नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ ।
जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।
उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा पार्टीले उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
काठमाडौंको बबरमहलमा जन्मेका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा सुरू गरेका थिए। विसं २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए।
गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।
स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए। उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ ।
विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उनी नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए ।
उनी मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए ।