अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली अहिले यसको चरम चपेटामा छ। त्यस्तै युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलने क्रममा छ।
नेपालमा यो लेख तयार गर्दासम्म एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तर कोरोना भाइरसको संक्रमण फैलिन थालेमा त्यसको नियन्त्रण भने नेपालको क्षमता भन्दा बाहिरको कुरा हो। त्यसैले कोरोना भाइरसको संक्रमण हुन नदिन, भए पनि त्यसलाई फैलन नदिन नेपाल सरकारको जति भूमिका रहन्छ, त्योभन्दा बढी हामी सबैको रहन्छ।
कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ। केही प्रभाव भइसकेका छन्। त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ।
हामीले सामाजिक उत्तरदायित्व जति कुशलतापूर्वक निर्वाह गर्नेछौँ, त्यति सहजै हामीले कोरोना भाइरस संक्रमण तथा यसका संभावित सामाजिक, आर्थिक, सांस्कृतिक प्रभावहरु न्यूनीकरण गर्न सक्नेछौँ।
सर्वप्रथम विभिन्न व्यक्ति तथा संस्थाहरुले कोरोना भाइरसको सन्दर्भमा गरेका सामाजिक उत्तरदायित्वका केही दृष्टान्तहरु हेरौँ।
दृटान्त १
भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल भन्दै आफ्नो ट्वीटर नाम परिवर्तन गरेर नियमित हात धौऔँ (वास् योर ह्यान्ड) राखेका छन्। पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अनुरोधमा नेपाल टेलिकमले कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक सिआरबिटी राखेको छ।
दृटान्त २
एसियाका सबैभन्दा धनाढ्य व्यक्ति चिनियाँ नागरिक एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक माले नेपाल लगायतका १० एसियाली मुलुकहरुलाई एक लाख ८० हजार मास्क, दुई लाख १० हजार टेस्ट कीट, ४६ हजार प्रोटेक्टिभ सुट्स, भेन्टिलेटर तथा थर्मोमिटर इमेर्जेन्सी सप्लाइजको रुपमा जति सक्दो छिटो उपलब्ध गराउने घोषणा गरे।
दृटान्त ३
नेपालका मिडियाले निरन्तर रुपमा कोरोनासम्वन्धी विविध समाचार सामाग्रीहरु प्रस्तुत गरिरहेका छन्। अनलाइन मिडियाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा यसका विविध आर्थिक, सामाजिक प्रभाव न्यूनीकरणका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले निर्वाह गरेका सामाजिक उत्तरदायित्वहरुलाई समाचार सामाग्रीका रुपमा प्रस्तुत गरिरहेका छन्। एउटा राष्ट्रिय दैनिक पत्रिकाले कोरोनासँग जुध्न नागरिकको दायित्वलाई औल्याउँदै आफ्नो सम्पादकीय नै लेखेको छ।
त्यस्तै खोज पत्रकारिता गर्ने एउटा मिडिया हाउसले विभिन्न अत्यावश्यकीय वस्तुहरुको कालोबजारी गर्नेहरुको पर्दाफास गरिरहेको छ। साथै वीरगञ्जस्थित संस्कृति नामक एक संस्थाले कोरोना संक्रमणको लक्षण र जोगिने उपायहरु समेटिएको पोस्टरहरु अवधि, थारु, भोजपुरी, तामाङ लगायत विभिन्न भाषामा बनाएर सोसल मिडियामार्फत सेयर गरिरहेको छ।
दृष्टान्त ४
मेरो एक जना साथी अहिले पब्लिक हेल्थमा मास्टर्स गर्दै छन्। हिजोआज उनी दैनिक २५–३० वटा फेसबुक पोस्टहरु गर्छन्। जसको विषयवस्तु डव्लुएचओका कोरोना सम्बन्धी सार्वजनिक धारणाहरु, तथ्यांक, कोरोनाबाट बच्ने उपायलगायत विविध उपयोगी लेख, अन्तर्वार्ता तथा मानिसलाई आइसोलेसनमा बस्न सुझाइएका सकारात्मक सन्देशहरु रहने गरेका छन्।
त्यस्तै मेरा चिकित्सक साथीहरुले कोरोनासम्बन्धी स्वास्थ्य सामाग्रीहरु तथा नेपालको स्वास्थ्य क्षेत्रको क्षमताबारे प्रकाश पार्दै फेसबुक पोस्टहरु राखिरहेका छन्।
दृष्टान्त ५
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी प्रणालीलाई सहज बनाउन मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइपिएस, तथा एटिएमबाट हुने कारोबारहरु निःशुल्क गरेका छन्। इसेवाले आफ्नो प्रयोगकर्तालाई देशभित्रको जुनै पनि ठाउँमा निःशुल्क पैसा पठाउने व्यवस्था गरेको छ। त्यस्तै विभिन्न व्यक्तिहरुले आफ्ना घर तथा होटेल क्वारेन्टाइनका लागि उपलव्ध गराएका छन्।
दृटान्त ६
लोकप्रिय गायक दीपक बज्राचार्य र उनको ब्याण्ड समूह अष्ट्रेलियाबाट नेपाल फर्केपछि अहिले १४ दिने सेल्फ क्वारेन्टाइनमा छन्।
यी दृटान्तहरुले के देखाउँछ भने कोरोना भाइरसले निम्त्याएको मानवीय संकटसँग जुध्न विभिन्न व्यक्ति तथा संस्थाहरुले आआफ्नो क्षेत्रबाट आफ्नो सामर्थ्यले भ्याएसम्मको सामाजिक दायित्व बहन गरिरहेका छन्। वास्तवमा यो संकटको घडीमा हामीले आम मानिस, सार्वजनिक संस्था तथा निजी क्षेत्रबाट अपेक्षा गर्ने भूमिका यही नै हो।
त्यस्तै सरकारले गरेका अनुरोधलाई स्वीकार्दै सबै घरमै बसिदिए, अनावश्यक हिँडडुल तथा भीडभाड नगरिदिए भने त्यो नै कोरोना भाइरसविरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार हुनेछ। यसैगरी स्वाथ्यकर्मी, सेना, प्रहरी, सरकारी अधिकारी तथा अत्यावश्यक सेवा प्रदायक संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले यो समयमा आफ्नो पेसागत धर्म (प्रोफेसनल इथिक्स) पूर्ण इमानदारीका साथ निर्वाह गर्नुपर्ने देखिन्छ।
तर संकटको यस्तो घडीमा केही व्यक्ति तथा संस्थाहरु भने असामाजिक र गैरजिम्मेवार कार्यहरु गर्दैछन्। यो सामाजिक सञ्जालमा कोरोना भाइरससम्बन्धी विभिन्न अफवाह तथा भ्रामक हल्लाहरु फैलाउने समय होइन। अपुष्ट समाचारहरु फैलाएर मानिसलाई आतंकित गर्ने समय पनि होइन।
भाइरसले कुनै धर्मलाई चिन्दैन। जुनसुकै धर्म मान्ने मानिसहरु पनि कोरोना भाइरसबाट संक्रमित भइरहेका छन्। त्यसैले यो कुनै धर्मलाई उच्च देखाउने र कुनै धर्मलाई खुइल्याउने समय पनि होइन।
यो कालोबजारी गर्ने, सामानको स्टक लुकाउने वा थुपारेर राख्ने समय पनि होइन। नेपालमा कोरोना भाइरस छैन, मलाई त कोरोना भाइरसले छुँदैन भन्दै जथाभावी हिँडडुल गर्ने, भीडभाड गर्ने, आइसोलेसनमा नबस्ने, सोसियल डिस्टेन्सिङ कायम नगर्ने समय पनि होइन।
हामीले चीन र इटालीकै दृटान्तलाई लिने हो भने पनि चीनमा कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले लक डाउनलाई आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा लिँदै त्यसलाई निर्ममतापूर्वक पालना गरे भने इटालीका कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले गैरजिम्मेवार हुँदै पर्याप्त सावधानी अपनाउनतिर लागेनन्।
त्यसैले चीनमा यो नियन्त्रणमा आयो भने इटाली यसको चरम चपेटामा पर्यो। त्यसैले यो संकटको घडीमा हामीले जिम्मेवारपूर्ण सामाजिक व्यवहार देखाउने कि नदेखाउने भन्ने कुराले नै हाम्रो भावी दिशा र दशा दर्साउने निश्चित छ।
युवाहरुलाई त कोरोना भाइरसले असर गर्दैन भन्ने हल्ला फिजाइएको छ। त्यही भएर युवाहरुले कोरोना भाइरसलाई अलि बढी नजरअन्दाज गरेजस्तो देखिन्छ। तर युवाहरुले यस्तै बेफिक्री चाल देखाउने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्न मुख्य संवाहक बन्ने जोखिम यही समूहमा उच्च देखिन्छ। दक्षिणी नाका छेउछाउ बस्ने जनसंख्या यसको उच्च जोखिममा देखिएको छ। त्यतातिर पनि हाम्रो पर्याप्त ध्यान नगएको हो कि ?
हामीलाई थाहा छ, हाम्रो राज्यको क्षमता अति नै सीमित छ। हाम्रा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार तथा साधन स्रोतहरु सबै सीमित छन्। उदाहरणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूसँग कोरोना भाइरसका १५०० नमूनाहरु मात्र परीक्षण गर्न सक्ने क्षमता छ, हामीसँग उपलब्ध पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्टको संख्या ११५० मात्र रहेको छ भने निजी तथा सरकारी सबैतिर गरेर जम्मा ७०० वटा आइसियू बेड मात्र छन्।
विकसित देशहरुले त कोरोना भाइरस विरुद्ध लड्न सकिरहेका छैनन् भने हाम्रोमा यो भाइरस फैलियो भने यति सीमित स्रोत साधनले केही पनि गर्न सक्ने छैनौँ। तर पनि सामाजिक एकता र सामाजिक दायित्व वोधमा यस्तो शक्ति हुन्छ, जसले ठूलो संकटको घडीसँग लड्ने अभूतपूर्व सामर्थ्य दिन्छ।
त्यसैले बुद्धु बन्न छोडौँ, सबैले आफ्नो सामाजिक उत्तरदायित्व बोध गरौँ। सरकार र सरोकारवालाहरुले भनेका साना ठूला सबै कुराहरु दृढतापूर्वक पालना गरौँ, त्यसैमा हामी सबैको हित छ। यो नै कोरोना भाइरस विरुद्ध लड्ने हामीसँग उपलब्ध एउटै मात्र भरपर्दो हतियार हो, यसलाई खिया लाग्न नदिऊ।
आफू पनि घरमै बसौँ र अरुलाई पनि घरमै बस्न प्रेरित गरौँ।
(लेखक नेपाल बैंकका सहायक प्रबन्धक हुन्)