नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले विगतदेखि कम्युनिष्ट राजनीतिमा पार्टी भत्काउने र नयाँ बनाउने भूमिका आफ्नै भएको बताएका छन्।
तीन जना सांसद रहेको नेकपा संयुक्तसँगको एकीकरण घोषणा सभामा अध्यक्ष प्रचण्डले आफूले कहिल्यै पनि राजनीतिलाई घिसिपिटी तरिकाले नलिएको बताए। ‘राजनीतिलाई मैले बौद्ध भिक्षु रहेसम्म घण्टी बजाइरहने हो भन्या जस्तो गरि वा विस्तारै /विस्तारै अगाडि बढ्छ भन्ने कहिल्यै विश्वास गरिन’, उनले भने, ‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने-नयाँ पार्टी बनाउने, पुरानो आन्दोलन भत्काउने- नयाँ रुप अवलम्बन गर्ने। समाजमा एउटा तरङ्ग पैदा गर्ने मान्छेको दिमागमा नयाँ बहस सृष्टि गर्ने र समाजमा क्रान्तिकारी परिवर्तन ल्याउनेमा विश्वास गरेँ।’
अध्यक्ष प्रचण्डले आफूले मार्क्सवादलाई पनि भत्काउने र नयाँ बनाउने अर्थमा बुझेको बताए।
‘२०४६ को आन्दोलन अगाडि एउटा कम्युनिष्ट घटकको महामन्त्री बन्ने अवसर मलाई प्राप्त भयो। जतिबेला म महामन्त्री बनेँ मेरो काम चाहीँ आफू महामन्त्री भएको पार्टी भत्काउने नै भयो। महामन्त्री भएको केहि महिनापछि नै एकता केन्द्र बन्यो र मैले मसाल भन्ने पार्टी भत्काएँ’, प्रचण्डले भने, ‘एकता केन्द्र पाँच वर्ष चलाएपछि भत्काएर माओवादीमा लागेँ। १० वर्ष माओवादी जनयुद्ध भएपछि त्यसलाई भत्काएर एमाओवादीमा गएँ। केही वर्ष एमाओवादी भएपछि त्यो पनि भत्काएर माओवादी केन्द्र भएका छौँ’
अध्यक्ष प्रचण्डले नेकपा एमाले लगायतका वामपन्थी दलहरूसँगको ध्रुविकरण अगाडि बढेसँगै नेकपा माओवादी केन्द्र पनि भत्कने बताए। ‘माओवादी केन्द्र पनि भत्काएर अर्को नयाँ पार्टी र शक्ति देशमा पैदा हुँदैछ’, उनले भने।
उनले कम्युनिष्ट नेताहरू मोहनविक्रम सिंह, मोहन वैद्य र नारायणमान बिजुक्छेलाई घुमाउरो शैलीमा व्यङ्ग समेत गरे। ‘मेरा कतिपय गुरुहरू अहिलेपनि उहि पार्टीमा हुनुहुन्छ। उहाँहरू त्यहिँ हुनुहुन्छ। हिँडिराख्नु भएको छ। बौद्ध भिक्षु जस्तो घण्टी बजाइराख्नु भएको छ’, उनले भने, ‘न समाजमा कुनै परिवर्तन छ। न जीवनमा कुनै आवेग छ। उहाँहरू चलिराख्नु भएको छ। कतिपय साथीहरू भक्तपुरमा बस्नु भएको छ। भक्तपुर बाहिर हेर्नुहुन्न। कतिपय साथीहरू प्युठानमा हुनुहुन्छ बाहिर जानुहुन्न।’
उनले वामपन्थी एकताले नयाँ तरङ्ग र आवेग पैदा गर्दै समाज रुपान्तरको प्रक्रियामामा अगाडि बढाएको बताए। नेकपा माओवादी केन्द्र संख्यात्मक रुपमा ठूलो भएपनि नेकपा संयुक्तसँगको एकतापछि संस्कार पनि भित्रने प्रचण्डको भनाई थियो।
यो पनि पढ्नुहोस्
माओवादीले बाबुरामलाई भन्यो- गोर्खाबाट हुन्न, काठमाडौंमा उठ्नुस्