नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनियुक्त मुख्य सचिव रेग्मीले संवैधानिक व्यवस्था अनुसार सुशासनलाई सदृढ र विश्वसनीय बनाउने कामलाई आफूले उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे।
बुधबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संविधानको प्रभावकारी कार्यान्वयनमा पनि आफूले जोड दिने उल्लेख गरे।मुख्य सचिव रेग्मीले सरकारको उपस्थितिलाई विश्वसनीय र मजबुत बनाउन सबै सचिवहरूको सक्रिय साथ, सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे।
मुख्य सचिव रेग्मीले राज्यले दिएको कठिन जिम्मेवारीलाई पनि निजामती कर्मचारीहरूले सफलतापूर्वक सम्पादन गर्दै आएको स्मरण गराए।पदभार ग्रहण गर्नु अघि मुख्य सचिव रेग्मीलाई नेपाल सरकारका सचिवसहित उच्चपदस्थ कर्मचारीहरूले भव्य स्वागत गरेका थिए।
राजेन्द्र किशोर क्षेत्रीले उमेर हदका कारण स्वेच्छिक अवकाश पाएपछि गृह मन्त्रालयका सचिव रेग्मीलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गरेको थियो ।