पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालमा अहिले देखिएको वाम गठबन्धनलाई भारतले सहज रूपमा लिएको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नुहुँदैन, आफ्नो अभिभारा नेपाली आफैँले लिनुपर्छ।’
आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको पनि उनले बताएका छन्।
उनले भने, ‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नुहुँदैन।’
भारतका लागि निवर्तमान राजदूत उपाध्यायले २ वर्षे कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर पुनः राजनीतिमै फर्किएको स्पष्ट पारेका छन्।उनले भने, ‘जीवन पाठशाला हो, मृत्युपर्यन्त सिक्ने हो।विशेष समयमा विशेष भूमिका निर्वाह गरेर म पुनः राजनीतिमा फर्किएको छु, राजदूत भएको बेलापनि म तत्कालीन पार्टी सभापति सुशिल कोइराला र तत्कालीन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदूतको भूमिका निर्वाह गरेको हुँ, मैले त्यतिबेला पनि फर्कन्छु भनेर नै जानकारी गराएको थिएँ।’
उनले संसदको म्याद सकिएको अवस्थामा आफ्नो राजीनामा अन्तिम–अन्तिम अवस्थामा स्वीकृत भएकोले तत्काल राजदूत नियुक्त हुन नसक्ने अवस्था भएपनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए।
उनले काँग्रेसले सकेसम्म चुनावी तालमेल नगरीकन एक्लै चुनाव लड्नुपर्ने थियो भन्दै अहिले देखिएका चुनावी तालमेल पनि स्वभाविक रहेको स्पष्ट पारे। उनले थपे,‘पहिलो कुरा जिते पनि वा हारे पनि काँग्रेसले एक्लै लडनुपर्दथ्यो, हामी तत्कालीन लाभको पक्षमा छैनौँ, मुलुकले जित्नुपर्छ, जनताले जित्नुपर्छ भन्ने पक्षमा छौँ।’
https://www.youtube.com/watch?v=zq0p70veyIA&feature=youtu.be