दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त वाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि सारेको छ भने नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) गठबन्धनले एमालेका केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसका कविराज पण्डितको नेतृत्वमा चार नगरपालिका र दुई गाउँपालिकाको प्रमुख उपप्रमुखसहित कार्यपालिकाको नेतृत्वसमेत काँग्रेसले गर्दै आएको छ भने तीन गाउँपालिकामा एमालेले नेतृत्व गर्दै आएको छ ।
संयुक्त वाम गठबन्धनले बाजुराको प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व लिने होडबाजी गर्न थालेको पाइएको छ। स्थानीय सरकारमा रहेको नेपाली काँग्रेसले जनताको काम गर्न नसक्ने भन्दै वाम गठबन्धनको जित अपरिहार्य रहेको एमाले तथा माओवादी केन्द्रका नेताले बताएका छन्।
जिल्लाको विकास निर्माण कार्य र समृद्ध बाजुरा बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेसले जित्न अपरिहार्य रहेको काँग्रेस नेताको भनाइ रहेको छ। काँग्रेसले दुवै क्षेत्रमा र प्रतिनिधिसभामा विजयी भएपछि विकास निर्माणलाई बढी प्राथमिकतामा राख्दै जिल्लामा आर्थिक समुन्नतिमा लैजाने योजना रहेको काँग्रेसले बताएको छ।
नेपाली काँग्रेसलाई छ स्थानीय तह र जिल्ला समन्वय समिति जितेको गर्व छ । त्यही गर्व तोड्नका लागि वाम गठबन्धन कडारुपमा चुनावी मैदानमा उत्रन लागेको छ । तीनै पार्टीका बैठकले चुनावी रणनीति तय गर्न थालेको एक स्रोतको दाबी रहेको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभामा नेपाली काँग्रेस वाम गठबन्धनसँग एक्लै लड्ने भएको छ। प्रतिनिधिसभाका लागि बाजुरामा नेकपा माओवादी केन्द्र) कमजोर भएका कारण एमालेका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनाइएको छ। माओवादी केन्द्रका समर्थक रहेर उम्मेदवारी दर्ता गराइएको छ।
नेपाली काँग्रेसले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ (क) मा पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलाई उम्मेदवार बनाएको छ भने एमाले र माओवादी केन्द्रले एमाले पार्टी सचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, निर्वाचन क्षेत्र २ (ख) मा नेपाली काँग्रेसले महासमिति सदस्य पदमबहादुर शाहीलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ भने संयुक्त वाम गठबन्धनले एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाई मनोनयन दर्ता गराएको छ ।
प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस र संयुक्त वाम गठबन्धनका दुवै उम्मेदवार बलिया देखिएका छन्। सँगै अधिवक्ता भएका पण्डित र थापा जिल्लामा लोकप्रिय बन्दै गएका छन् । थापा एमालेको जिल्ला अध्यक्ष भएका बेला २०७० सालको संविधानसभाको चुनाव एमालेले जितेको थियो भने पण्डित काँग्रेसको पार्टी सभापति भएपछि नौ स्थानीय तहका छ स्थानीय तहसहित जिल्ला समन्वय समिति जिताएका छन् ।
प्रदेशसभाका उम्मेदवार निर्वाचन क्षेत्र नं १ मा राम्रै परिचित रहेका जनकराज गिरी र बाम गठबन्धनका रेग्मी तिव्र प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र २ मा पनि शाही र शाह उत्तिकै परिचित छन्।
लामो समयदेखि राजनीतिमा लागेका काँग्रेसका उम्मेदवार शाही जनतामाझ लोकप्रिय छन् भने शाह भने मिलनसार र इमान्दार मानिन्छन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस र संयुक्त वाम गठबन्धन आफ्नो चुनावी रणनीति बनाई कडारुपमा मैदानमा उत्रने देखिएका छन् ।