नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक ध्रुविकरणले मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय देखिएको राजनीतिक ध्रुविकरणको प्रक्रियाले अन्तत: मुलुकलाई सम्वृद्धितर्फ उन्मुख बनाउने बताएका हुन्।
उनले वामपन्थी, कम्युनिष्ट र प्रगतिशील शक्तिहरूको एउटै कम्युनिष्ट पार्टी बनाई त्यसको नेतृत्व लिँदै जनताको आकांक्षा अनुसार विकास निर्माणका काम अघि बढाई मुलुकलाई आर्थिक रुपमा नै सम्वृद्ध राष्ट्र बनाउनेतर्फ आफूहरू उन्मुख भएको उल्लेख गरे।
अध्यक्ष दाहालले धेरै पार्टी हुनुभन्दा केही निश्चित पार्टी भएर जाँदा मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै विकास अनुकुल वातावरण बन्छ भन्ने संविधानले नै आँकलन गरेकाले आफूहरू ध्रुविकरण र एकीकरणमा सामेल भएको बताए।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा मालेकी सांसद कलसा देवी महरा सहित प्रदेश नम्बर सातका मालेका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले अहिलेको परिवर्तनको प्रमुख वाहक नै माओवादी केन्द्र भएकाले ध्रुविकरण र एकीकरणमा समाहित हुन सबैलाई आव्हान गरे ।
महरा कञ्चनपुरबाट समानुपातिक तर्फबाट सांसद बनेकी हुन्।