मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ।
आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि बुधबार ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा बुधबार नुवाकोटको प्रतिनिधि सभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए।
उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (माले)का उम्मेदवार जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नरेन्द्रप्रसाद फुयाँल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ हुन्।
यस्तै प्रदेशसभा क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार दामोदर थापा क्षेत्री र प्रदेश सभा सदस्य क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का दीपककुमार राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जन लोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा (प्रजातान्त्रिक)का मधुसुदन रिसालले पनि उम्मेदवारी फिर्ता लिए।
यस्तै, प्रदेश क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार शिवप्रसाद अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए।
यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।
यसैबीच एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवारी निवर्तमान सांसद् राज्यलक्ष्मी पाण्डेले काँग्रेस उम्मेदवारको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको र पार्टी नै परित्याग गरी काँग्रेस प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत घोषणा गरे।