उनीहरूले कुनै नयाँ कुरा भेटेका होइनन्,’ उनले भने, ‘उनीहरूले भनेको कुरा हामीलाई पहिल्यै थाहा थियो, यसले इजिप्ट अनुसन्धानमा एउटा पनि इँटा थप्दैन।’
यति हुँदाहुँदै मोरिस र हवास यो अनुसन्धानलाई निरन्तरता दिनुपर्नेमा भने सहमत छन्।
लेजर प्रविधिबाट गरिने अनुसन्धानले पिरामिडको वास्तविक आकार, बनोट र त्यसभित्रका नयाँ–नयाँ संरचना पत्ता लाग्न सक्ने उनीहरूको भनाइ छ।
पिरामिड अनुसन्धानमा संलग्न अधिकारीहरू पनि यस्ता आलोचना सहज रूपमा लिन्छन्।
अनुसन्धानमा संलग्न अर्का सह–निर्देशक हेनी हेलानले आलोचनामा प्रतिक्रिया दिँदै भने, ‘हामीले इञ्जिनियरिङको आँखाबाट यसको भित्री संरचना हेरेका हौं, पुरातत्वविदको दृष्टिले होइन। पिरामिडको संरचना सन्तुलनमा राख्न मात्र यो खाली भाग बनाइएको मान्ने हो भने पनि यति ठूलो क्षेत्रफल चाहिँदैन। त्यसैले, यो तर्क मान्ने आधार छैन।’
यो खाली भाग किन राखिएको भन्नेबारे थप अनुसन्धान जरुरी भएकोमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय पुरातत्वविदसँग यसबारे छलफल गरिने बताए।
भविष्यमा वैज्ञानिकहरूले ‘ड्रोन’ का मध्यमबाट त्यो खाली भाग अनुसन्धान गरेर थप तथ्य पत्ता लगाउन सक्ने उनको आशा छ।
‘त्यहाँ गल्लीजस्तो विशाल खाली भाग छ भन्नेमा हामी निश्चित छौं,’ उनले भने, ‘हामीलाई यो अनुसन्धान जारी राख्न दिउँ।’