व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाई नगर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार बसेको समितिको बैठकले भैरहवा विमानस्थल निर्माणको काम सम्पन्न गर्नेगरी चिनियाँ ठेकेदार कम्पनीसँग भएको सम्झौताको समय आवश्यकता अनुसार थप गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई निर्देशन दिएको छ।
चिनियाँ ठेकेदार कम्पनीले हालसम्म गरेका काम कार्वाही सन्तोषजनक रहेकाले सोही कम्पनीबाट आयोजना सम्पन्न गर्नेगरी सम्झौता गर्न पनि सरकारलाई निर्देशन दिनु परेको समितिका सभापति जुठबहादुर टुहुरे, खडगीले जानकारी दिए। भैरहवा अन्तराष्ट्रिय विमानस्थल जुन १५, २०१८ भित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ ।
समितिले निजगढ विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा वितरणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएको छ । समितिका सभापति टुहुरेलेले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सुचारु गराउन पनि सरकारलाई निर्देशन दिइएको जानकारी दिए।
बैठकमा समितिका सदस्यहरूले तीन वटै विमानस्थल निर्माणको काममा ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए। समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ३ वटै विमानस्थल निर्माणको कामलाई समयमै सम्पन्न गराउन ठेकेदार कम्पनी र प्राविधिकहरूको कामलाई सरकारले कडा निगरानीमा राख्नुपर्नेमा जोड दिएका थिए।
सरकारले राष्ट्रिय गौरवका ३ वटै आयोजना निर्माणको कामलाई प्राथमिकता दिएपनि अनुगमनको अभावमा ती आयोजनाहरूको काम अपेक्षा अनुसार अघि बढ्न नसकेको समितिको निष्कर्ष छ।