नेपाली काँगेसको संसदीय बोर्डको बैठक जारी छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बिहानदेखि पार्टी संसदीय बोर्डको बैठक सुरू भएको हो। प्रदेश सभा र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन हुने क्षेत्रबाट सिफारिस भएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने विषयमा नै बैठक केन्द्रीत भएको बताइएको छ।
त्यसैगरी, गठबन्धनमा रहेका राजनीतिक दलहरूसँगको निर्वाचनमा सहकार्यता लगायत विषयमा पनि बैठकले ठोस निष्कर्ष निकाल्ने छ।
सिफारिस भएर आएका नाममाथिको व्यापक छलफलपछि चुनाव जित्न सक्ने, योग्य, लोकप्रिय र पार्टीमा निरन्तर क्रियाशिल सदस्यलाई उम्मेदवारको रुपमा अघि सारिने केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले जानकारी दिए।
पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार चयनमा पार्टीमा पुर्याएको योगदान र क्रियाशिलतालाई नहेरी नातावाद र कृपावादमा नाम चयन गरिएको भन्दै काँग्रेस नेतृत्वको आलोचना हुँदै आएको छ।
लामो समयसम्म पार्टीमा योगदान पुर्याउनेलाई पाखा लगाएको भन्दै कार्यकर्ता नेतृत्वप्रति रुष्ठ बन्दै आएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक चलिरहँदा कार्यालय बाहिर चुनावमा टिकट माग्ने, सिफारिस गर्ने स्थानीयस्तरका नेता कार्यकर्ताको उल्लेख्य भीड थियो।