चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्नुपर्ने लगायत माग राखेर १३ औँ पटक अनसन बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय समिति बनाएको छ।
प्रधानमन्त्री कार्यालयका सचिव नगिन्द्र प्रसाद उपाध्यायको संयोजकत्वमा उक्त समिति बनाएको हो।
समितिमा स्वास्थ्य सचिव किरण रेग्मी र शिक्षा सचिव डिल्ली रमण रिमाल पनि छन्। डाक्टर गोविन्द केसी १३ औँ पटक अनसन बसेको आज ६ दिन भएको छ। उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने लगायतका विषय समेटेर बनाइएको विधेयक आजै संसदमा पेस हुँदै छ।