वाम धुव्रिकरण एकीकरण केन्द्रीय संयोजन समितिका संयोजक ठाकुरप्रासद चापागाँईले वाम एकताबाट बाहिरिएर डा.बाबुराम भट्टराईले गम्भिर गल्ति गरेको आरोप लगाएका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संयोजक चापागाँईले गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकता सम्बन्धी गरिएको सम्झौताको मसी नसुक्दै बाबुराम भट्टराई बाहिरिनु मुलुक र जनताको हित विपरित काम भएको बताउँदै डा. भट्टराईलाई वाम एकतामै बस्न आग्रह गरेका छन्।
वाम एकताले समाजवाद ल्याउनको लागि अहम भूमिका खेल्ने दाबी गर्दै संयोजक चापागाँईले भने,‘एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति लगायत सबै वाम राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ, यो आजको आवश्यकता हो, दक्षिणपन्थीसँग टाँसिएर एउटा दुई वटा सिटको बार्गेनिङ गरेर डा.साहाब बाहिरिनुभयो, उहाँले गल्ति गर्नुभयो।’
उनले अघि थपे,‘७० वर्षको इतिहासमा यो वाम एकताको गृहकार्य अघि बढ्दैछ, यस्तो अवस्थामा बाबुराम बाहिरिनु बिडम्बना हो, बच्चापनको राजनीति गर्नु उहाँले सुहाउँदैन, विचार मिल्नेसँग प्राविधिक कुराहरू पनि मिल्छन्, काँग्रेससँग केही कुरा नै मिल्दैन, परम्परागत तरिकाले समाजवाद प्राप्त हुँदैन।’
जनता र मुलुकको हितको लागि वाम गठबन्धन आवश्यक रहेको निश्कर्षमा पुगेको भन्दै आफूहरूले वाम एकतालाई मजबुत बनाउने र एकताको धारमा बाँध्ने काममा हदैसम्मको प्रयास गर्ने एकीकरण केन्द्रीय संयोजन समितिले जानकारी दिएको छ।