सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर गर्ने अधिकार सरकारलाई नभएको दाबी गरेका छन्।
मंगलबार गैर आवासीय नेपालीहरूका लागि आयोजित चियापान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
काँग्रेस नेता सिंहले मुलुक निर्वाचनमा होमिसकेकाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति हेरफेर गर्न नमिल्ने पनि स्पष्ट पारे। सरकारले आगामी मंसिर १० गतेका लागि तोकिएको पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन केही समय पर सार्ने तयारी गरिरहेका बेला सत्तारुढ काँग्रेसकै नेता सिंह त्यसको विपक्षमा उभिएका हुन्।
उनले दलहरू सबै निर्वाचनको तयारीमा जुटिसकेका बेला सरकारले तोकिएको मिति हेरफेर गर्न नमिल्ने तर्क पनि गरे। सरकारले यसअघि नै आगामी मंसिर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तोकिसकेको छ।
काँग्रेस नेता सिंहले लोकतान्त्रिक गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँटका विषयमा भईरहेको छलफल छिट्टै टुंगोमा पुग्ने दाबी समेत गरे।