प्रधानमन्त्री शेर बहादुर देउवाले तीव्र राजनीतिक ध्रुविकरणले मुलुकमा तानाशाहलाई निम्त्याउने भन्दै प्रजातन्त्र र मानवअधिकारको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।
आइतबार प्रथम विश्व शेर्पा सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै वर्ग समुदाय र तहको मानवअधिकार रक्षाका लागि राजनीतिक ध्रुविकरण विरुद्ध एक हुन आह्वान गरेका हुन्।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमले तीव्र ध्रुविकरण निम्त्याएको र त्यसमा एकदलीय तानाशाहीमा विश्वास गर्नेहरूको सक्रियता रहेको पनि उनले दाबी गरे।
त्रासमुक्त समाजको स्थापना हुनुपर्ने भन्दै उनले कुनै पनि वहानामा एकदलीय तानाशाह आउन दिनु हुँदैन भन्नेमा सचेत हुन आग्रह गरे।
एमाले माओवादीबिच बनेको चुनावि तालमेल र त्यसपछि पार्टी एकताको सहमतिलाई इङ्गित गर्दै उनले यस्तो भनेका हुन्।