राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सिईओ) युवराज भुसालले पालमुनि बसेका सबै भूकम्प पीडितलाई जेठ मसान्तभित्र नयाँ घर दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक भुसालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा इञ्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरूलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने विश्वास दिलाएका हुन्।
भुसालले भने,‘प्राधिकरणको नेतृत्वमा म चौंथो व्यक्ति हुँ, यसअघिका सबै सिईओले राम्रै काम गर्नुभएको हो, तर जनतालाई तत्काल परिणाम चाहिने भएकाले केही काम नभएको जस्तो देखिएको मात्रै हो, सबै सिईओलाई धन्यवाद छ, उहाँहरूले देखाएको बाटोलाई फराकिलो बनाएर हिँड्ने मेरो लक्ष्य छ।’
जीवनका ३४ वर्ष सरकारी सेवामा बिताएको जानकारी गराउँदै निर्देशक भुसालले भने,‘मैले सरकारी तहमा रहेर केही काम गर्ने अवसर पाएको छु, म राजनीतिक दबाबलाई वास्ता गर्दिन, कर्मचारीहरूले आफ्नो कर्तव्य पूरा गर्ने हो, मुलुक र जनताको सेवामा समर्पित हुने हो, अनावश्यक राजनीतिक दबाबलाई सुन्नुपर्छ भन्ने छैन।’
उनले अघि थपे,‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इञ्जिनियर उपल्ब्ध गराउने छौँ, इञ्जिनियरले नमानेको खण्डमा विकल्प खोजिनेछ, काम गर्ने मानिस चाहिएको छ, हामीले पीडित जनताका आँशु पुच्छनको लागि हातहरू उठाउनुपर्छ।’
उनले आफ्नो ३ वर्षे कार्यकालभरि कसैको दबाबमा नपरी जनताको हितमा काम गर्ने प्रण गर्दै भने,‘सरकारले मलाई ३ वर्षको जिम्मा दिएको छ, बाँकी केही समय पनि मैले पाउनेछु, यस अवधिमा धरहरा, बसन्तपुर दरबार, सिंहदरबार, रानीपोखरी र भूकम्प प्रभावित जिल्लाका संरचनालाई उठाउनेछु।’
सिईओ र सचिव परिवर्तन हुँदैमा तत्काल कुनैपनि काम नबन्ने बताउँदै निर्देशक भुसालले कुनैपनि काम विधि र विधानले चल्ने स्पष्ट पारे । उनले भने,‘कुनै निकायमा कर्मचारी बदल्दैमा काम हुँदैन, परिणाम निकाल्नको लाग त त्यहाँ विधि र नियम चाहिन्छ, त्यसैको आधारमा चल्न सक्ने मानिस चाहिन्छ, म त्यही मानिस हुँ, जेठ मसान्तभित्र भूकम्पपीडित जनताले घरमा बस्न पाउने स्थिति सिर्जना गर्नको लागि हामी रफ्तारमा लागिरहेका छौँ।’