नेकपा(एमाले)ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदूर किसान पार्टीलाई आह्वान गरेको छ।
भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरेका हुन्।
एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे। एमालेका युवा नेता बस्नेतले एमालेसँग चुनावी तालमेल गर्न नेमकिपासँग एमालेले पटक-पटक आग्रह गरेको छ, अहिले पनि हामी तालमेलमा आउन आह्वान गर्छौँ भने। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा पाँच अर्ब रुपैयाँको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै उनले ती रकमले विकासका काम निरन्तर भइरहेको बताए। एमाले जिल्ला अध्यक्ष राजथलाले एमालेको आग्रह नेमकिपाका लागि अवसर भएको बताए।